२१ माघ, काठमाडौं । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)का अध्यक्ष रामराजा श्रेष्ठले बैंकहरुले वित्तीय साक्षरता बढाउँदै बैंकप्रतिको भ्रमहरु चिर्नका लागि जनचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् ।
आईतबार इम्सनद्वारा नेपाल बैंकर्स सङ्घका नवनिर्वाचित कार्यसमितिको स्वागत तथा सम्मानका लागि आयोजित कार्यक्रममा उनले उक्त भनाइ राखेका हुन् ।
‘सुरुमा लघुवित्तलाई विभिन्न नाममा आन्दोलन गर्दै समस्यामा पारियो तर ती लघुवित्तहरुलाई पनि बैंहरुले विपन्न वर्ग कर्जा अन्तर्गत ५ प्रतिभन्दा बढी लगानी गरेका छन् अहिले त्यहिँ लघुवित्तकै कारण पनि बैंकहरु समस्यामा परेको देखिन्छ,’ उनले भने, ‘पछिल्लो समयको पेनिकले धेरैजसो एसएमईजहरु समस्यामा परेका छन् अब त कर्पोरेट कर्जाहरु पनि समस्या पर्न थालेको देखिएको छ । अब यसबाट कसरी जोगिने हो भन्ने जिम्मेवारी बैंकर र राष्ट्रबैंकको काँधमा आएको महशुश हामी मिडिया क्षेत्रले गरेका छौं ।’
५ वर्ष अघि साढे १२ प्रतिशतको हाराहारीमा रहेको बैंकिङ क्षेत्रको आरओई यो आवको दोस्रो त्रैमाससम्ममा ८ प्रतिशतबाट तल झरिसकेको बताउँदै अध्यक्ष श्रेष्ठले बैंकरहरुले नै अहिले विभिन्न फि वेस आम्दानीमा उच्च कटौती हुँदा नाफामा धेरै संकुचन आएकाले यसमा राष्ट्र बैंकको सहजीकरणका साथै बैंकहरुले आफैले पनि फि बेसमा आधारित नयाँ प्रोडक्टहरुको खोजी गर्नुपर्ने धारणा राखे ।
‘अहिले हामीमा बैंकप्रतिको बुझाई गतल भयो भनौं या हामीले बैंकको वास्तविकता बुझाउन सकेनौं । बैंकमा अहिले बाहिर भनिएजस्तो साहुजीको लगानी कुल बैंकिङ क्षेत्रको टायर अर्थात ८.५ प्रतिशत मात्रै हो त्यसभन्दा बाहेक त बैंकमा बचतकर्ताको लगानी छ । यदि बैंक समस्यामा पर्यो भने तीनै बचतकर्ता मारमा पर्ने हुन्,’ अध्यक्ष श्रेष्ठले भने, ‘यस विषयमा बैंकहरुले पनि वित्तीय साक्षरता वा सो सम्बन्धी जनचेतना फैलाउन आवश्यक छ ।’
इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)मा २७ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।
प्रतिक्रिया