महिलामाथि हुने हिंसा विरुद्धको १६ दिने अभियान
सन् १९६० मा डोमिनिकन गणतन्त्रको तत्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीवहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिलामाथि हुने हिंसाको रुपमा लिएर महिलावादिहरुले तिनै ३ दिदिबहिनी पेटिया, मिनर्भा र मारियाको सम्झनामा यस अभियानलाई अंग्रेजी वर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ ।
पछिल्लो समय हिंसाका घटनाहरूको अभिलेख बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले देशैभर विशेष अभियानका रुपमा मनाइदै आएको छ । नेपालमा अहिले महिला तथा बालबालिका सरोकारवालाको पहलमा मनाइँदै आइरहेको छ । महिला तथा बालिकामाथि हुने हिंसाका सम्बन्धमा राष्ट्रिय बहस पनि चलेको पाईन्छ । सहनशीलको पर्यावाची रुपमा महिला भएकै कारणले घरेलु हिंसा महिलाको इज्जत र प्रतिष्ठाको विषयमा मात्र सिमित भएको थियो । जसका कारण महिला अनेक प्रकारका हिंसा सहेर नै बसेका थिए ।
तर अहिलेको परिवर्तित समाजले खुलेरै बहस हुन थालेको छ । घरेलु हिंसालाई घरभित्र सिमित राख्नुहुन्न भन्ने मान्यता हाम्रो समाजमा विस्तारै हट्न थालेको छ । अन्तर्राष्ट्रिय गैरसरकारी र गैरसरकारी संघ/संस्थाहरु यस अभियानमा तदारुकताका साथ सक्रिय रहेका छन् ।
सेतो रिबन अभियान
महिला तथा बालिका हिंसाको विरूद्ध हुने पुरूषवर्गले गरिने एक्यबद्धताको अभियान स्वरूप लगाइने हो – सेतो रिबन।
सन् १९९१ मा केहि क्यानेडियन पुरूषहरुले यस अभियानलाई सुरु गरेका थिए । नेपालमा सन् २००६ देखि अन्तर्राष्ट्रिय नारी दिवसको दिन मार्च ८ मा सेतो रिबन अभियान सुरू गरिएको थियो । अहिले महिला र बालिकाप्रति हुने हिंसाविरूद्ध व्यक्तिगत वा संघ/संस्थागत रूपमा पुरूष तथा युवा वर्गबाट गरिने प्रतिबद्धता तथा अभियानलाई १६ दिने अभियानसँग जोडिएको छ ।
महिला तथा बालिका हिंसाको सन्दर्भमा पुरूषबाट आवाज उठ्दा हिंसा न्यूनीकरण हुने र सकारात्मक सन्देश जाने र घर, टोल, छिमेक, समाज हुँदै अन्ततः राज्यबाट महिला विरूद्धहुने हिंसा न्यनिकरण हुने भएकोले यस अभियानको सुरूवात भएको हो ।
अहिले महिला तथा बालिकाविरूद्ध हुने हिंसा रोक्ने अन्तर्राष्ट्रिय अभियानको रूपमा मानिदै आएको छ ।
प्रतिक्रिया