विदुर – जिल्ला ट्राफिक कार्यालय नुवाकोटले सवारीसाधनमा राखिएको सजावटका सामाग्रीहरु झिक्न थालेका छन् ।
ट्राफिक प्रहरी निर्देशनालय बागमती प्रदेश निर्देशन अनुसार सवारीसाधनको सजावटमा राखिएको सामाग्रीहरुले दुर्घटना निम्त्याउने र अपराधिकजन्य क्रियाकलाप हुने भएकोले दुर्घटना न्यूनीकरणको लागि त्यस्ता सामाग्री झिक्न थालिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरीक्षक सन्तोष पोखरेलले बताए ।
सवारीसाधनमा राखिएको झल्लर, प्रेसर हर्न, दुवै साइडको लुकीङ ग्ल्यासमा राखिएको झन्डा, रुमाल, खादा, अगाडी सिसामा राखिएको झल्लर पर्दा लगायतका दुर्घटना निम्त्याउने सामाग्रीहरु झिकेका छन् ।
“पहिलो दिन सबै सवारीसाधनका चालकहरुलाई सम्झाएर छोडेका थियौं”, उनले भने “दोस्रो दिन पुन:सवारीसाधनमा राख्न थालेपछि सजावटको सामाग्रीको साथै प्रेसर हर्न समेत जफत गर्न थालेका हौं ।”

तीनदिनको अवधिमा जिल्लाभरका ट्राफिक चेकपोस्टबाट करिब एक सयभन्दा बढी सवारीसाधनहरुबाट सजावटका सामाग्री झिकिएको उनले बताए । “त्यस्ता सवारीसाधनहरुको नम्बरहरु टिपोट गरी पुन: नराख्न भनि छाडेका छौं”, उनले भने “अटेर गरी त्यस्ता सामाग्री नझिकेमा ५०० देखि १५०० सम्मको जरिवाना लगाईने र सामाग्री समेत जफत गर्ने छौँ ।”
चालकहरुले पनि त्यस्ता सामाग्रीहरु स्वयं झिकी ट्राफिक प्रहरीलाई सहयोग गर्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया