विदुर – नुवाकोटका नागरिकहरुले तीन दिन दीप प्रज्वलन गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ। विदुर नगरपालिकाको बट्टारको क्याम्पस गेट, विदुरको लोकतान्त्रिक चौतारा र त्रिशूलीको कृष्ण मन्दिरमा दीप प्रज्वलन गरी मनाएको हो ।
विदुर सिटि युथ क्लब, बट्टार युथ क्लब, त्रिशूली विकास संस्था, लायन्स क्लब अफ काठमाडौँ उर्जाशील, समृद्ध नुवाकोटलगायत अन्य सात संस्थाहरुको अगुवाईमा संयुक्तरुपमा फरकफरक स्थानमा कार्यक्रममा गरिएको हो ।
असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी साँझ गाउँ/नगरबासीहरूको घर र कार्यलयमा दीप प्रज्वलन गर्ने कार्यक्रमअनुसार नागरिकस्तरबाटै दिवस मनाईएको आयोजक संस्थाका एक पतञ्जली योग समिति नुवाकोटका प्रशिक्षक मेनुका श्रेष्ठले बताए ।
विदुर नगरपालिकाका बट्टार, विदुर र त्रिशूलीमा देशको नक्सासहित झण्डाको मण्डला आकृती बनाई दीप प्रज्वलनसँगै राष्ट्रिय गान गाईएको आयोजक संस्थाका महिला मानवअधिकार रक्षक जिल्ला संजालका अध्यक्ष अञ्जली पाण्डेले जानकारी दिए ।
तीनै दिन भएको दीप प्रज्वलन नुवाकोट उद्योग वाणिज्य सङ्घले आवश्यक सामग्री उपलब्ध गराएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, मिस नुवाकोट र स्थानीयबासीको सहभागिता रहेको थियो ।
नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि.स २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।



प्रतिक्रिया