+
Search

ताजा अपडेट +

पपुलर +

बेलकोटगढीका युवाहरूद्वारा नगरप्रमुखको ध्यानाकर्षण, शिक्षा, पूर्वाधार र कृषिका सात बुँदे माग

Youth of Belkotgadhi draw attention of Mayor, make seven-point demands on education, infrastructure, and agriculture
डबली खबर
२ महिना अगाडी

१७ चैत, नुवाकोट । बेलकोटगढी नगरपालिकाका युवाहरूको एक समूहले नगरभित्रको समग्र विकास, जनहित र प्रभावकारी सेवा प्रवाहको माग गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार नगरप्रमुख जगतबहादुर गुरुङलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै स्थानीय युवाहरूले शैक्षिक सुधारदेखि कृषि क्षेत्रका विद्यमान समस्याहरू समाधान गर्न जोडदार माग गरेका हुन्।

पत्रमा विशेष गरी आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बस्ने विद्यार्थीहरूका लागि विद्यालयमै आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्नुपर्ने र प्रविधिको प्रयोगमार्फत् विद्यार्थीहरूलाई व्यावहारिक सीप प्रदान गर्नुपर्ने माग गरेको छ।

पूर्वाधार विकासको सन्दर्भमा युवाहरूले नगरपालिकाभित्र निर्मित विभिन्न भवन तथा ट्याङ्कीहरूको उचित संरक्षण र नियमित अनुगमन नहुँदा ती संरचनाहरू जीर्ण बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन्। निर्माण सम्पन्न भएर पनि प्रयोगविहीन अवस्थामा रहेका खानेपानीका ट्याङ्कीहरूलाई तत्काल सञ्चालनमा ल्याउन र अलपत्र अवस्थामा रहेका सडक आयोजनाहरूको गुणस्तरीय व्यवस्थापन गर्न पत्रमार्फत् माग गरिएको स्थानीय मनोज पुडासैनीले बताए । साथै, सडक सरसफाइका नाममा विनियोजित बजेटको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्नेमा समेत उनीहरूले जोड दिएका छन्।

यसैगरी कृषि क्षेत्रमा देखिएको चरम उदासीनताप्रति आक्रोश पोख्दै युवाहरूले खासगरी आलु खेती गर्ने किसानहरूको समस्यालाई प्राथमिकताका साथ उठाएका छन्।

किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको र पहुँचवालाहरूको प्रभावका कारण वास्तविक किसानहरू शीत भण्डारको सुविधाबाट वञ्चित भएको गुनासो पत्रमा उल्लेख गरिएको अर्का स्थानीय प्रशान्त घिमिरेले जानकारी दिए । किसानलाई उचित मूल्य सुनिश्चित गर्ने प्रभावकारी व्यवस्था मिलाउन र कोल्ड स्टोरमा वास्तविक किसानको सिधा पहुँच पुग्ने गरी ठोस नीति लागू गर्न माग गरिएको उनले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ