sujim bazar advert

विश्व स्तनपान सप्ताह: स्तनपान कि बोतलपान? छनोट कि प्रणालीको प्रभाव?

सन्तोषी पौडेल     साउन १६, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

bottle feeding for breastfeeding by santoshi paudel health officer Nuwakot
Big Education Consultancy Nuwakot
global ime bank flash loan

हरेक वर्ष अगस्ट १ देखि ७ सम्म मनाइने विश्व स्तनपान सप्ताह स्तनपानको महत्वबारे जनचेतना फैलाउने एउटा अन्तर्राष्ट्रिय अभियान हो। सन् १९९२ देखि सुरु गरिएको यस अभियानले स्तनपानलाई शिशु स्वास्थ्य, मातृ स्वास्थ्य र राष्ट्रिय उत्पादकत्वसँग जोड्ने प्रयास गर्दै आएको छ। यस वर्ष नेपालमा “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने नाराका साथ सप्ताह मनाइँदैछ।

तर, परिस्थितीको विश्लेषण गर्दा प्रश्न गर्न सकिन्छ – महिलाहरूले बोतलपान रोज्नु व्यक्तिगत निर्णय हो कि सामाजिक, आर्थिक र नीतिगत प्रणालीले थोपरेको विकल्प?

स्तनपान शिशुलाई दिइने पहिलो खोप हो। यो कुपोषण र मृत्युको दुष्चक्र तोड्न अत्यन्त प्रभावकारी उपाय हो। विभिन्न अध्ययनहरूले देखाएका छन् कि जन्मपछिको १ घण्टा भित्र स्तनपान गराउँदा नवजात मृत्यु २२% सम्म घट्छ, भने १ दिन ढिला गर्दा मृत्यु दर २.४% ले बढ्छ। ६ महिनासम्म केवल आमाको दूध खुवाइएमा र त्यसपछि उचित पूरक आहार दिइएमा २०% बाल मृत्यु दर घटाउन सकिन्छ।

स्तनपानको आर्थिक मूल्य

विश्व स्वास्थ्य संगठनका अनुसार, स्तनपान प्रवर्द्धनमा गरिएको हरेक १ डलरको लगानीले ३५ डलर बराबरको प्रतिफल दिन्छ। “The Cost of Not Breastfeeding Tool” का अनुसार स्तनपान नगर्दा बालबालिकामा झाडापखाला, श्वासप्रश्वास समस्या र मोटोपन देखा पर्न सक्छ भने आमामा स्तन तथा अण्डाशयको क्यान्सर, टाइप २ मधुमेह र मृत्युसम्मको जोखिम बढ्छ। विश्वभर बोतलपानमा झन्डै २७ मिलियन डलर खर्च हुने गर्छ, जुन परिवारको वार्षिक आयको १०.४% बराबर हुन्छ।

स्तनपान बनाम बोतलपान: के फरक?

हरेक १ चम्चा स्तन दुधमा ३० लाख जीवाणु नष्ट गर्ने कोशिकाहरू हुन्छन्, जबकि कृत्रिम फर्मुला दूधमा यस्तो एकपनि हुन्न। चित्र ३ का अनुसार, कृत्रिम दूध केवल केहि कृतिम पोषण तत्वमा केन्द्रित हुन्छ भने आमाको दूधमा सुरक्षा र विकासका लागि आवश्यक प्राकृतिक तत्वहरूले भरिपूर्ण हुन्छ।

नेपालमा बोतलपान बढ्दो

आमाको शैक्षिक अवस्था, पारिवारको आर्थिक अवस्था अनुसार बोतलपानको अवस्था

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार बोतलपान गर्नेको प्रतिशत १३% बाट बढेर २२% पुगेको छ।

प्रदेशगत बोतलपानको अवस्था
  • शिक्षा अनुसार: उच्च शिक्षित महिलामा यो दर ४९% छ, भने अशिक्षित महिलामा मात्र १२%।
  • आर्थिक अवस्था अनुसार: धनी परिवारमा ४६%, गरिबमा ११%।
  • प्रदेशगत विवरण: सबैभन्दा धेरै बागमती (४३%), सबैभन्दा कम कर्णाली (११%)।

किन महिलाहरू बोतलपान रोज्दै छन्?

विभिन्न तथ्यहरुले देखाउँछ कि बोतलपानको पछाडि देहायका कारणहरू हुन सक्छन्:

१. महिलाहरुको शारीरिक बनावट बिग्रने डर
२. कामकाजी महिलाहरूमा काममा फर्किएपछि स्तनपान छुट्ने अवस्था
३. स्तनपानलाई महिलामात्रको जिम्मेवारी मान्ने पुरातनवादी सोच
४. कृत्रिम दूधको सजिलो उपलब्धता, ग्रामीण क्षेत्रमा समेत
५. “६ महिनासम्म आमाको दूधले मात्र पुग्दैन” भन्ने भ्रामक धारणा
६. देखासिकी प्रवृत्ति — अरूले बोतलपान गर्दा आफूले पनि गर्ने
७. उपहारको रूपमा कृत्रिम दूध दिने चलनको शुरुवात

जसको फस्वरुप नेपालमा स्तनपानको दर घट्दो क्रममा छ। नेपालमा हाल १ घण्टाभित्र स्तनपान गराउने दर ५५% मात्र छ। यद्यपि २ वर्षसम्म स्तनपान गराउनेको संख्या ९४% रहेको छ, तर पूर्ण स्तनपान दर भने २०१६ मा ६२% थियो, जुन हाल घटेर ५६% मा झरेको छ — यो कमी चिन्ताजनक छ। जसले स्तनपान प्रवर्द्धनमा संरचनागत कमजोरी देखाउँछ।

कानुनी व्यवस्था र चुनौतीहरू:

मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले महिलालाई सुरक्षित मातृत्वको हक सुनिश्चित गरेको छ। यस ऐनको दफा (१३) अनुसार महिलालाई ९० दिनको तलबसहितको प्रसूति विदा, पुरुषलाई १५ दिनको स्याहार विदा र २ वर्षसम्म स्तनपानको आवश्यक व्यवस्था गर्नुपर्ने व्यवस्था छ।

आमाको दूध प्रतिस्थापन वस्तु ऐन, २०४९ अनुसार दण्डको प्रावधान छ, तर ऐनको दफा १३ बमोजिम बन्नुपर्ने स्तनपान संरक्षण तथा प्रवर्द्धन समिति खासै सक्रिय छैन।

अन्य सरकारी प्रयासहरू

  • मातृशिशु मैत्री अस्पताल अभियान
  • मानव दूध बैंकको स्थापना (परोपकार अस्पताल)
  • स्तनपान कक्ष स्थापना सम्बन्धी कार्यविधि, २०८१

तर, यस्ता नीतिहरू बजेटको व्यवस्थामा सीमित छन्। कक्ष स्थापना भए पनि कक्षको उपलब्धताको बारेमा जनचेतनामा कमिका कारण उपयोग न्यून छ।

चिन्ता र सम्भावना

  • नेपालमा पश्चिमी अभ्यासलाई “मोडर्न” भनेर पछ्याउने प्रवृत्तिले आफ्नै सकारात्मक अभ्यासहरू छुटेका छन्। यसले स्तनपान सम्बन्धी नीति निर्माणमा डेटा ग्याप र अनुसन्धानको अभाव झल्किन्छ।
  • नेपालमा स्तनपानको सन्दर्भ केवल साप्ताहिक कार्यक्रम र अभियानहरूमा सीमित भइरहेको देखिन्छ।
  • स्तनपान कक्षहरू स्थापनाको पहल भएता पनि, ती कक्षहरूको उपयोगबारे जनसमुदायमा अत्यन्त न्यून
  • एक महिला गर्भवती हुनु वा स्तनपान गर्नु केवल परिवारको विषय होइन, यो मानव पूँजी निर्माणको प्रक्रिया हो, जुन राष्ट्रकै भविष्यसँग गाँसिएको हुन्छ। तर दुःखद कुरा के छ भने, आज पनि धेरै कार्यस्थलहरूमा गर्भवती वा स्तनपान गरिरहेका महिलालाई बोझको रूपमा हेरिने प्रवृत्ति कायम छ।

एक महिला गर्भवती हुनु वा स्तनपान गर्नु केवल उसको परिवारको जिम्मेवारी होइन; यो मानव पूंजी निर्माण को प्रक्रिया हो, जसमा राज्य, समाज र प्रणालीले समान उत्तरदायित्व लिनुपर्छ।

तसर्थ, समुदाय र परिवारमा पनि स्तनपानलाई महिला मात्रको जिम्मेवारी मान्ने सोच हटाउन आवश्यक पैरवी गर्नु आवश्यकता छ। परिवारमा श्रीमानको सहयोग, समुदायमा स्तनपानमैत्री वातावरण, र कार्यस्थलमा सुविधा आवश्यक छ। नेपालमा महिलाहरूको बोतलपानतर्फको झुकाव बढ्नु केवल उनीहरूको व्यक्तिगत निर्णय होइन। त्यो एक प्रणालीगत दबाब, नीतिगत कमजोरी, सामाजिक धारणा र सुविधाको अभावको प्रतिफल हो। यस्ता प्रवृत्तिको अन्त्य गर्न राज्य, समाज, र परिवारको संयुक्त भूमिका अपरिहार्य छ। स्तनपान कि बोतलपानको यो बहसमा महिलाको “छनोट” भन्दा पहिले “छनोट गर्न मिल्ने अवस्था” निर्माण गर्नेतर्फ ध्यान दिनु आजको आवश्यक छ। स्तनपानभन्दा राम्रो विकल्प शिशु, महिला, परिवार र समुदायका लागि अरू हुन सक्दैन भन्ने कुरामा जोड दिन जरुरी छ।

लेखक जनस्वास्थ्य कार्यालय नुवाकोटकी जनस्वास्थ्य अधिकृत (जनस्वास्थ्यमा स्नातकोत्तर-एमपिएच) हुन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top