+
Search

ताजा अपडेट +

पपुलर +

साक्षरता र नेपाल

Education Nepal
डबली खबर
७ साल अगाडी

मेरी आमा जो निरक्षरको निर्जनता बाँचिरहनु भएको थियो, साक्षर भएपछि उहाँको जीवननै बदलिएको छ । अहिले पत्रपत्रिका पढ्न, मोबाइल चलाउन, फेसबुकमा आफन्तसँग कुरा गर्न कसैले सिकाईरहनु पर्दैन । आफ्ना नातिनातिनाहरुलाई समेत केहि सिकाउन सक्ने हुनुभएको छ उहाँ । जीवनको अर्को पाटो सुरु भएको र साच्चैनै जीवनमा ठुलै परिवर्तन भएको महसुस गरिरहनु भएको छ ।

एउटा समाज कति विकसित र सु-सँकृत छ भनेर नाप्ने कडी कुनै छ भने त्यो साक्षरता हो । मानव विकास र समाजको उन्नतिका लागि साक्षर हुनु कति महत्वपूर्ण छ त्यो भनिरहनु नपर्ला । वर्तमान युगमा मानवका लागि गाँस, बास र कपासभन्दा पनि अझै महत्वपूर्ण आवश्यकता साक्षर हुनु हो । अहिलेको युगमा एउटा मानिसले आफ्ना आवश्यकताहरु पुरा गर्नको लागि साक्षर हुनु नितान्त जरुरी छ । त्यति मात्र नभएर गरिबीको न्यूनीकरण गर्न, बाल मृत्युदर कम गर्न, जनसंख्याको उच्च वृद्धिलाई नियन्त्रण गर्न, लैंगिक समानतालाई बढावा दिनको लागि साक्षरता एउटा अचुक यन्त्र हो । हाम्रो जस्तो पछौटेपन अँगालेको समाजलाई छुटकारा दिलाउने यदि कुनै करिस्मा छ भने त्यो साक्षरता हो । साक्षरतामा यो क्षमता छ जसले देशकै प्रतिष्ठा उच्च राख्नसक्छ ।

हरेक वर्ष साक्षरता दिवस शिक्षा  प्राप्त गर्ने दिशामा व्यक्तिहरु क्रियाशिल हुन र आफ्नो परिवार, समाज र राष्ट्रको लागि जिम्मेवारी पुरा गरुन भन्ने हेतुले मनाइन्छ । यस वर्ष “समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार” भन्ने मूल नाराका साथ मनाइदैछ । नेपालमा हालसम्म ३८ जिल्ला मात्रै पूर्णसाक्षर जिल्ला घोषणा भएकोमा अझै ३७ जिल्ला पूर्णसाक्षर घोषणा हुन बाँकी छन । यसैबाट थाहा हुन्छ साक्षरतामा हामी कति पछि छौ ?

साक्षरताको “ग्लोवल मनिटरिंग रिपोर्ट“का अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि निरक्षर छन र धेरैको एकदमै न्यूनस्तरको साक्षरतासँग सम्बन्धित सीपहरू छन् । २१ औं शदिको प्रविधिमय यूगमा समेत हाम्रा धेरै बालबालिकाहरु अझैपनि विद्यालय जानबाट बन्चित छन र जसले विद्यालय जाने अवसर पाएका छन्, उनीहरुले पनि उचित शिक्षा पाउन सकेका छैनन् ।

नेपालको परिपेक्ष्यमा साक्षरता लागि आवश्यकीय प्रयासहरु त्यति सफल भएको देखिदैन । हरेक उमेर समुहका कोही न कोही असाक्षर वा निरक्षर हामी अझैँ पनि पाउन सक्छौ। वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ३४ प्रतिशत नेपाली निरक्षर छन । त्यसमध्ये १५ देखि ६० बर्ष उमेर समुहका करिब ४० लाख नागरिक निरक्षर रहेको सरकारी तथ्यांक छ । यद्यपि विभिन्नि सरकारी तथा गैरसरकारी संघसँस्थाहरुको रिपोर्टलाई आधार मान्ने हो भने नेपालको साक्षरता दर ९० प्रतिशतको हाराहारीमा पुगेको अनुमान छ । आगामी जनगणनाबाट यथार्थ के हो हामी सामुमा आउनेछ । सामान्य अक्षर चिन्नु र लेखपढ गर्न पाउनु, अंक र सामान्य गणितको ज्ञान हुन सबैको नैसर्गिक अधिकार हो । तापनि यी यावत कुराहरुमा हामी अन्य मुलुकको तुलनामा धेरै पछाडि छौ । तथ्यांकले जे बोले पनि वास्तविक निरक्षर पत्ता लगाई साक्षर बनाउनु सरकारको र हामी सबैको कर्तब्य हो ।

शिक्षा एक वरदान हो भने निरक्षरता एक अभिशाप हो । सत प्रतिशत साक्षर मुलुकको रुपमा विश्व मानचित्रमा उभिन नेपालले लिएका रणनीतिहरुमा निःशुल्क शिक्षा, प्रौढशिक्षा, प्रारम्भिक कक्षा पठन कार्यक्रम एवं बालिका शिक्षा प्रमुख रुपमा रहेका छन । तथापि यस क्षेत्रमा अझै धेरै प्रयास गर्नुपर्ने जरुरी छ ।

बिशेष गरी माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई यस प्रयासमा मूल प्रवाहिकरण गर्नुपर्ने देखिन्छ । प्रयोगात्मक परीक्षाको रुपमा विद्यार्थीहरुलाई साक्षरता अभियानमा समावेश गराउनुपर्छ । एक व्यक्तिलाई साक्षर बनाउदा विद्यार्थीमा के कस्तो सिपको विकास हुन्छ त्यसलाई सरकारीस्तरबाट लिइने एसईई परिक्षाको प्रणालीमा समावेश गराउंदा गराउदा साक्षरता दर निश्चित रुपमा बढने देखिन्छ । यस्तो अभियान विद्यालयतहमा मात्र नभएर माथिल्लोतहमा पनि लागु गर्दा साक्षरता दरले ठूलै फड्को मार्ने कुरालाई नकार्न सकिदैन ।

साक्षरताका लागि अझै धेरै गर्नुपर्ने छ । त्यो दिन कति महत्वपूर्ण होला जब सबै नेपाली साक्षर र शिक्षित हुनेछन र नेपाल पूर्ण साक्षर रास्ट्रको रुपमा विश्व मानचित्रमा खडा हुनेछ । हामी सबैले यस दिशामा भरपुर सहयोग दिनु पर्ने जरुरी छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ