नुवाकोट – क्षेत्रपाल माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्थानीय खानाका परिकारहरुको प्रवर्द्धनमा जुटेका छन् ।
विद्यार्थीहरुले आज शुक्रबार विद्यालयस्तरीय मेला आयोजना गरी स्थानीय परिकारहरुमा बारा, ढिंडो, गुन्द्रुक, भटमास, खाप्से, सेलरोटीलगायत एक दर्जनका परिकारहरु पकाएर प्रदर्शन गरेका थिए । अवलोकनकर्तालाई स्थानीय स्वाद पनि चखाएका थिए । मेला अवलोकन गर्न आउने अवलोकनकर्ता र विद्यार्थीहरुमाझ उनीहरुले बनाएका खाप्से र गाजर हलुवाको स्वादले लोभ्याएका थिए ।
लिखु गाउँपालिका-४ को चौघडामा रहेको विद्यालयमा अध्यनरत कक्षा दशका विद्यार्थीहरुले आज शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गरत खाद्य परिकार प्रदर्शन गरेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद सुवेदीले जानकारी दिए। पाक शिक्षाअन्तर्गत विषयगत सिकाइका अतिरिक्त व्यवहारिक जीवनोपयोगी सिपमा समेत विद्यार्थीहरूलाई सहभागी गराउने तथा स्थानीय खाद्य परिकारलाई लोप हुनबाट बचाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक सुवेदीले जानकारी दिए ।
स्थानीय खाद्य परिकार मेलामा लिखु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शेरसिंह रावतले अवलोकनका साथै परिकारका स्वाद लिएका थिए ।
मेलामा अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीयहरूले समेत अवलोकन र परिकारको स्वाद लिएका थिए ।
मेलामा विद्यालयका शिक्षक कमला चुदाराको संयोजन गरेका थिए ।
प्रतिक्रिया