+
Search

ताजा अपडेट +

पपुलर +

हरियो नुवाकोट अभियान: गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, १४ हजार ४६५ वटा बिरुवा वितरण

Green Nuwakot Campaign Orange and lemon saplings distributed in villages, 14,465 saplings
डबली खबर
१७ मिनेट अगाडी

असार १६, नुवाकोट । पर्यटन व्यवसायी सुमनविक्रम पाण्डेले वैदेशिक रोजगारी र बसाइँसराइले बाँझो बनेका नुवाकोटका गाउँघरमा फेरि हरियाली फर्काउने प्रयास तीव्रता दिएका छन्  ।

पाण्डेको नेतृत्वमा सञ्चालित ‘हरियो नुवाकोट अभियान’ अन्तर्गत घरआँगन, कान्ला र पाखो जमिनमा सुन्तला र कागतीका बिरुवा रोप्ने क्रम बढ्दो छ । यसले स्थानीय कृषकहरूमा भविष्यमा नियमित आम्दानीको नयाँ आधार बन्न सक्ने आशा जगाएको छ ।

अभियानले चालु आर्थिक वर्षमा नुवाकोट जिल्लाभरबाट ३ हजार २४० वटा कागती र २८ हजार १७५ वटा सुन्तलाका बिरुवा गरी कुल ३१ हजार ४१५ वटा बिरुवाको माग संकलन गरेको थियो । जसमध्ये किस्पाङ र म्यागङ गाउँपालिकामा १४ हजार ४६५ वटा बिरुवा वितरण भइसकेको छ भने बाँकी स्थानीय तहमा चरणबद्ध रूपमा वितरण भइरहेको पर्यटन व्यवसायी पाण्डेले जानकारी दिए । अभियानले बिरुवा वितरणसँगै सही स्थान छनोट, प्राविधिक परामर्श र निरन्तर अनुगमनलाई प्राथमिकता दिइरहेको पाण्डेले बताए ।

पाण्डेले विगत दुई वर्षदेखि १२ वटै स्थानीय तहमा यो अभियान सञ्चालन गर्दै आएका छन् । सन् २०२५ मा ५७ हजार २८० वटा र २०२४ मा २४ हजार ९३३ वटा बिरुवा वितरण गरिएको थियो ।

कृषकहरूले खाली रहेका पाखाबारीलाई व्यावसायिक बगैंचामा रूपान्तरण गर्ने योजना बनाउन थालेका छन् । युवाहरू पनि गाउँमै फलफूल खेतीबाट स्वरोजगार बन्न सक्ने सम्भावना देखिरहेका छन् ।

म्यागङ गाउँपालिकाका कृषक छेपोन तामाङका अनुसार अभियानले खेतीप्रतिको आकर्षण बढाउनुका साथै वातावरण संरक्षण, भूक्षय नियन्त्रण र बाँझो जमिनको सदुपयोगमा महत्वपूर्ण योगदान पुर्‍याउने छ ।

फलफूल उत्पादन बढेपछि नुवाकोटका उत्पादन स्थानीय बजार हुँदै काठमाडौं लगायत शहरमा पुग्ने अपेक्षा गरिएको छ । यो अभियान केवल वृक्षारोपणमा सीमित छैन । वातावरण संरक्षण, कृषि उत्पादन वृद्धि, ग्रामीण रोजगारी सिर्जना र कृषकको आयस्तर उकास्ने दीर्घकालीन लक्ष्य रहेको छ ।

पाण्डेले नुवाकोटलाई सुन्तला र कागती उत्पादनको नमुना जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताएका छन् । अभियानले बिरुवा मात्र होइन, ग्रामीण अर्थतन्त्र र भविष्यप्रतिको आशा पनि रोपिरहेको सन्देश दिएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ