+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङको सेरोफेरो अनुभूति मेरो

baglung district shreeram shrestha nuwakot
डबली खबर
६ साल अगाडी

– यात्रा निबन्ध –

मनुष्यको जीवन भन्नु नै यात्रा हो । यात्रा अर्थात् घुमफिर । यात्राले मनुष्यको जीवनको यात्रालाई लयबद्ध गराउँछ । जीवनमा स्फूर्ति दिलाउँछ । म आफू पनि यात्राको सौखिन हुँ । समयले साथ दिएसम्म म यात्रा गर्न रुचाउँछु । यसै क्रममा यसपटक मैले बागलुङ जिल्लाको यात्रा गरेँ । नेपालको गण्डकी प्रदेशमा पर्ने बागलुङ जिल्ला मेरो रोजाइको जिल्ला थियो । यसपटक मलाई बागलुङ यात्रा गर्ने अवसर जुर्‍यो ।

सबै हिसाबले बागलुङ जिल्ला अग्रणी स्थानमा पर्दछ । यो निकै उर्र्वर भूमि हो । यस जिल्लालाई १६ हजार पर्वतको नामले पनि चिनिन्छ । हरियाली वनजङ्गल र सेताम्ये हिउँचुलीको फेदीमा रहेको बागलुङको पूर्वमा पर्वत, दक्षिणमा गुल्मी, पश्चिममा रूकुम–रोल्पा, उत्तरमा डोल्पा र म्यादी जिल्ला पर्दछन् । ८२०४५ देखि ८३०८६ पूर्व देशान्तर र २८००५ देखि २८०५१ उत्तर अक्षांशमा फैलिएको यस जिल्लाको क्षेत्रफल २,१५३ वर्ग कि.मि. रहेको छ । बागलुङको उचाइ समुद्री सतहबाट ७२४७ रहेको छ । यस जिल्लाको भूगोललाई हेर्दा पूर्व–पश्चिम लाम्चो आकारमा फैलिएको छ । संघीय संरचनाअनुसार बागलुङलाई चार नगरपालिका र छ गाउँपालिकामा विभाजन गरिएको छ । बागलुङ, जैमिनी, ढोरपाटन र गलकोट नगरपालिका हुन् भने बरेङ, तमान खोला, काठेखोला, बडीगाउँ खोला, निसी खोला र तारा खोला गाउँपालिका हुन् ।

बागलुङको नामकरण केकसरी रहन गयो भन्ने विषयमा भिन्न–भिन्न भनाइ रहेको पाइन्छ । केही प्रचलित भनाइमध्ये मगर भाषामा ‘बाध’को अर्थ कहीँकतै ‘उठेको खण्ड’ र ‘लुङ’को अर्थ समथर भन्ने हुन्छ । तसर्थ उठेको पहाडी भाग र कतै समथर भाग रहेको छ । त्यस्तै खस भाषामा ‘बाघ’ बाघ ‘लुङ’को अर्थ ‘लस्कर’ भन्ने बुझिन्छ । बागलुङ क्षेत्रमा कुनै समय बाघको लस्कर देखिन्थ्यो । तसर्थ बाघको लस्कर देखिएकोले बाघलुङबाट अपभ्रंश भई बागलुुङ रहन गएको मान्यता छ । त्यस्तै किराती राई भाषामा सुँगुरजस्तो ढुङ्गा भएकोले बागलुङ रहन गएको हो भन्ने पनि मत पाइन्छ ।

पहिले बागलुङ चौबिसे राज्यमा आबद्ध थियो । स–साना कोटमा विभक्त भएका भुरेटाकुरेले राज्य सञ्चालनमा थिए । गलकोट, बिहुँकोट, सर्नाकोट, माझकोटजस्ता थुमहरू अहिले पनि प्रसिद्ध छन् । त्यस समयमा एकले अर्काको राज्य हडप्न काटमार र लडाइँ झगडा हुने गर्दथ्यो ।

बि.सं. १५१० मा पर्वतका राजा थिए आनन्द बम । राजा आनन्दपछि चन्द्रदेव हुँदै डिम्बले शासन गरे । डिम्बले आफ्नो शासनकालमा ताकम, चन्द्रकोट, बिहुकोट र गलकोट जिती चार हजार पर्वतबाट चौध हजार पर्वत बनाउन सफल भएका थिए । डिम्बलाई चलाख राजा थिए । आफ्नो शासनकालमा उनले वर्षायामको समयमा ढोर र हिउँदयामको समयमा ताकममा बसेर आफ्नो शासन चलाउने गर्दथे । आफ्नो राज्यलाई सञ्चालन गर्ने व्रmममा आफ्ना भाइहरूलाई कामको बाँडफाँड लगाउँथे । जसअनुसार माहिला भाइलाई डाँडाकोट, साहिँलालाई बिहुकोट र कान्छालाई गलकोट दिएका थिए । डिम्बले आफ्नो राज्य सुरक्षित राख्न दिल्लीका बादशाहको चाकडी गर्दथे । आफ्नो राज्यमा प्राप्त हुने बहुमूल्य सामान (कस्तुरी, चितुवाको छाला, डाँफे, नाहुर, बाज, पश्मिनाका पछ्यौरी) उपहार स्वरूप दिल्ली पठाउँथे । डिम्बले दिल्लीको आडमा मुस्ताङ समेत आफ्नो राज्यमा गाभेका थिए । आफू ८४ वर्षको उमेर भएपछि वि.स. १५९० मा आफ्ना नाति प्रतापी नारायणलाई पर्वतको राज्य सुम्पेका थिए । उनका छोरा नागबेम रोगले ग्रसित थिए ।

युवा अवस्था राजा प्रतापी नारायणले राज्यको बागडोर समातेपछि राजनीतिक रणनीतिको खाका कोर्न थाले । उनले, पाल्पाली राजा मुकुन्दसेनकी छोरीसँग बैवाहिक सम्बन्ध गाँसे । पाल्पासँग नाता जोडेपछि प्रतापी नारायण झन् शक्तिशाली भए । शक्तिको आडमै मादी पूर्वका राज्यहरूलाई क्रमिक रूपमा गाभ्दै सेतीनदीसम्म आफ्नो राज्यलाई बिस्तार गरे । ३० बर्ष जति शासन गरेका प्रतापी नारायणले आफ्नो उमेर ढल्कदै गएपछि आफ्ना छोराहरूलाई राज्य भाग लगाइदिए । जसअनुसार जेठा छोरा जितारी बम मल्ललाई गलकोट, माहिला छोरा राजबमलाई पर्वत र कान्छा छोरा कल्याणलाई कास्की दिए ।

त्यस बखत गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरणको अभियान अगाडि बढाइरहेको थियो । पर्वतका राजा राजबमले लमजुङे राजा रिपुमर्दनी बहिनीसँग विवाह गरेका थिए । लमजुङको आडमा राजवमले गोरखाको बिरूद्धमा धावा बोलेका थिए । पर्वत राज्यमा किर्तोबमको समयमा पृथ्वीनारायण शाहका कान्छा छोरा बहादुर शाहले वि.सं.१८४३ मा पाल्पाली राजा महादत्त सेनकी छोरीसँग बिवाह गरे । आफ्नो नायबी कालमा बहादुर शाहले पाल्पाको सहयोग लिई गुल्मी, अर्घाखाँची, प्युठान कब्जा गर्दै गए । राज्य बिस्तारकै क्रममा गोरखाले अन्य स–साना राज्यहरूलाई लड्दै भिड्दै युद्धलाई अगाडि सारे । धर्मराज र भीमदक्त मल्लको नेतृत्वमा अगाडि बढेको फौजलाई बागलुङ र दुर्लुङमा सामना गरी दुई तीन महिना गोरखाली फौजलाई अगाडी बढ्न दिएन । अन्ततः साहसका साथ गोरखाली फौज अगाडि बढी चन्द्रकोट हुँदै बलेवा र बागलुङ हात पार्न सफल भएको थियो ।

०००

बागलुङको सीमा क्षेत्र मालढुङ्गा पुल । पर्वत र बागलुङलाई यसै सीमाले छुट्याउँछ– पारि बागलुङ र वारि पर्वत । पुल नजिक दुई वटा मोटरबाटाहरू छन् । दायाँ बाटोबाट बेनी र बायाँ बाटोबाट बागलुङ । दुबै बाटोको प्रतीक्षालयमा यात्रुहरूको भीड देखिन्छ । आ–आफ्नो गन्तव्य प्रस्थान गर्नका लागि । पानी झमझम परिरहेको छ । मोटर आवत जावत बाक्लै देखिन्छ । खेतमा बर्सादको पानीले सिन्चित गरेर गरिएको रोपाइले धानको बाला झुल्न थालिसकेको छ । बर्सादले गर्दा कालीगण्डकी खोलाको भेल उर्लंदो छ । गडगडाहट गर्दै ठूलो श्वरमा सुसेल्दै बगिरहेको छ । जस्तो नाम उस्तै रंग । अर्थात् पानीको रंग पुरै कालो । कालीगण्डकीको उत्पत्ति मुक्तिनाथ मन्दिरको शीरबाट भएको छ । मुक्तिनाथबाट मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा पाल्पा हुँदै चितवनको नारायणी नदीमा गई मिल्ने रहेछ । कालीगण्डकी नदीको किनारमा रहेका छन् बस्तीहरू । जस्तै लोमान्थाङ, जोमसोम, बेनी, बागलुङ, कुश्मा, पूर्तिघाट, सती बेनी, मिर्मी, रूद्रबेनी, रिडी, चापकोट, रामपुर, डेढगाउँ देवघाट, नारायणघाट र त्रिवेणी । नेपालका नदीमध्ये सबैभन्दा गहिरो नदीको रूपमा लिइन्छ । काली गण्डकी नदीको लम्बाई ६३० कि.मी. रहेको छ । यस नदीको पश्चिममा धौलागिरि ८१६७ मी. र पूर्वमा अन्नपूर्ण ८०९१ मी. हिमाल पर्दछ । त्यस्तै उचाइको हिसाबले १३०० मिटरदेखि २६०० मिटर सम्म रहेको छ जुन अन्नपूर्ण र धौलागिरी चुचुरो बाट ५५०० मिटर देखि ६८०० मिटर तल पर्दछ । हिन्दू धर्मलम्बीहरू भगवान बिष्णुको साक्षत रूप लिइने शालिग्राम पनि यसै नदीमा पाइन्छ । कालीगण्डकीको बालुवामा सुनको कणहरू पाइन्छ । ¥याफ्टिङ गर्नलाई उपयुक्त हुने हुँदा पर्यटकीय हिसाबले पनि यो नदी वरदान सावित भएको छ ।

कालीगण्डकी जलविद्युत परियोजना नेपालको सबैभन्दा ठूलो परियोजना हो । उत्पादित विजुली नेपालका साथै भारतको मेनलाइनमा जडान गरिएको छ । यो परियोजनाले विशेषतः मिर्मी र बेल्टारी जनताहरूको जनजीवन उकास्न महत्वपूर्ण भूमिका खेलेको छ । १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ले पनि उत्पादन सुरू गरिसकेको छ । जापानिज प्रविधिले प्रत्यक्ष रूपमा मुलुकको अर्थतन्त्रलाई निकै नै मद्दत पु¥याएको छ । त्यस्तै १६४ मेगावाट कालीगण्डकी जल जलविद्युत आयोजनामा पनि जुटेको छ । चीनका युनान सिन्ह्वा वाटर कम्पनी र नेपाल सरकारबिच निर्माण गर्नका लागि सम्झौता भइसकेको छ ।

नेपालको सबै ठाउँमा एउटै रोग डोजर आतङ्क । कालीगण्डकी नदीको छेउछाउमा थुप्रो देखिन्छ बालुवाहरूको । अबैध तरिकाले निकालेको हुनुपर्छ ती बालुवाहरू । छुटफुट रूपमा डोजर देखिन्छ नदीको छेउछाउमा । स्थानीय बासिन्दासँग भलाकुसारी गर्दा आव्रmोशित शैलीमा प्रस्तुत भए । “रातको समयमा डोजर चलाएर नदीजन्य बस्तु निकाल्नाले नदी दबिदै गएको छ । जनसरोकारको बिषयलाई लिएर धेरै पटक उजुरी गरेका छौँ तर कारबाही हुँदैन । तसर्थ हामी मौन बस्नुका विकल्प छैन ।” यदि यस्तो गलत संस्कारको विकास हुने हो भने लोकतन्त्रको उपहास भयो नि होइन र ? त्यस्तै, बागलुङ बजारबासीहरूले प्लाष्टिकजन्य फोहोरहरू नदीमा सिधै फ्याक्नाले पनि नदी प्रदूषण भएको एकिन गर्न सकिन्छ ।

कालीगण्डकी खोलाको अलवा बागलुङ जिल्लामा उत्तर गङ्गा, दोर खोला, तमान खोला, निसी खोला, भुजी खोला, भीम खोला, दरम खोला, गौँदी खोला, काठे खोला, धुस्तुङखोला, लुकुरवन खोला, खुंग खोला, तारा खोला, पातले खोला, पाण्डप खानी खोला, रीठे खोला, गलुवा खोला, सरङ्गे खोला आदि छन् । यी खोलाहरू दुई तरिकाले बग्ने गर्दछन् सधैँजसो र बर्खायाममा मात्र । बागलुङमा दुई वटा ताल रहेछन् रूद्रताल र जलपा खगर ताल । देउराली पारी पहाडको टाकुरामा रहेको रूद्र ताल । यहाँ शिवको मन्दिर रहेको छ । माघे संक्रान्तिमा मेला लाग्छ । रूद्र तालको पानी बगेर भुजी खोलामा मिसिन्छ । ढोरपाटनको उत्तरतिर जलपा खगर ताल छ । उक्त तालालाई मगरहरूले बराह देवताको रूपमा पुज्ने गर्ने गर्दछन् । मगरहरूले भेडा, बाख्रा बलि दिने गर्दछन् । यस तालको पानी धुस्लुङ खोलामा गएर मिसिँन्छ ।

०००

बागलुङको सीमा क्षेत्र मालढुङ्गा पुलबाट अगाडि बद्दा चारैतिर हरियाली दृश्य देखिन्छ । पिचबाटो राम्रो देखिएता पनि साँघुरो देखिन्छ । मोटर गाडि ओहर–दोहर गर्दा अगाडि एउटै रफ्तारमा दौडन गाडीलाई अफ्ठ्यारो हुन्छ नै । सडकको दायाँ दिशामा कालीगण्डकी आवाज सुनिन्छ र देब्रेपट्टि आँखा लगाउँदा गजधम्मे पहाड । केही समयको अन्तरालमा देखियो भगवती कालीका मन्दिरको प्रवेशद्वार । बसबाट नेपालको प्रसिद्ध शक्ति पीठलाई मनैदेखि नमन गरेँ । काठमाडौँदेखिको बसको यात्रा बागलुङ बजारमा गएर बिर्सजन भयो । समयको हिसाबले सात घण्टा लाग्नुपर्ने तर तेह्रघण्टाको समय लाग्यो । बासका लागि सुविधा सम्पन्न होटेल समिट धौलागिरि रोज्याँै । बुक गरेको कोठामा फ्रेस भएर खाजापान गर्‍यौं । बागलुङ बजार घुम्नका लागि निस्क्यौँ ।

बागलुङ बजार बागलुङ नगरपालिकाभित्र पर्दछ । बागलुङ नगर भौगोलिक हिसाबले मध्य नेपालमा पर्दछ । संघीय संरचनाअनुसार बागलुङ नगर पालिका साविक मलिक गाउँ विकास समितिको वडा नं. ६, बाहेकको सिगाना, तित्याङ, भकुण्डे, रायडाँडा, अमालचौर , पैयूपाटा, नारायणस्थान उत्तरी खण्ड वडा नं.६, ७, ८ र ९ समाबेश छन् । बागलुङ नगरपालिका १४ वटा वडामा विभाजित छ भने वडा नं. १, २, ३ र ४ जस्ता मुख्य वडाहरू बागलुङ बजारमा पर्दछ । बागलुङ बजार जिल्लाकै सदरमुकाम भएका कारण प्रमुख व्यापारिक केन्द्रको रूपमा लिइन्छ । यातायात, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानीको सुविधाबाट सम्पन्न रहेको छ । बागलुङ बजार शहरीकरणको वृद्धिको साथमा जनघनत्व पनि बृद्धि भएको देखिन्छ । समग्र नगरपालिकाको जनसङ्ख्यालाई हेर्दा महिला १३१०३ र पुरूष १३२७६ गरी जम्मा २६३७९ रहेको छ ।

समुद्री सतहबाट एक हजार मिटरको उचाईमा रहेको बागलुङ नगर क्षेत्र २८०११ देखि २८०२० उत्तरी अक्षांश र ८३०३२ देखि ८३०३८ पूर्वी देशान्तरमा ९८००१ वर्ग कि.मी. मा फैलिएको रहेछ । बजार उत्तर पूर्वीतर्फ कालीगङ्गा र दक्षिण पश्चिममा काठे खोला पर्दछ । बागलुङ नगरमा ऐतिहासिक सामरिक महत्वका, ताराजकोट, करिकोट, माझकोट, रायकोट र संसारकोट गरी पाँच वटा कोटहरू रहेका रहेका छन् ।

बिहान पाँच बजे भालेको डाकसँगै उठ्यौँ हामी । नुहाइ–धुवाई गरेर कालिका भगवतीको दर्शन गर्न निस्क्यौँ । सिमसिम पानी पर्न लाग्यो । शुभसाइतको सङ्केत बुझ्याँै हामीले । बास बसेको होटेलको आँगनमा निस्कदा पानी पर्न छाड्यो । कालिका भगवतीको आर्शीवाद सम्झीयौँ । बजारबाट मन्दिर नजिक रहेको हुँदा मर्निङवाकमा जाने निधो भयो । करिब १५ मिनेटको हिँडाइमा पुगियो मन्दिर प्रवेशद्वार । मन्दिरसम्म पुग्नका लागि बाटो फराकिलो र भुँइमा ढुँगा बिच्छाइएको छ । दायाँबायाँ बार बारिएको छ । बारबाहिर ठूलाठूला वृक्षहरूको घनाजंगल छ । सल्ला, साल, चिलाउने र काइँयो जस्ता वृक्षहरू छन् भने बाघ, भालु, चितुवा, बँदेल, घोरल, झारल, कस्तुरी, मृग, थार, नावर, खरायो, दुम्सी जस्ता जनावरहरू छन् त्यहाँ पाइन्छ । त्यस्तै उहाँ डाँफे, मुनाल कालिज, तित्रा, ढुकुर, कोइली, चिल, मैना, मलेवा, जुरेली, हलेसो, भ्याकुर, भँगेरा, चिबे, धोवीचरा, काग, चाँचर, लाहाचे, सुगा, फिस्टो, बकुला, सुगाजस्ता पंक्षीहरू छन् । दर्शनार्थीहरूको सुविधाका लागि बाटोको बायाँतर्फ शौचालय र खानेपानीको व्यबस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने बायाँ दिशाको बाटोको छेउमै सातवटा जलधारा राखिएको छ । बाघको आकृतीको धाराको टुप्पोबाट जल प्रवाह हुने गर्छ । धारामाथि सातै वटा मूर्तिहरू राखिएको छ । ती मूर्तिका नाम लेखिएको छ क्रमश: शैलपुत्री, ब्रमाचारिणी, चन्द्रघण्टा, कृष्माण्ड, स्कन्दमाता, कालरात्रि, महागौरी, सिद्धिदात्री र कात्यायानी । यी नौवटा जलधारा कालीगण्डकीका जल हुन् । मन्दिरको मूलद्वारबाट दाँयातिर अखण्ड धुनी र बायाँ ठूलो नगरा राखिएको छ । मन्दिर कालीगण्डकी र काठे खोलाको बिचको जङ्गलमा तले शैलीमा निर्मित छ । मन्दिरको पहिलो तलामा महाकाली, महालक्ष्मी, महासरस्वती यस्ता भगवतीहरूको मूर्ति रहेको रहेछ ।

पौराणिक ग्रन्थअनुसार पार्वतीले त्यस ठाउँमा तपस्या गरेको हुदाँ मन्दिरभित्र शिवजीको मूर्ति पनि रहेको छ । पार्वतीले तपस्या गरिरहेको ठाउँमा शिव आई आजदेखि तिमी पार्वतीबाट भगवती भएस् भनी वरदान दिएको हुँदा भगवतीको स्थापना भएको भनाइ छ । मन्दिरभित्र पूजारी मात्र बस्न पाउँछ । दर्शानार्थीहरूले बाहिरबाटै पूजाआजा गर्ने व्यवस्था छ । मन्दिरको चारदिशामा चारवटा ढोका रहेको छ । पूजा पाठका लागि पश्चिमतिर ढोका प्रयोग गरिन्छ । फूल, अक्षता, नैबेद्य, अबिर केशरी, धूपद्वारा पूजापाठ गरिने भगवतीलाई बलिको रूपमा बोका, कुखुरा, रागा, सुँगुर काटिन्छ । जोडी परेवा उडाउने र काचो नरिबल फुटाइन्छ । माघ र साउन महिना बाहेक अन्य समयमा दर्शन गर्नेहरूकोे भीड नै लाग्ने गर्दछ । स्वदेशका साथै छिमेकी मुलुक भारतका धर्मालम्बीहरूको भीड लाग्ने गर्दछ । नेपालको एक प्रसिद्ध शक्तिपीठको रूपमा लिने मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

मन्दिर परिसरमा पाँच वटा सत्तलहरू १४ वटा प्रस्तर मूर्ति १०८ वटा तामाको दियो, शौचालय, खानेपानी, सिसी कयामराको प्रबन्ध मिलाइएको छ । भक्तजनहरूले भजन कीर्तन गर्न र उनीहरूको बासको लागि सत्तलको व्यवस्था गरिएको रहेछ । मन्दिरमा चदाइएका दान, दक्षिणा र भेटी कालिका भगवती गुठी व्यबस्थापन समितिले उठाउने गर्दछ । साँझपख सुरक्षाकर्मी, मालपोत प्रतिनिधि, गुठी समितिका सदस्यहरू बसेर गिन्ती गर्ने गर्दछन् । वार्षिक रूपमा एक करोड भन्दा बढी भेटी उठ्ने गरेको समितिले जनायो । मन्दिरमा दर्शन गर्नेहरूको भीडभाडले गर्दा बागलुङ बजारको व्यापार व्यबसाय बढेको प्रष्ट देखिन्छ । मन्दिरको बृहत्तर विकासको लागि गुठी व्यवस्थापन समितिले पाँच वर्षे गुरू योजना सार्वजनिक समेत गरेको पाइयो ।

कालिका भगवतीको स्थापनाको सम्बन्धमा ऐतिहासिक एवम् धार्मिक कथन यस्तो रहेको रहेछ— पर्वतका राजा प्रतापीनारायण पाल्पाली राजा मुकुन्दसेनकी राजकुमारी विश्वादेवीसँग वि.सं. १५९१ मा विवाह हुदाँ कालिका भगवती देवीलाई दाइजो पठाइएको थियो । बागलुङमा भगवती कालिकालाई विधिवत रूपमा प्रतिस्थापना गरियो । राजकुमारीको विवाहपछि जन्ती पर्वत फिर्ता हुन नसकेको अवस्थामा एक जना सिकारी भेषधारी व्यक्तिले डोली उठाउने र सो समय पाल्पा पुगेका बागलुङमा लुङगाउँका मगरहरूले खड्ग समातेर पाल्पा पुगेको किम्बदन्ती रहेको छ । त्यसै बेलादेखि प्रतापी नारायणले पाल्पादेखि कालिका देवीको खड्ग समाती आउने चक्रपुकारलाई पदवी दिएर मन्दिरको पुजारी बनाई राखिएको हो । त्यसबेलादेखि खड्ग पदवीका पुजारीका दाजुभाइ पालैपालो मन्दिरको पुजारी भए ।

जङ्गेश्वर महादेव जङ्गबहादुर राणाले आफैले बनाउन लगाएको मन्दिरको हो । यो मन्दिर कालीका भगवती मन्दिरको मुनि अर्थात् कालीगण्डकीको किनारमा रहेको छ । वि.सं.१९३८ को औलो पर्वपछि पर्वते राजाका एक परिवारलाई समात्न आउँदा मुक्तिनाथ दर्शन गरी बागलुङ आउने व्रmममा यो मन्दिर बनाउन लगाइएको इतिहास छ । यसै ठाउँमा पर्वते राजा मलेबमले पनि लक्ष्मीनारायण मन्दिर बनाउन लगाएका रहेछन् । मन्दिरको संरक्षण तथा सम्वद्र्धन गर्न स्थानीय समिति समेत खडा गरिएको रहेछ । यहाँ कात्तिके एकादशीका दिन स्नान गर्न, सतबिज छर्न र एकादशी मेला भर्नका लागि तीर्थालुहरूको रूपमा जमघट हुने गर्दछ । मन्दिरमा भजन किर्तन गरिन्छ । असक्त बूढाबूढीहरूलाई विश्रामका लागि आश्रम स्थल निर्माण गरिएको रहेछ । वीरशाली पन्तका पुर्खाहरू भारताबाट मुक्तिनाथ दर्शन गरी फर्कंदा बाागलुङ औधि मन परेको हुँदा बसोबास नै त्यहीँ गरेको भन्ने कुरा मन्दिरमा रहेको शीलालेखमा उल्लेख गरिएको छ ।

वीरशाली पन्त बागलुङ जिल्लाको ढिकीचहुरे भन्ने गाउँमा सम्बत् १८४० भन्दा अगाडि नै जन्मेका थिए । यिनी प्राग भानुभक्तीय युगका कवि हुन् । इन्दिरस, विधाख्या, वसन्त शर्मा समाकालीन पन्त संस्कृतका धुरन्धर विद्वान् थिए । क्षणभरमा नै कविता लेख्न सक्दथे । गाउँघरमा विवाह आदि कार्यमा रातभर नै श्लोक भन्दथे । तसर्थ उनी आँशुकवि पनि थिए । पन्तको विद्वताबाट प्रभावित भएर राजा राजेन्द्रविव्रmम शाहले उनलाई दरबारमा झिकाएर कविता लेखन लगाएको इतिहासमा उल्लेख छ । उनले ‘राजेन्द्र शतक’ नामक एउटा स्तुतिकाव्य नै रचेका थिए । उक्त काव्यले ख्याति कमाएको थियो, नेपालमा मात्रै होइन भारतमा पनि । यिनका सबै काव्यकृति भक्तिधारा र भक्तिरसले ओतप्रोत भएको पाइन्छ । यिनको काव्यकृतितर्फ विमलबोधानु भाव, सरस प्रेमावली, गोपीको स्तुति, सिद्धान्त विनय, श्रीकृष्ण चरित्र, द्रौपदी विलाप, राजेन्द्र सतक, वाणेपनिषद् र दर्शनतर्फ ब्रह्रमातत्व मिमांसा, भक्ति, स्वरूपम तथा स्वरूप सिद्धान्त मुक्तावाली हुन् । उनले ‘कृष्ण चरित्र’ नामक बाह्र हजार श्लोकको महाकाव्य समेत लेखेका थिए ।

वीरशाली पन्त आदिकवि भानुभक्त आचार्य भन्दा पुराना कवि हुन् । उनले आफ्नो जीवनको उत्तराद्र्ध खण्ड भारतको मथुरा वृन्दावनमा नै व्यतित गरे । उनीद्वारा लेखिएका कृतिहरू केही मात्र प्रकाशनमा आएका पाइन्छन् भने अरु खोजअनुसन्धानकै विषय बनेका छन् ।

०००

कालिका भगवती मन्दिरको प्रवेशद्वार अलि अगाडि अर्थात् बजार जाने बाटोमा शहीद पार्क रहेछ । पार्कलाई वरिपरि पर्खालले घेरावाल गरिएको रहेछ । पाँच वटा शहीदका मूर्तिहरू पार्कको बीचमा टाँसिएको छ । संरक्षण र सम्र्वद्धनको अभावले पार्क लथालिङ्ग अवस्थामा छ । शहीदहरूको सम्मान गर्नुको सट्टा पार्कको बेतिथिले यर्दा शहीदकै अपमान गरेको जस्तो लाग्यो ।

शहीद पार्कभित्र एसियाकै लामो झोलुङ्गे पुल बन्न लागेको रहेछ । झोलुङ्गे पुलदेखि पर्वतको अदुवाबारी गाउँ जोड्ने योजना रहेछ । सस्पेडेन्तअनुसार बन्न लागेको पुलको लम्बाइ ५६७ मिटर रहेछ । निर्माणधिन झोलुङ्गे पुलको नाम बाङ्गेचौर अदुवाबारी झोलुङ्गे पुल हो । कूल लागत आठ करोड रूपैयाँको लागतमा सम्पन्न हुने पुलको काम तीस प्रतिशत सम्पन्न भएको प्राविधिक नरेश शाहीको दाबी छ । लामो पुल अबलोकन गर्न पर्यटकहरू आगमनमा वृद्धि हुने देखिन्छ ।

बाङ्गेचौर खेल मैदान । युवा–युवतीहरू सराबर भएर फुटवल खेलिरहेको देखिन्छ । खेल मैदान व्यबस्थित देखिँदैन । जिल्लाभरिमध्ये यो खेल मैदान नै उपयुक्त हो भन्ने थाहा पाइयो । बर्सादको पानीले खेलमैदानमा पानी जमेको छ । चिप्लाका कारणले फुटबल खेल्न असहज भएको देखिन्छ । खेलाडीहरू फुटवलमा उत्साही भएको देखियो । खेल मैदान निर्माणका लागि बागलुङ नगरपालिकाले नगर परिषद्बाट रकम बिनियोजित गरिएको रहेछ । बाटैमा भेटिए स्थानीय खेलाडी बिपिन डंगोल । उनले भने– “खेल मैदानको स्तर उन्नति गर्नको साथै प्रशिक्षकद्वारा प्रशिक्षित गर्न सकेमा बागलुङमा पनि फुटवलको भविष्य सुनिश्चित रहन जाने छ ।

खेलकुदको विकासका लागि जिल्ला खेलकुद विकास समितिले केही गर्नु पर्ने हो त राजनीति सकारात्मक हुनुपर्नेमा त्यस्तो नभएको र दलगत स्वार्थले काम गरेकोले बागलुङको खेलले अग्रता लिन नसकेको उनको भनाइ छ । विपिन डंगोल एक प्रतिनिधि पात्र मात्र हुन् । युवाहरूको जोश र जाँगरलाई मर्न दिनु हुँदैन । हैन भने ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान सत्य सावित हुन जानेछ ।

बजारको मुखैमा देखियो नेपाल मगर संघको भवन । आफ्नो स्वामित्वमा तीन तले भएको घर रहेछ । मगर जातिको भाषा, भेषभूषा, रहन सहन, रीतिरिवाज संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापना भएको रहेछ उक्त संस्था । बागलुङको निसी खोला र भुजी खोलाको किनारमा मगरहरू पुख्यौैलीदेखि बसोबास गर्दै आएका छन् । यस जिल्लाको विशेष गरेर हुकाम, रम्मा, टकबाच्छी, मैकोट जस्ता बस्तीमा मगरहरूको जनघनत्व बढी रहेको छ । पुन, रोक्का, बूढा, घर्ती थर रहेका मगरहरू छन् । मगरहरूमा पनि ठाउँअनुसारको थर राखेको पाइन्छ । जसअनुसार निसी खोलामा बस्नेको थर निसी, भुजेल र भुजी खोलामा बस्नेको थर भुजी भुजेल । धर्मतन्त्रको विश्वास गर्ने बागलुङका मगरहरूले आफ्नो जातिको नाच मारुनी र सोरठीलाई जीवन्त दिएका छन् तर सालैजो, नीरमाया, रानीमाया, सुनीमायाजस्ता लोकगीत भने हराउँदै गएका छन् । आफ्नो मूल थलो पाल्पा नै हो भनी दाबी गर्छन् । नेपाल एकीकरणका साथै नालापानीमा अग्रेजसँग युद्ध गर्ने मगर जातिको योगदान उच्च रहेकोमा यहाँका मगर गर्व गर्छन् ।

बागलुङ बजारबाट दक्षिण दिशातर्फ जोडिएको ठाउँ हो उपल्लो चौर । यो ठाउँ ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ । यहाँ माझकोट र करिकोटका थुम्काहरूमा कोतघरहरू रहेका थिए । करिकोटे, माझकोटे राजाहरूको राजधानी यसै भेगमा रहेको थियो । खनजोत गर्दा भग्नावशेष भेटिएको स्थानीयको भनाइ छ । कोतघर नजिकै वनदेवीको मन्दिर छ । देवीलाई पूजाआजा गरिन्छ । यहाँ बनभोजका लागि मान्छेहरू आउने गर्दछन् । उपल्ला चौरबाट मालिकाकोट, माथिल्लो बाटोबाट कुडुले, रत्नचौर हुँदै बेनीको पूल तल्लोबाटोबाट ओडारचौर, फोस्रे, खबरा हुँदै बेनीको पुल जानेबाटो छ ।

बागलुङ बजारबाट दक्षिण पश्चिम अमलाचौरको उत्तर पश्चिममा भैरव स्थानको मन्दिर रहेको छ । मन्दिरमा मंगलवार र शनिवार अन्य बारको तुलनामा बढी दर्शालुहरू आउने गर्दछन् । दर्शनार्थी मनोइच्छा पूरा गर्न भाकल गर्नका लागि यहाँ आउँछन् । मनोइच्छा पूरा भएपछि कुखुरा, बोका, हाँस, राँगा बलि दिने गर्छन् । बजारबाट चिप्लेटी हुँदै र अर्को देउराली चोक हुँदै मन्दिर पुग्ने बाटो रहेको छ । यहाँबाट हिमश्रृंखला बागलुङ बजारको बस्ती र कालीगण्डकी नदीहरूको दृश्य देखिन्छ । भैरवस्थान मन्दिर व्यबस्थापन समितिको मन्दिरका संरक्षण हुने काम भएको छ । बागलुङदेखि भकुण्डेसम्म केवलकार र भ्यु टावर निर्माण गर्न सकेमा आन्तरिक र बाहृय पर्यटकहरूको आगमनमा वृद्धि हुन जाने छ । घुमफिर गर्दागर्दै समय गएको पत्तो भएन, झमक्कै साँझ परिसकेछ । दिनभरिको बसको यात्रा र बागलुङ बजारको घुमफिरको थकानले खानपिन गरी ओछ्यान मात्रै पल्टेका थियौँ निद्रादेवीको काखमा भुसुक्कै निदाएछौँ ।

०००

प्राकृतिक छटाले भरिपूर्ण गलकोट नपुगे बागलुङको यात्रा अपूरो, अधुरो रहन जान्छ । बागलुङ बजारबाट २६ कि.मी.को दूरीमा रहेको रहेछ गलकोट । गलकोट उच्च ठाउँ रहेको छ । यात्राका समयमा बाटाका घुम्ति छिचोेल्नु पर्ने धेरै नै । उकालै लाग्दै गर्दा बिहुडाँडा आइपुग्छ । जहाँ भ्यूटावर रहेको छ । भ्यूटावरमा चढ्नेहरूको लर्को नै लागेको देखिन्छ । गलकोट अहिले नगर पालिकामा परिणत भएको छ । दुदिला भाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेबास, रिधा र पाण्डवखानी मिलेर गलकोट नगरपालिका बनेको रहेछ । दरमखोला र गौदी खोलाको किनारमा घुम्टे पहाडको काखमा रहेको छ – गलकोट । नगरको भूगोललाई हेर्दा १८४.३९ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ । ११ वटा वडाहरू रहेको गलकोटको वि.सं. २०६८ को जनगणनालाई हेर्दा ३३०९७ जनसंख्या रहेको छ भने वि.सं. २०७४ को निर्वाचन तथ्याङ्कमा मतदाता २०११९ रहेको पाइन्छ । बाहुन, क्षेत्री, ठकुरी, मगर, नेवार सार्की, दमाई, कामी, मुस्लिम आदि जनजातिहरूको बसोबास छ गलकोटमा । गलकोट हरिचौरमा दरबार रहेको छ । दिलीपबम मल्लको सन्तानले कोत घर निर्माण गरी नाम दिएका रहेछन् – गलकोट । दुई तलाको रहेको दरबारको छाना झिगटीले छाएको छ । दरबारको चारै दिशामा झ्यालहरू छन् भने प्रवेश गर्नका लागि एउटा ढोका रहेको छ । दरबारको अगाडि फराकिलो आँगन रहेको छ र आँगनमा ठूलो चेप्टोढुङ्गा रहेछ । त्यही ढुङ्गामा बसेर मुद्दा फैसला गरिन्थ्यो रे । गलकोटवरिपरि साधी, हिल, नरेठाटी, तारा, हटिया, हरिचौर, गलपास आदि गाउँहरू रहेका छन् । गलकोटका राजा डिम्बले बीउकोट, गलकोट, जिती चौबिसे राज्यमा मिलाएका थिए । राजा डिम्बले शासन गर्नुभन्दा अगाडि मगरहरूले राज्य गर्दथे । प्रसिद्ध विदेशी इतिहासकार कर्क प्याट्रिकका अनुसार “गलकोट एउटा ठूलो राज्य थियो र गलकोट नामको एउटाठूलो किल्ला थियो । यो गलवकोट चौबीसी राजहरू मध्य एक हो ।” गलकोटको शासक परिवर्तन हुने क्रममा वि.सं. १६३१ मा राजा प्रतापी नारायणले जेठो छोरा जितारी मल्ललाई गलकोट अंशमा भाग लगाइदिए । भोटसँग लडाइँ हुँदा गलकोटले नेपाल सरकारलाई सहयोग गरेको हुँदा खेत बकस पाएको भनाइ छ । गलकोटका अन्तिम राजा थिए– माधवबम मल्ल । दरबारमा सुतिरहेको राजा माधवबमलाई आँगनमा ल्याई घनले हानेर मारेको भनाइ सुनिन्छ । वि.सं.१८४४ मा गलकोट नेपालमा मिसिएको हो ।

घ्ुम्टे लेक, गाइघाट, झर्ना, निलुवा लेक, कोत मैदानजस्ता पर्यटकीय र धार्मिक स्थानले गलकोटको महत्व बढाएको छ । पहिलो आकर्षकको केन्द्रबिन्दु नै घुम्टे लेक हो । समुद्री सतहबाट १०, १९३ फिट अग्लो स्थानमा रहेको छ । वरिपरि प्राकृतिक हरियाली वनजङ्गलले सौन्दर्य बढाएको छ । जंगलमा बहुमूल्य जडीबुटी, बन्यजन्तु र विभिन्न थरिका बनस्पती रहेको छ । जैविक अनुसन्धानका लागि केन्द्रविन्दु बन्न सक्छ । चैत्र र बैशाखमा जंगलभरि फुलेको राताम्य लालीगुराँसले पदयात्रा आनन्द दायी हुन्छ । यहाँ सिद्धेश्वर मन्दिर छ । श्रीपञ्चमी र जनैपूर्णिमाको दिन ठूलो मेला लाग्ने गर्दछ ।

गलकोट डाँडाबाट तल झरेपछि पुरानो बस्ती भेटिन्छ । जुन बस्तीलाई हटिया बजार भनिन्छ । दैनिक उपभोग्य सामाग्रीहरूको खरिदबिक्री गर्ने केन्द्रको रूपमा विकास भइरहेको छ । बजारमा किनमेल गर्नेहरूको भिडभाड नै देखिन्छ । पसलहरूमा स्थानीय उत्पादन डोको, नाम्लो थुन्चे, कुचो जस्ता सामाग्रीहरूको खरिदबिक्री हुँदो रहेछ । पहिले पहिले कार्तिक पूर्णिमाको दिन हटिया बजारमा मेला समेत लाग्ने गर्दछ । नेवार र थकाली जातिको बसोबास बढी देखिन्छ । वातावरणको हिसाबले हावापनी स्वास्थ्यकर देखिन्छ ।

राजकुट ग्रामीण बस्तीमा पर्ने रमणीय स्थल हो । राजकुट पहिले छुट्टै गाबिस थियो । परिवर्तित संघीय संरचनाअनुसार राजकुट लगायत अन्य गाविस संयोजन गरी निसी खोला गाउँपालिका नामाकरण गरिएको छ । राजकुट सनसी खोला गापाको वडा.नं. ७ मा पर्दछ । कच्ची मोटर बाटो हुँदा राजकुटको यात्रा कष्टकर नै हुन्छ । मोटर चल्दाको अबस्थामा धुलो धूवाँले गर्दा कुहिरीमण्डल नै हुन्छ वातावराण । उच्च ठाउँमा रहेको हुँदा शीतलताको अनुभव हुन्छ । यस ठाउँ समुद्री सतह बाट १८९५ मिटरको उचाइमा रहेको छ । यहाँबाट वुर्तिवाङ लगायतका ठाउँहरूको दृश्य टड्कारो रूपमा देखिन्छ । गाउँबस्ती हिँड्ने ठाउँ साँघुरो छ । बाटोको दायाँबायाँ ढुङ्गाको पर्खालजस्तो लगाइएको छ । यस ठाउँ पहिले भुजेल जातिका राजाको राज्य हुँदा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेको छ । भुजेल राजाहरूको यस ठाउँमा अर्नाकोट रहेको भन्ने भनाइ समेत रहेको छ ।

गलकोट लगायत बागलुङमा धरै कोटहरू छन् । जस्तैः विहुकोट, उपल्लोकोट, वतल्लोकोट, संसारकोट, कारिकोट, बराङकोट, राङकोट, माझकोट, रायराँकोट । बागलुङको बिहुँकोट ऐतिहासिक तथा धार्मिक क्षेत्र हो । १६ औँ शताब्दीमा भारतका मुसलमान नेपालको जुम्ला हुँदै गलकोट राज्य आए घुमफिरकै क्रममा । गलकोटका राजासँग अनुमति लिएर मुलमानहरू घनाजङ्गलको बीचमा बास बसे । स्थानीयको सहयोेगमा बेलाकोदेवीको मन्दिर स्थापना गरे । त्यो ठाउँको नाम बिहुकोट राखे । बिहुकोट नजिकै दुईवटा कोट रहेछ उपल्लोकोट र तल्लोकोट । यी दुवै कोटमा मन्दिर रहेको छ । दुबै मन्दिरमा खड्ग र मूर्ति छ । दर्शनका लागि मन्दिर धाउँछन् सबै दिनजसो । यहाँ विजया दशमीको दिन ठूलो मेला लाग्दो रहेछ । मन्दिरमा पूजापाठ गर्न छुट्टाछुट्टै पूजा सामाग्री लगिन्छ । बिहुँकोटको माथिल्लो भागमा रामकोट रहेको छ । यहाँ त्रिपुश्वेर महादेवको मन्दिर स्थापना गरिएको रहेछ । यहाँ वेदध्वनि र पूजापाठ गरिन्छ ।

त्यस्तै यहाँ एक संस्कृत पाठशाला समेत सञ्चालन गरेको रहेछ । बागलुङ नपाको वडा नं.७ मा संसारकोट रहेको छ । समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको संसारकोट बागलुङ नपा, काठेखोला गाउँपालिका र बेनी नपाको संगम स्थल रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण संसारकोटबाट धौलागिरि, माछापुच्छ्रे जस्ता हिमाली श्रृंखला र बागलुङ, पर्वत, म्याग्दी, कास्की, स्याङ्जा र गुल्मी लगायतका स्थानहरूको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पोखरी र चौताराजस्ता पुराना बस्तुले यस ठाउँको गरिमा बढाएको छ । आवश्यक पूर्वाधार निर्माण गर्न सकेमा संसारकोट पर्यटकीय क्षेत्रको थलोको रूपमा विकास गर्न सकिन्छ । त्यस्तै, मालिका गाउँमा सुन्दर कारिकोट रहेको छ । समुद्री सतहबाट ४५०० मिटरको उचाइमा रहेको ऐतिहासिक कारिकोट प्राकृतिक सौन्दर्यको खानी नै हो । घनाजंगलमा सल्लाका अनगिन्ती रूखहरू छन् । गर्मी यामको समयमा पहिले भुरे राजा यहाँ बस्दथे भनिन्छ । खड्गदेवीको मन्दिर यहाँको प्रसिद्ध धार्मिक केन्द्रको रूपमा रहेको छ । विजया दशमीको समयमा मनोइच्छा प्राप्तिका लागि पूजापाठ र दर्शनका लागि यहाँ आउनेहरूको भीड नै लाग्छ । यहाँ कोटघर पनि रहेको छ । जुन भग्नवशेषमा परिणत भएको छ । पुराना हातहतियारहरू कोटघर वरिपरि खनजोत गर्दा भेटिएको स्थानीयको भनाइ रहेको छ । वि.सं. १८४३ मा पर्व राज्य नेपालमा गाभेपछि कारिकोटमा मुकाम समेत राखिएको रहेछ ।

ढोर पाटन बागलुङ जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा लिइदै आएको छ । चारैतिर पहाडले घेरिएर बीचको भाग थलीको रूपमा रहेको छ । बागलुङ बजारबाट पाँच घण्टाको यात्राबाट पुगिन्छ – ढोर पाटन, ढोर पाटनको किम्बदन्ती फरक फरक रहेको पाईन्छ ।

उत्तरगंगाले त्यस ठाउँलाई ढोर बनाएर बनेकोले बँदेलले आएर खन्ने जोत्ने ग¥थ्यो त्यसै भएर, ढोर सल्लोको भित्री भाग खुकुलो हुनाले आदि मत रहेको पाइन्छ । समुद्री सतहबाट ३०४९ मिटरको उचाइमा रहेको हुँदा प्रायःजसो समय चिसो रहन्छ– वातावरण । यहाँ असोजदेखि फागुन महिनासम्म हिउँ पर्ने गर्छ रे । ढोरपाटनमा प्रायःजसो दलित जातिको बसोबास रहेको छ । यी जातिको पाँच घरधुरी रहेको छ । दलित जातिको अलवा मगर, थकाली, गुरूङ जातिको पनि बसोबास रहेको छ । त्यस्तै तिब्बती शरणार्थीहरूको पनि यहाँ बसोबास छ । त्यस्तै तिब्बती शरणार्थीहरूको पनि यहाँ बसोबास छ । यिनीहरू डोल्पा हुँदै ढोरपाटनमा आएको बताइन्छ । यहाँको मुख्य आम्दानीको स्रोत भनेको नै कृषि हो । यस क्षेत्रमा आलु, सस्र्युं, जौ, मकै आदिको खेती गर्छन् । यसै गरी गाई, भैँसी, चौरी, भेडा, बाख्रा, घोडा आदि जनावरहरू पाल्छन् ।

यहाँ उत्तर फर्केको खोला छ । जसलाई उत्तरगंगा भनिन्छ । यो खोला ढोर खोलामा मिली सानो नदीको रूपमा बग्ने गर्दछ । धेरैजसो भूभाग वनजंगलले ढाकेको छ । यस जंगलमा १३० प्रजातिका चराचुरूङगी १८५ जातका दुर्लभ बनस्पति र नाउर झारल, चितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, लंगुर, मृग आदि जनावरहरू रहेका छन् । उच्च ठाउँबाट हेर्दा कास्की, म्याग्दी, गुल्मी, पाल्पा, रूकुम आदि जिल्लाका केही भूभाग र चुरेन पठा, गुर्जा, सिस्ने, माछापुच्छ्रे, नीलगिरि, धौलागिरि, अन्नपूर्ण जस्ता हिमालका दृश्यहरू टड्कारो देखिन्छ । नेपालको पहिलो शिकार आरक्षण यसै ठाउँमा छ ।

नेपाली सेनाको संरक्षकत्वमा रहेको आरक्षण वि.सं. २०३५ मा स्थापना भएको हो । धौलागिरि हिमश्रृंखला, बागलुङ, म्याग्दी र मुगु जिल्लाका केही भूभाग समेटिएर बनेको छ आरक्षण क्षेत्र । आरक्षण क्षेत्र समुद्री सतहबाट २,८५० देखि ५५०० मिटरको उचाइसम्म रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले प्रतिस्पर्धाको आधारमा छानिएका संस्थाहरूलाई सिकार खेल्नका लागि अनुमति दिन्छ । शिकार खेले बापत एउटा झारलको रू १३ लाख र एउटा नाउरको रू ८,७५,०००।– नेपाली रूपैयाँ लिने गरिन्छ । शिकार खेल्नका लागि हात हतियार शिकारी आफैले व्यवस्था गर्नुपर्ने हुन्छ । आरक्षणका लागि छ वटा ब्लगको ब्यबस्था गरिएको छ । जस्तैः फागुने, सेङ, दोगाडी, वर्षी, सुनदह रु धुस्तुङ । यी ब्लगहरू मध्ये सुनदह टाढा रहेको हुँदा शिकारीहरू कमै जाने गरेका छन् । त्यहीँ गई शिकार गर्दा खर्च पनि बढी लाग्ने देखिन्छ । शिकार गर्न दुई समयको तोकिएको छ, असोज १५ देखि मंसिर १५ र माघ १५ देखि बैशाख १५ गतेसम्म । शिकार गर्दा पोथी नाउर र झारललाई मार्न पाइँदैन । मारिएका शिकारको शिकारीले सिङ र छाला मात्र लान पाउने रहेछ । शिकार गर्न अमेरिका, दक्षिण अमेरिका, जर्मनी, क्यानडा, स्पेन जस्ता मुलुकका नागरिकहरू आउने गर्दछन् । शिकारीहरू ढोरपाटन आउँदा हेलिकप्टरमा आउँछन् । यहाँ हेलिकप्टर का लागि सानो भएपनि विमानस्थल निर्माण गरिएको छ । जुम्ली राजा र भोटे राजा बीच लडाइँ भएको भूमिस्थल भएकोले यस ठाउँलाई ऐतिहासिक स्थलको रूपमा लिने गरिन्छ ।

बागलुङ बजारदेखि सातकोश पश्चिम दमेकामा गाँजाको दह रहेको छ । भूगोलको हिसाबले लेकमा पर्ने यस क्षेत्र समुद्री सतहबाट ९०५० मिटरको उचाइमा रहेको छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, मकालु, अन्नपूर्ण जस्ता हिमालु टाकुराको दृश्यावलोकन गर्न पाइन्छ । दह गोलाकार खाल्टोमा रहेको छ । दह पानी कहिले पनि नसुक्ने रहेछ । ताल वरिपरि गाँजाको बोट प्रशस्त उम्रेको देखिन्छ । धार्मिक ग्रन्थमा गाँजालाई शिवजीको बुटीको रूपमा लिइन्छ । दहको वरिपरि लालीगुराँस, सेतोगुरास, अंगेरी चाप, खुर्प जस्ता बोट विरूवा देखिन्छ । जङ्गलमा जङ्गली जनावर र पन्क्षीहरू प्रशस्त रहेका छन् । पहिले तालमा खसेको पात पतिङ्गर राजाहंसले चुच्चाले टिपेर पाखा राखी दिन्थ्यो भनिन्छ । दहको नजिक ढुङ्गा गाडिएको छ । पर्वत र पाल्पाको सिमाना छुट्याउने ढुङ्गानाको रूपमा लिइन्छ । गलकोट राज्य शासन कालमा वातावरणीय हिसावले उपयुक्त रहेको हुँदा राजारानी आएर बस्नका लागि ताल नजिकै दरबार बनाइएको थियो ।

सत्ययुगमा शिव–पार्वती यसै दहमा आई हातखुट्टा चोपल्ने गर्दथे भनिन्छ । तालनजिकै पर्यटकहरूको बसोबासका लागि विश्राम स्थल समेत निर्माण गरिएको छ । चतुर्दशीका दिन यहाँ मेला लाग्ने गर्दछ । मेलाको दिन हाट बजार समेत लाग्दछ । त्यस बेला स्थानीय घरेलु उत्पादनको खरिद बिक्री हुने रहेछ । यस तालको बारेमा स्थानीय स्तरमा धार्मिक कथन पनि जोडिएको छ । तालमा परापूर्व कालदेखि नै नागहरूको बसोबास थियो । एक दिन नागराजा मान्छेको भेसमा गलकोट राज्य घुम्न निस्केछ । गाउँमा सुन्दरी एक युवती घरको पिँढीमा बसिरहेको देखेछ । दुबैबिच बातचित गर्ने क्रममा प्रेम बस्न गएछ ।

केटाले विवाहको प्रस्ताव राख्दा केटी र केटीकी बूढी आमैले स्वीकारेर मिति तय गरेछन् । दलबलसहित केटा पक्ष जन्ती लिई दुलहीका घरमा आउँदा नागहरूको लावालस्कर बूढी आमैले देखिछन् । त्यो देखेर बेहोस भई उठ्दा दुलहीलाई लगिसकेछन् । केटा पक्षले धुमधामले दुलही भित्र्याएछ । आफ्नो छोरीको बिजोक हुने देखेर बूढीआमै झन डराउन थालिछन् । छोरीले ती आमैलाई आफ्नै घर लगिछन् । छोरीको घरमा सर्पैसर्प देखेर आत्तिन पुगेछिन् आमै । नागराजाले सुनचाँदी बहुमूल्य सामान साथमा दिई बू्ढी आमालाई पठाइएछ । छोरीको सम्झनाले सताएछ अनि गाँजाको दहमा गई रोइकराई गर्न थालिछन् । आफ्नी छोरीलाई भेषधारण गरी फसाएको हुँदा नागराजालाई बूढी आमैले सराप दिइछन् । अर्को जूनीमा पनि सर्प भएस् भनेर । तँलाई गरूडले खावोस् भनेर । तत्काल नागराज त्यहाँ आई बूढीआमैलाई सराप फिर्ता लिन अनुरोध गरेछ । बूढीआमैले ताल नजिकैको वनमा न्याउली चरी कराउन छाडेमा मात्र सरापको अन्त्य हुन्छ भनिछन् र देहत्याग गरिछन् । आजसम्म पनि न्याउली चरी वनमा कराएको सुनिन्छ ।

०००

बलेवा बस्ती बागलुङबाट १० कि.मी को दूरीमा पर्दछ । यहाँ बस्तीको विकास व्रmमिक रूपमा भएको छ । बलेवामा एक मात्र विमानस्थल रहेको छ । जुन विमानस्थल वि.सं २०२२ सालमा स्थापना भई सञ्चालन आएको थियो । २६ वर्षको अन्तरालमा नागरिक उड्यन प्राधिकरणले विमानस्थल सुचारु गर्न पहल कदमीको सुरूवात गरेको रहेछ । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि यो विमानस्थल कोशेढुङ्गा सावित हुनेछ ।

बलेवालाई चिनाउने भैरवस्थान मन्दिर प्रमुख हो । यो उच्च ठाउँमा रहेको छ । मन्दिरसम्म मोटरद्वारा पुगिन्छ । ढुङ्गैढुङ्गाले बारिएको मन्दिरजस्तो बनाइएको छ । शीलाद्वारा निर्मित भैरवको मूर्ति रहेको छ । पाठक थरका पुजारी पनि छन् । भैरवलाई बलिको रूपमा कुखुरा, बोका, राँगो काट्ने गरिन्छ । मनोइच्छा पूरा गर्दे वापत भाकल चढाउने गरिन्छ । पोखरा, बागलुङ, गुल्मी, म्याग्दी, पवर्त, स्याङ्जा जिल्लाबाट धर्मालम्बीहरू यहाँ आउने गर्छन् । विशेष गरेर भदौ महिनाको पहिलो मङ्गलबारको दिन यहाँ ठूलो मेला लाग्दो रहेछ । मेलाको समयमा यहाँ पाइला टेक्ने ठाउँमा पनि हुँदैन । प्रायजसो दर्शन गर्नेहरूले घरबाटै एकमाना चामलको पीठो बनाइएर मन्दिरमा ल्याउने र पकाएर रोट बनाइएर भैरवलाई चढाउने गरिँदो रहेछ । दर्शनार्थीका लागि मन्दिर हाताभित्र खानेपानी शौचालयको राम्रो व्यवस्था गरेको रहेछ ।

विश्वकै प्याराग्लाडिङका लागि उपयूक्र्त ठाउँ पोखरालाई लिने गरेको छ तर हाल बागलुङको बलेवालाई पनि उपर्युक्त ठाउँको छनौट गरिएको छ । सर्वप्रथम बलेवा महोत्सवमा बलेवामा प्याराग्लाडिङको थालनी गरेको रहेछ । हावाको जति र भूवनोट मिलेका कारणले नै बलेवा प्याराग्लाडिङको सही ठाउँ रहेछ । यो ठाउँ समुद्री सतहबाट १७६० मिटरको उचाइमा रहेको छ । बलेवाको नारायणस्थानमा रहेको विमानस्थलमा अवतरण गरिने छ । प्याराग्लाडिङ गर्दाको बखत बागलुङ पर्वत क्षेत्रका धौलागिरि, माछापुच्छ्रे जस्ता हिमश्रृंखलाकाको दृश्य देखिन्छ । यस खेललाई साहसिक खेलको रूपमा लिइन्छ । कम लगानी र तुरून्तै बढी लाभ पाइने भएकाले व्यवसायिक आकर्षण बढ्दो छ । पहिले पहिले विदेशीले मात्र रूचाउने यो खेल हाल स्वदेशीहरू पनि बढी आकर्षक हुन थालेको दलेखिन्छ ।

नेपाल भ्रमणमा आउने अधिकांश विदेशीहरू प्याराग्लाडिङमा रम्ने गरेको पाइन्छ । यो खेलमा सहभागी हुन २० देखि ३० मिनेटको लागि नेपालीलाई ६५०० र विदेशीलाई १०००० सम्मको रकम लाग्ने रहेछ । प्याराग्लाडिङ उडानका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति लिनु पर्ने रहेछ । नेपालमा ६५ वटा प्याराग्लाडिङ कम्पनीहरू दर्ता भएका छन् । तर ४० वटा जति सञ्चालनमा आएको रहेछ । प्याराग्लाडिङका लागि दक्ष पाइलटको आवश्यकता पर्दछ । दक्ष व्यवसायी प्याराग्लाडिङ बन्नका लागि दुई बर्ष तालिम गर्नु पर्दो रहेछ । पाइलट उत्पादनका लागि ब्लु एडभेन्चर र ब्लुस्काई फ्लाइड स्कूलले अनुमति पाएको छ । तालिमका लागि नेपालीका साथै विदेशी नागरिक पनि संलग्न छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायतका विश्वको उच्च हिमालबाट सफल प्याराग्लाडिङ गर्न सफल भएका सानु वानु सुनार हुन् । यिनैले तालिमदिने व्यवस्था गर्दै आएको छन् । विश्वमा प्याराग्लाइडिङको इतिहास हेर्दा सन् १९५० मा थालनी गरेको रहेछ । प्रथम विश्व युद्धमा पहिलो पटक सेनाले प्याराग्लाईडिङको प्रयोग गरेका थिए । प्याराग्लाडिङ नियमित रूपमा सुचारू भएको खण्डमा जिल्लाको पर्यटन क्षेत्रमा फड्को मार्ने निश्चित देखिन्छ ।

त्यस्तै, बलेवामा बञ्जीजम्प पनि छिट्टै गर्न पाइने देखिन्छ । बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने काली गण्डकी नदीमा बन्जिजम्पको थालनी गरेको रहेछ । बञ्जिजम्प र रिसोर्टका लागि एउटा कम्पनीले १६ करोड लगानीमा सञ्चालनमा ल्याउन लागेको रहेछ । कम्पनीका अनुसार निर्माण कार्य ८० देखि ८५ प्रतिशत सम्पन्न भएको दाबी गर्छन् । बञ्जीजम्प गर्न र्काली गण्डकी नदीको सतहदेखि २२८ मिटर उचाईमा रहने रहेछ । यो खेल पनि साहसिक खेलमा पर्दछ । यस खेलको थालनीले गर्दा पनि यस भेगमा स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन बृद्धि हुन्छ नै ।

भकुण्डे पहिले गाउँ विकास समिति थियो । अहिले बागलुङ नगरपालिका अन्र्तगत वडा नं.१० मा पर्दछ । बागलुङबजारबाट १० कि.मी. दूरीमा पर्दछ भकुण्डे । बागलुङ बजार र तित्याङजोड्ने लामो झोलुङगे पुल पार गर्दै भकुण्डे गाउँ  पूँगिदो रहेछ । झोलुङ्गेपुल २३५ मिटर लामो रहेको छ । चिसो हावाको स्पर्श गरिँदै भकुण्डे पुगिन्छ । समुद्री सतहबाट २१५० मिटरको उचाइमा रहेको भकुण्डेको वरिपरि बलेवा, तित्याङ, कालीगण्डकी बागलुङ बजारले घेरिएको छ । भकुण्डे विशेषतः पर्यटकीय स्थलको गन्तव्य रूपमा विकसित हुँदैछ । भ्यू टावर, बराह ताल, बाराही मन्दिर, होमस्टे, सङ्ग्रहालय र मगरजातिको कला, संस्कृतिलाई नजिकबाट नियाल्न स्वदेशी तथा विदेशी पर्यटकहरू यहाँ आउने गर्छन् ।

वि.सं. २०६८ बाट होमस्टे सञ्चालन गरिएको रहेछ । सञ्चालित होमस्टेमा २० देखि ३० जना सम्म अट्दो रहेछ । पर्यटकहरूलाई स्थानीयले फुलमाला र मगर जातिको संस्कृतिले स्वागत गरिन्छ । हरियाली वातावरण, सेवा सुविधाबाट सम्पन्न होमस्टेमा स्थानीय खानेकुराको परिकार खान पाइने रहेछ । जस्तै: आलु, भटमास, मकै, कोदोको ढिडो, कोदोको रक्सी, लोकल कुखुरा आदि । होमस्टेमा बस्ने पर्यटकहरूको मनोरन्जनका लागि मगर संस्कृति अनुसार सालैजो, झ्याउरे, ठाडो भाकाको गीतका साथै नृत्यहरू प्रदर्शन गरिन्छ । दृश्य अवलोकनका लागि भ्यूटावर निर्माण गरिएको छ । चार तलाको भ्यू टावर बाट नियाल्दा धौलागिरि, निलगिरि, अन्नपूर्ण, माच्छापुच्छ्रे हिमाली दृश्यका साथै सूर्याेदय र सूर्यास्त पनि देख्न पाइन्छ । भ्यूटावरको वरिपरि लालिगुराँसका बोटहरू बाक्लै रहेको छ । चैत–वैशाखमा लालीगुराँस फुलेको सिजनमा झनै यात्रा आनन्ददायी रहन जान्छ । हिमाली दृश्य हेर्नका लागि शरदऋतु उपयुक्त हुन्छ । मौलिक सस्ंकृति र परम्परा पहिचान जोगाउन सङ्ग्रहालयको स्थापना गरिएको छ । सङ्ग्रहालयलाई सरकारी तथा गैरसरकारी संस्थाहरूले सहयोग पुर्‍याउँदै आएका छन् । सङ्ग्रहालयमा मगर जातिको पहिचान झल्कने सामाग्री राखिएको छ । भकुण्डे गाउँमा घुमफिर गर्ने अर्को ठाउँ हो– बराह ताल । ८ रोपनी क्षेत्र रहेको बराह ताल गोलाकार रूपमा रहेको छ । बिच भागमा रूखहरूले गर्दा तालको सौन्दर्यता बढाएको छ । वरिपरि रेलिङले बारिएको तालमा पानीले भरिभराउ छ । तालको नजिक बाराही मन्दिर रहेको छ । मन्दिरमा वैशाख १ गते ठूलो मेला लाग्दो रहेछ । बागलुङ पोखरा, म्याग्दी, गुल्मी, रोल्पा, रूकुम जान सकिन्छ भकुण्डेबाट ।

गण्डकी प्रदेशको एउटा सुन्दर जिल्ला बागलुङ पहाड र हिमाली क्षेत्रमा विभाजित छ । बागलुङ जिल्लाको भूगोल, इतिहास, धार्मिक, सांस्कृतिक एवं पर्यटनको सेरोफेरोको अवलोकन र अनुभूतिले मनमा आनन्दको प्राप्ति भएको मैले अनुभूति गरेँ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ