३ मङ्सिर, नुवाकोट । बागमती प्रदेश सरकार मातहत रहेका जिल्लागत स्वास्थ्य संस्थाहरु सम्मानित भएका छन् ।
हेटौँडामा कार्तिक ३० गतेदेखि मङ्सिर २ गतेसम्म भएको प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतको वार्षिक समीक्षा गोष्ठीमा जनस्वास्थ्य कार्यालय ललितपुरलाई उत्कृष्ट जिल्ला घोषित गरिएको हो । जनस्वास्थ्य कार्यालयहरूमध्ये सबैभन्दा बढी अङ्क ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ ।
जनस्वास्थ्य कार्यालयले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्याङ्कनमा कुल १०० अङ्कमध्ये ७१.५९ अङ्क प्राप्त गर्दै ललितपुर जिल्ला उत्कृष्ट घोषित भएको हो ।
जनस्वास्थ्य कार्यालय धादिङ ७०.८६ अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा र ७०.६४ अङ्कसहित जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक तेस्रो स्थानमा प्राप्त गरेको छ ।
अस्पतालतर्फ भक्तपुर अस्पताल प्रदेशको उत्कृष्ट अस्पताल घोषित भएको छ । अस्पतालले प्रदान गर्ने सेवासुविधा, कार्यसम्पादनलगायत विभिन्न शीर्षकअन्तर्गत भएको मूल्यांकनमा ७१.१० अङ्क प्राप्त गर्दै भक्तपुर उत्कृष्ट अस्पताल घोषित भएको हो ।
यसैगरी, त्रिशूली अस्पतालले ७०.७२ प्रतिशत प्राप्त गर्दै दोस्रो र चौतारा अस्पताल तेस्रो भएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सातर्फ ७२.६० अङ्कसहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुली प्रथम, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय नुवाकोट ७०.१० अंकसहित दोस्रो र चितवन तेस्रो स्थानमा रहेको छ ।



















प्रतिक्रिया