२०८१, ११ बैशाख मंगलवार

पत्रकारिता र चुनाव

नारायणप्रसाद नेपाल     बैशाख २३ २०७८ १५:१९

narayan prasad nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

महाभारतमा एउटा प्रसिद्ध श्लोक छ, ‘धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः’ अर्थात् धर्मक्षेत्र र लडाइँको क्षेत्रमा अनेक सम्भावना हुन्छ । श्लोकले भनेझैँ यो पटक म नेपाल पत्रकार महासंघको चुनावी मैदानमा उभिएको थिएँ । आफू आबद्ध एक संस्थाको हैसियतमा मैले मेरो मत माग्ने र दिने अधिकारको प्रयोग गर्न मैदानमा उभिएको थिएँ । देशभरमा नुवाकोटका पत्रकारको चुनावले फरक सन्देश प्रवाह भएको थियो । निर्वाचनमा हदैसम्मको धाँधली र लापरबाहीले दुनियाँलाई गिज्याएको थियो । मेरो पत्रकारिता यात्रा र यो नुवाकोटको निर्वाचनबारे सानो परिचर्चा यो आलेखमा ।

मेरो नजरमा युवा मञ्च, जनादेश, छाल पत्रिका परेको थियो । विचारको आलोकमा उभिएको छाल पत्रिकाले हाम्रो रगत उम्लिएको थियो । विद्यार्थी राजनीति र पत्रकारिताको यात्रामा मैले पुनः छाल निकाल्ने पहल गरेँ । शुभलाल सरको पहलमा पुनः त्रिशूली छालको प्रकाशन सुरु भयो । मैले कलम चलाउन थालेको नुवाकोट आवाज साप्ताहिकबाट हो । स्वार्थको धोक्रो भरिएन कि जनपक्षीय चरित्र बिकेन कुन्नी ? त्यो पत्रिका त हेर्दा हेर्दै सहिद भयो ।

कलमको सिपाही, छाल सम्पादक सहिद रामप्रसाद पाठक रवि, युद्धपत्रकार सहिद कमल एसीको रगत बगेको नुवाकोटको माटोमा उभिएर अतित सम्झिँदा मन पोल्छ । हिजोका सपनाहरू र आजको माओवादी पत्रकारहरू अनि त्यस्तै प्रेरणाले हो मैले कलमको यात्रा जारी राखेको । पत्रकार हुँ भन्ने दम्भ छैन, तर म पत्रकारिता गरिरहेछु । म पनि कलमको एक सिपाही हुँ । आस्था र स्वाभिमान बन्धकी राखेको छैन र राख्ने छैन !

समयको समीक्षा गर्दा लेखन र प्रकाशनको यात्रामा दशकौँ बितिसकेछ । जिल्लामा पत्रकार महासंघको सदस्यता लिने ठुलो रहर थियो त्योबेला हामीलाई । हामीले सदस्यता प्राप्तीको महाभारत कम्ती झेल्नुपरेको थिएन ! सास्ती झेलेरै भए पनि सदस्यता पाएको आठ बर्ष भएछ । महासंघ जिल्लामा हाम्रै उमेर समुह मिल्दोजुल्दो बाहेक तिन पुस्ताका पत्रकार छन् यतिखेर । ति बापुस्ता दाईपुस्ता र भाईपुस्ता । यस्तै उस्तैमा १ सय ७४ जना सदस्य पुगेछन् नुवाकोटको पत्रकार महासंघ परिवारमा ।

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा भएको गठबन्धनको छलफलसँगै नुवाकोट जिल्लामा अध्यक्षको उमेदवारको लागि प्रस्ताव आयो । प्रेस चौतारीप्रेस युनियनका केही साथिहरूको बिचमा छलफल सकेर म जिल्लातिर लागेँ । फोन सम्पर्कमा महासंघका जिल्ला अध्यक्ष कपिलदेव खनाल लगायतसँगको छलफल पनि निकै चलेको थियो ।

जिल्लाको यात्रामा छलफलको सुरुवात देविघाट पुगेपछि माधव गजुरेलबाट भयो । विदुरमा नवदिप श्रेष्ठ र भोलिपल्ट बिहान प्रेस चौतारीका केन्द्रीय सदस्य देवचन्द्र भट्टसँग समग्रमा छलफल गरेँ । म, विद्यार्थी आन्दोलनको सहयात्री बिष्णु अधिकारी र रुपा अर्यालबिच भेट भएर केही सल्लाहपछि एकै मोर्चा बनेर निर्वाचनमा जाने सहमती भयो । उम्मेद्धारी दर्ताको प्रक्रियातिर लागियो । तर उम्मेद्धारीको तयारी भन्दा बढी साथिहरूबिच वार्ताको आसामा बसेका थियौँ । सकेसम्म सहमतीमै अगाडि बढौँ भन्ने थियो । उम्मेद्धारी दर्ताको अन्तिम समय आयो तर न वार्ताबाट उपलब्धि हात लाग्यो, न त उम्मेद्धार नै टुंगो लगाउन सकियो । फलस्वरुप अधकल्चो प्यानल दर्ता गर्नुपर्ने अवस्था रह्यो ।

चुनाव हारेर राजनीति जित्ने मोर्चा थियो मेरो लागि यो चुनाव । जीवनमा पहिलोपटक निर्वाचनमा उम्मेद्धार बनेको थिएँ म । मैले मेरो जीवनमा दोस्रो मतदान गरेको थिएँ आफ्नै लागि । मेरो लागि नुवाकोटको राजनीति र पत्रकारितालाई फरक पाटोबाट सिक्ने विश्वविद्यालय बन्यो यो पत्रकारको निर्वाचन ।

यो निर्वाचनमा पत्रकार र पत्रकारिताभन्दा माओवादी बहस अलि चुलिएको थियो । संघीय सांसद नारायण खतिवडा, प्रदेश सांसद हिरानाथ खतिवडा, बाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, विदुरका मेयर सञ्जु पण्डित र गजेन्द्र जिहरू ज्यान फालेर होमिएका थिए । कतिपय काँग्रेसी नेता भने ज्यान एकातिर, मन अर्कोतिर डुलाइरहेका थिए । पूर्वमाओवादी नेताहरूको अभिव्यक्तिले चुनावी माहोलमा केही उत्तेजना सिर्जना गरेको थियो । उनीहरूले मलाई प्रतिगमनको मतियार भएको आरोप लगाए । श्यामहरि पाण्डे, विष्णु नेपाली लगायतका युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमै त्यो अभिव्यक्तिको प्रतिवाद गरे । नवराज ढुंगाना ‘विज्ञान’, शुभलाल श्रेष्ठ, भरत सिग्देल, मिना वाइवा, पुरुषोत्तम लम्सालले सामाजिक सञ्जालमा गरेका टिप्पणी र समर्थनको लहरले जिल्लामा जबरजस्त बहस चुलिएको थियो ।

लम्सालको एउटा स्टाटस थियो,
नुवाकोटको पत्रकार निर्वाचनबारे…

‘संस्थापन पक्षले आफूलाई जतिसुकै बलियो दाबी गरोस् । उसको विपक्षमा बोल्न र उभिन दर्जनौँ मुद्धा र विषय हुन्छन् । यहाँ त झन् पत्रकारिताको कुरो छ । विद्रोह बोल्दा साथीभाइ रिसाउलान् कि भन्ने विषयले कुनै महत्व राख्दैन । टाउको गन्न पाउने अधिकार त सबैलाई हुन्छ तर टाउकोभित्र गिदी हुन्छ र गिदीभित्र विचार पनि हुन्छ भनेर विचार गरिएन भने अनर्थ हुन्छ । एकातिर माओवादी केन्द्र र अर्को नेपाली काँग्रेसको अनुहार उभ्याएर बिचमा बस्दैमा सबै मेरो र म सबैको भन्न त पाइएला तर त्यस्तो हुँदैन । बाबुराम भट्टराई माओवादी हुन नसकेर गोरखामा काँग्रेस हुुनुपर्ने अवस्था आउनु र नारायण नेपाल नुवाकोटमा अग्रगमनको अनुहार होइन भन्नुमा भेद छ । शरिरको उचाई नापेर यो फुच्चे र त्यो फुच्चे भन्दैमा विचारको उचाई नापिँदैन भन्ने हेक्का होस् । आफ्नो ब्रम्ह छोडेर स्वः त्वः बिर्सिएर राजनीति खेलियो भने पनि अनर्थ हुन्छ । असन्तोषहरू जम्मा भएपछि पग्लेर लाभा हुन्छ । पत्रकारलाई मुख छोपेर पत्रकारिता गर्नपर्ने बनाउन जिल्लाको पार्टीका नेताहरूको पनि त भूमिका हुन्छ । कसो जय नेपाल कमरेड ?’

नुवाकोटमा के लागेको थियो र चुनाव त काठमाण्डौमा पो लागेको थियो । त्यसको चारगुणा धेरै चुनाव त मेरो डिफेन्सर ग्रुपमा कमाण्डर थिए लव प्याकुरेल । जिल्लामा मेरो उम्मेद्धारीपछि केही पत्रकारहरूले उकुसमुकुसबाट विद्रोह गर्ने आँट गरेका थिए । पत्रकारको यस्तो गुम्साहट के को होला ? किन भयो होला यस्तो वातावरण ? मेरो मनमा प्रश्नहरू उब्जिए । पत्रकारको चुनाव पत्रकारलाई भन्दा नेतालाई धेरै, नेताभन्दा व्यापारीलाई धेरै लागेको किन होला ? म झनै अचम्मित थिएँ ।

भोलिपल्ट उम्मेद्धारी फिर्ताको समय थियो । फिर्ताको लागि दबाब र प्रलोभनको श्रृङ्खला सुरु भयो । माकुराको जालोजस्तो जेलिएको राजनीति, पत्रकारिता, व्यापारी र प्रशासनको सम्बन्धको जालो पर्गेल्न जो कोही सिधासादाको लागि महाभारत नै पर्ने रहेछ ।

के हो जिल्ला हल्लाएको एक्लै ?’ लेखक अनिल शर्माले फोनमा भन्नुभयो । म जिल्ल परेँ । तीनभोटे किन उफ्रिएको होला ? भन्ने त कति भए, भए ! हुँदाहुँदै काठमाडाँैमा सल्लाह गरेका संगठनका नेताहरूले समेत फोन गरेर फिर्ता लिन पो निर्देशन गरे ! यावत् श्रृङ्खला चलि नै रह्यो । लाग्यो, यो हावाहुण्डरीमा एक्लै उभिन त सतिसाल बन्न सक्नुपर्ने रहेछ । मेरो सहयोगमा भोट माग्न आउनेलाई धम्की दिएर लखेट्नसमेत पछि परेनछन् खतिवडा एण्ड कम्पनी । साथीहरूको त्यो विद्रोहपूर्ण माया र स्नेहलाई मैले जिन्दगीमा भुल्नेछैन ।

निर्वाचनमा सहयोगी नेताहरू र उम्मेद्धारसहित समीक्षा बैठक बसियो । साथिहरूको जिम्मेवारी बाँडफाँड गरियो । एक–एक भोटको हिसाब निकाले । भोट गने । सबै दंग, अब त चुनाव जितियो !

तर भोलिपल्ट मतदान स्थलमा अनेक प्रकारका तमासाहरू देखिन थाले । हामीले संयमित भएर निर्वाचन प्रक्रिया अघि बढाएका थियौं । म आफैँले तीन भाइ फर्जी मतदातालाई त्यहाँबाट बाहिर निकालेको थिएँ । मतदान सम्पन्न भएपश्चात् मत्रपत्रमा संकेत नम्बर भएको कुरा बाहिरियो । यो विषयमा छलफल व्यापक भयो । बाहिर वातावरण अन्योल थियो । होहल्ला बिचमा हामीले केन्द्रमा उजुरीसहित मतगणना रोक्न माग ग-यौँ । केन्द्रको निर्देशनबेगर एकपक्षीय मतगणना र घोषणा गर्दै निर्वाचन समिति फोन अफ गरेर त्यहाँबाट हिँडे । जिल्ला निर्वाचन समितिले केन्द्रीय निर्वाचन समितिलाई नटेरेको प्रष्ट थियो ।

चैत्र २६ गते प्रमुख जिल्ला अधिकारीलाई हामीले मतपत्र सुरक्षाको माग राख्दै पत्र दिएका थियौँ । प्रजिअले केन्द्रको पत्र नआएसम्म केही गर्न नमिल्ने भन्दै पन्छिने बहाना खोजे । केन्द्रीय निर्वाचन समितिले जिल्ला प्रशासनलाई पत्र दियो । तर त्यति नै बेला मतपेटिका बोकेर महासंघको कार्यालयतिर साथिहरू कुदाकुद गरेको दृष्य विदुरमा देखियो । प्रहरी प्रशासन र उम्मेद्धारको रोहबरमा मतपत्रहरू मुचुल्का गरी मतपेटिका प्रहरीको जिम्मा लगाइयो । यति गर्दा मध्यरात भएको थियो ।

चैत्र २७ गते बिहान प्रजिअले फोन गरेर भने, ‘आफैँ गाडी खोजेर लैजानु होला ।’ उनको आदेशले म चकित परेँ, यो मेरो र कपिलदेवको झगडा हो कि महासंघको सवाल ? हल्का पारो तात्यो, प्रतिप्रश्न गरेँ, ‘सर, त्यो केन्द्रीय निवार्चन समितिको पत्रले के भनेको छ ? के नुवाकोटको सिडियोले सकेन मैले विकल्प खोज्न प-यो भन्ने ? अनि हिजो तपाईंले कतिवटा गाडीको लागि सवारी पासमा सही गर्नुभयो थाहा छ ?’ उनले भने ‘छैन ।’ ‘अनि त, सालासाली बोकेर ससुराली, मावली, जन्ती जाने हो सरकारी गाडी ?’ मैले यति भनिनसक्दै उनले फोन काटे । जिल्लामा ६ वटा गाडीले पास लिएका रहेछन् । बाँकी गाडी मनखुसी कुदेका थिए । त्यसपछि उनले गाडी व्यवस्था गरे । मुचुल्का उठाइएको मतपत्र महासंघ केन्द्रीय कार्यालय पुग्यो ।

केन्द्रीय निवार्चन समितिले वैशाख २ गते पुनः मतदान गर्ने फैसला दियो । त्यसपछि त जन्ती हिँडेकाहरू मलामी हिँडेजस्तो भयो । जिल्लातर निर्वाचन समितिको मिलेमतोमा गरेको धाँधलीलाई केन्द्रीय निर्वाचन समितिको पत्रले प्रमाणित गरेको थियो । तर फेरि पनि चोरलाई चाबी सुम्पने रवैयाले पहिलेकै अनियमितताको श्रृङ्खला दोहोरिने सम्भावना यथावत थियो । पुनः मतदान हुनेभयो । तर केन्द्रले पठाएको पत्रमा मिति तोकिएको थिएन । जिल्ला निर्वाचन समितिले ६ गते साँझ अबेला पत्र प्राप्त भएको जानकारी दियो । जहाँ ८ गते निर्वाचन मिति तोकिएको रहेछ । अब चाहिँ दल प्रवेशको अफर चल्न थाल्यो । माओवादी मित्रहरूले मुखै फोरेर भन्न थाले, ‘तपाईं अब यता आएर लड्नुपर्छ । एमाले ओली पक्षका साथीहरू भन्दैथिए, ‘देख्नु भो नि कमरेड अवस्था ? अब तपाईंहरू जस्तो युवाले नेतृत्व सम्हाल्नुपर्छ आउनुहोस् ढिला नगरौँ ।’ यावत्यावत् । वैशाख ७ गते निर्वाचन समितिका एक सदस्यले राजिनामा दिए । उनले राजिनामा पत्रमा निर्वाचन समिति नै धाँधलीको मतियार रहेको खुलाए । हामीले लगाउँदै आएको आरोप सो राजिनामाले फेरि प्रमाणित गरिदियो । ८ गते निर्वाचन तोकिएको दिन, अनौपचारिक छलफल गर्दा निर्वाचन केही दिन स्थगन गरेर जाने सहमती जुट्न लागेको थियो । त्योबेला एकपक्षीय रूपमा निर्वाचन समिति अघि बढेको रहेछ भन्ने कुरा हामीलाई मतदान केन्द्रबारे जानकारीसमेत नदिई गरेको तयारीबाट थाहा पायौँ । हामिले मतदान स्थल खोज्दै असहमति पत्र बुझाएर बाहिर निस्कियौँ । एकपक्षीय उम्मेद्धार, एकपक्षीय निर्वाचन समिति, प्रहरीको बाक्लो उपस्थिति र पत्रकार बाहेकका राजनीतिक कार्यकर्ताहरूको हुलमुल ठ्याक्कै ज्ञानेन्द्रको नगर निर्वाचनको झल्को दिनेखालकै थियो । निर्वाचनको नाटक मञ्चन गरियो र पत्रकारको राजनीतिक सत्ता कब्जाको लागि मतदान हैन मतलुटान प्रकियाबाट कब्जा गरेको घोषणा गरे ।

लोकतन्त्रको मुटु किन भनिन्छ निर्वाचनलाई ? निर्वाचन पक्ष र विपक्षको बिचमा हुन्छ होला नि ? निर्वाचन विधि र विधानअनुसार हुन्छ होला नि ? क्या अजिबको लोकतन्त्रको अभ्यास गरे साथिहरूले । त्यो बुद्धिले केन्द्रीय निर्वाचन समिति कब्जा गर्न पाए त सायद सत्ता कब्जा गर्न कुनै क्रान्ति वा विद्रोह कुर्नु पर्दैन होला !

नीति र विधिमा भएको त्रुटि औल्याएको पत्र हामीले पत्रकार महासंघको केन्द्रीय समिति, निर्वाचित अध्यक्ष र महासचिव लगायत नेताहरूलाई तत्काल इमेलबाट जाहेरी दिएका थियौँ । त्यस विषयमा पत्रकार महासंघको आधिकारिक जवाफ र धारणाको पर्खाईमा छौँ ।

सत्य यही हो,
यो खेलभित्र झेल भो,
मैले निसाफ खोजेको थिए
तिमिहरूले हिसाब देखायौँ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top