+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नुवाकोटको प्रसिद्ध भैरवीको वर्षबन्धन जात्रा, यस्तो छ तालिका

नुवाकोटको प्रसिद्ध भैरवीको वर्षबन्धन जात्रा, यस्तो छ तालिका
डबली खबर
२ हप्ता अगाडी

१६ चैत, विदुर । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको नुवाकोटमा यस वर्षको भैरवीको वर्षबन्धन जात्रा अर्थात् प्रसिद्ध ‘सिन्दुरे जात्रा’ रूपमा सञ्चालन भइरहेको छ ।

नुवाकोट दरबार मौला अमालका प्रतिनिधि महेन्द्रकुमार शाहीका अनुसार नुवाकोट भैरवी मन्दिर परिसरमा मनाइने यो जात्राको मुख्य आकर्षण चैत्र १९ गतेदेखि सुरु हुनेछ । सो दिन चैत्र शुक्ल पूर्णिमाको अवसरमा ‘देवीघाट जात्रा’ हुन्छ । जसमा बिहान साततले दरबार परिसरमा सिन्दुर हाल्ने र मध्यान्हपछि धामी, धमिनीसहितको टोली सरकारी लावालस्करका साथ देवीघाटमा रहेको जलापदेवी मन्दिर प्रस्थान गर्नेछ । देवीघाटमा विशेष पूजाआजा र महावली (राँगा-बोकाको भोग) दिएपछि धामीबाट राष्ट्रिय भविष्यवाणी गर्ने परम्परा छ ।

देवीघाट जात्राको दोस्रो दिन अर्थात् चैत्र २० गते मन्दिर परिसरमा विधिपूर्वक पूजाआजा गरी बेलुका रथ (खट)सहितको टोली पुनः नुवाकोटतर्फ प्रस्थान गर्नेछ । सो टोली रातको समयमा बट्टार र पुरानो बजार हुँदै भोलिपल्ट बिहान नुवाकोट आइपुग्ने तालिकामा उल्लेख छ । स्थानीय नेवार समुदायले सोहि दिन बालिकाहरुको ईही गर्ने परम्परा छ ।

चैत्र २१ गते शनिबार सिन्दुरे जात्राको मुख्य दिन मानिन्छ। भैरवीको वर्षबन्धन जात्रा फागु पुर्णिमादेखि सुरु हुने भएतापनि सिन्दुरे जात्राको दिन विशेष हुने गर्दछ । जसमा भैरवी माईको रथसहित धामीले धमिनीलाई सिन्दुर लगाई र अन्य भक्तालुहरु सिन्दुर खेल्दै नगर परिक्रमा गरी तुलजा भवानीको मन्दिर पुग्नेछन् ।

चैत्र २२ गते आइतबार भैरवी मन्दिर परिसरको शितपाटी दबलीमा धामीद्वारा राँगा र बोकाको रगत पिउने (भोग खाने) अनौठो र विशिष्ट परम्परा सम्पन्न गरिनेछ । यो दृश्य अवलोकन गर्न जिल्लाभरका साथै छिमेकी जिल्लाहरूबाट समेत हजारौँ श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ । जात्रालाई व्यवस्थित बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई समेत पत्राचार गरी समन्वय गरिएको मौला अमालका प्रतिनिधि महेन्द्रकुमार शाहीले बताए ।

तालिका अनुसार चैत्र २३ गतेदेखि २६ गतेसम्म विभिन्न गुठीहरूका तर्फबाट स्याबजी बाँड्ने र नुवाकोट भगवतीको विशेष पूजाआजाका कार्यक्रमहरू रहेका छन् । यसै क्रममा काठमाडौँको हनुमानढोकास्थित कन्देल चोकबाट नुवाकोट भगवतीलाई नागपानीमा विधिपूर्वक पूजा र भैरवी मन्दिर भित्र्याउने कार्य सम्पन्न गरिनेछ । यसले नुवाकोट र काठमाडौँ बीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धलाई समेत उजागर गर्दछ ।

जात्राको अन्तिम चरणमा चैत्र २८ गते शनिबार विसर्जन पूजा गरी ‘माथिल्लो लिङ्गो’ ढालिनेछ भने चैत्र २९ गते आइतबार ‘तल्लो लिङ्गो’ (इन्द्रध्वज) ढालेपछि यस वर्षको सिन्दुरे जात्रा औपचारिक रूपमा समापन हुनेछ ।

भैरवीमाई वर्ष बन्धनको जात्राको तालिका

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ