७ चैत, डबली । नुवाकोटकी जीवित देवी कुमारीको महिमालाई थप प्रवर्द्धन गर्ने उद्देश्यले शनिबार एक विशेष समारोहका बीच स्वर्णजडित ‘मयुर सिंहासन’ हस्तान्तरण गरिएको छ।
मौलिक धरोहरलाई थप सुसज्जित र मर्यादित बनाउनका लागि कुमारीलाई उक्त गद्धी हस्तान्तरण गरिएको हो। नुवाकोटको प्राचीन संस्कृति र परम्परालाई आधुनिक पुस्तासँग जोड्ने एउटा बलियो कडीको रूपमा उक्त गद्धीले कार्य गर्ने जनाएको छ।
विनायक फाउण्डेशन र सम्पदा संरचना महाअभियानको संयुक्त पहल, समन्वय तथा प्राविधिक सहयोगमा सम्पन्न भएको सम्पदा अभियान्ता रवि शाक्यले जानकारी दिए । अभियन्ता रवि शाक्य, फाउण्डेशनका अध्यक्ष विज्ञान शाही र राजकुमार महर्जनले संयुक्त रूपमा उक्त कलात्मक सिंहासन कुमारी घरलाई विधिवत् रूपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य अचुत्तम लामिछाने, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, २ नम्बरका वडाध्यक्ष दीपक कायस्थ, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेल, अभियन्ता गौतममान सिंहलगायतको सहभागिता रहेको थियो ।

धार्मिक विधि र पूजापाठसहित सम्पन्न भएको यस हस्तान्तरण कार्यक्रमले स्थानीय भक्तजन र संस्कृतिप्रेमीहरूमा उत्साह थपेको स्थानीय बताउँछन् ।
ललितपुरका कालिगढ रमेश शाक्यद्वारा निर्माण गरिएको मयुर सिंहासन कला र धातुको उत्कृष्ट मिश्रण मानिएको छ। यसको आशनस्थान पूर्ण रूपमा चाँदीले बनेको छ भने अन्य भागहरूमा सुनको जलप लगाइएको छ। सिंहासनको संरचनालाई मजबुत र आकर्षक बनाउन पित्तल र तामाको समेत कुशल प्रयोग गरिएको छ। परम्परागत शैली र आधुनिक प्रविधिको संगमबाट तयार पारिएको यो सिंहासनले नेपाली हस्तकलाको जीवन्त नमुना प्रस्तुत गरेको छ।
मौलिक कलाले भरिएको यो दिव्य मयुर सिंहासन अब नुवाकोटको कुमारी घरको नयाँ र मुख्य पहिचान बन्ने विश्वास लिइएको छ।
प्रतिक्रिया