नुवाकोट – बुधबार विदुर नगरपालिका मेयर सञ्जु पण्डितले वडा नं ४ को वडाको कार्यालय भवन उद्घाटन गरेका छन् ।
नगरपालिकाको रु ६० लाखको लागतमा ४० प्रतिशत कममा ठेकेदारले भवन निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । मेयर सञ्जु पण्डितले आज वडा भवन शुभारम्भ गर्दै सङ्घीय संरचना अनुसार सबै सेवा घर आँगनबाटै प्रदान गरिने भएकाले आफ्नो सेवालाई प्रभावकारी बनाउन स्थानीय तहका जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए ।
मेयर पण्डितले भने “भाडाबाट वडा सञ्चालन गर्ने कटौती गर्दै गईरहेका छौं । नगरका कति वडा भवन निर्माण भइसकेको छ, कतिपय निर्माणको चरणमा छ । वडा नम्बर १ र २ मा जग्गा अभावको कारणले गर्दा वडा भवन बन्न सकिरहेको छैन ।” विदुर नगरपालिकाले ०७२ सालको भूकम्पमा परि क्षति भएको पुरानो प्रशासनिक भवन भत्काई नयाँ संरचनामा लागत २० करोड ६३ लाख ३१ हजार रुपैयाँमा यहि असोजदेखि निर्माण कार्य सुरु हुने जानकारी दिए । नयाँ बन्ने प्रशासनिक भवनमा अण्डरग्राउण्ड पार्किङ सुविधा सहितअपाङ्ग, बाल, र महिलामैत्री र अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण हुने बताए ।
समारोहमा विदुर नगरपालिकाका उपमेयर गीताकुमारी दाहालले भने “वडा नम्बर ४ का वडाध्यक्षबाट नेपाल अधिराज्यभरका अन्य नगरपालिकाहरुले धेरै कुरा सिक्नु छ । वडाध्यक्षको नमुना कार्य विभाजन, बांडफांड र कार्य सम्पादनलाई वडाका सबै जनप्रतिनिधिहरुलाई जिम्मेवारी बनाएर जिम्मेवार बाँडफाड गर्दै आउनु भएको छ । आज यो वडाले सहज रुपमा कार्य सम्पादन गरेको छ ।” स्थानीय तहका सङ्घीयता संरचनाअनुसार जनताले सहज रुपमा सेवा लिने र जनतासँग प्रत्यक्ष ठोकिने कार्य वडा कार्यालय र वडाध्यक्ष भएको बताईन्।
यसअघि उक्त वडा कार्यालयले बट्टार बसपार्क र भाडाको भवनबाट सञ्चालन हुँदै आएको वडाध्यक्ष टलकमान श्रेष्ठले बताए । वडा कार्यालय भाडामा बस्दा समस्या हुने गरेको भन्दै आफ्नै भवनमा सञ्चालनमा आएपछि सेवा प्रवाह प्रभावकारी हुने उनको भनाइ थियो । रञ्जना लिपिको संरक्षण र प्रबर्द्धनको लागि नुवाकोट पहिलोपटक स्थानीय तहगतको वडा कार्यालय भवनको साईन बोर्डमा उक्त लिपिमा लेखिएको जानकारी दिए ।
सोही अवसरमा नगरपालिकाको वडा नम्बर ४ को शहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उपमेयर गीताकुमारी दाहालले र हावाघर उद्यान बाटिका ४ नम्बर वडाध्यक्ष टलकमान श्रेष्ठले उद्घाटन गरेका छन् ।

प्रतिक्रिया