२०८१, १४ बैशाख शुक्रबार

दलका प्रतिनिधिले मतपत्र हेर्ने निजामती कर्मचारीले मात्र गन्ने

    मंसिर २१ २०७४ १३:००

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर । प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन भएको नुवाकोटमा आज २१ गते साँझ पाँच बजेबाट मतगणना सुरु गर्न आवश्यक तयारी पूरा गरिएको छ ।

यही मङ्सिर १० आइतबार भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा खसेको मतको मतगणनाका लागि दोस्रो चरणको मतदानको मिति पर्खिएकाले आजको मतदानको समय सकिनेबित्तिकै मतगणना गर्न आयोगले दिएको निर्देशनअनुसार मतगणनाका लागि कर्मचारी व्यवस्थापन, गणनास्थलमा तारजाली, सीसीटीभी क्यामेराको निगरानीलगायतको व्यवस्था पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी यज्ञ पुरीले जानकारी दिए ।

मतगणनाका लागि आज बिहीबार बिहान जिल्लामा रहेका राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता निर्माण र मतगणना तयारीको सम्बन्धमा जानकारी दिन सर्वदलीय/सर्वपक्षीय बैठक आह्वान गरिएको उनले जानकारी दिए ।

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन भएको ३२ जिल्लाको ३७ निर्वाचन क्षेत्रमा दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र मतगणना गर्न दिएको निर्देशनअनुसार मङ्सिर २१ गते बिहीबार साँझ पाँच बजेलगत्तै मतगणना सुरु गर्न दिएको निर्देशनअनुसार नुवाकोटमा आवश्यक तयारी पूरा भएको छ ।

सीसीटीभी क्यामेराको निगरानीमा रहेको तारजालीले घेरिएको स्थानभित्र गणना गर्ने कर्मचारी बस्ने र दलका उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, पर्यवेक्षक, पत्रकार बस्नका लागि छुट्टाछुट्टै स्थान निर्धारण गरिएको छ ।

नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा तीन÷तीन स्थानमा मतगणना गर्न तारजालीले गणनास्थल सुरक्षित गरिएको, उम्मेदवार, प्रतिनिधि र मतगणनास्थलमा बसेका व्यक्तिको चरित्र निगरानी गर्न गणनास्थल र आसपासको क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गरिकाले मतगणनाको लागि प्रक्रिया सुरु गर्न व्यवस्थापनको पक्ष पूरा भएको सहायक निर्वाचन अधिकृत एवम् मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी यज्ञ पुरीले जानकारी दिए ।

निर्वाचन अधिकृत लोकजंग शाहको अनुसार मतगणना स्थलमा बस्ने प्रतिनिधि तथा अधिकारीहरूले मोबाइलमा कुरा गर्न तथा गणनास्थलबाट तोकिएको समयमा बाहेक बाहिर/भित्री गर्न नपाउने आचारसंहितासमेत बनाउन लागिएको छ ।

मतगणनाका लागि दुईवटा निर्वाचन क्षेत्रमा गरी एक सयभन्दा बढी कर्मचारी छनोट गरिएकाले उनीहरूका लागि हिजो बुधबार गणना गर्ने निर्देशिका, उत्पन्न समस्याको समाधानको तरिका, गणना गर्ने समयमा पूरा गर्नुपर्ने जिम्मेवारीलगायतका विषयमा अभिमुखीकरण प्रशिक्षण दिन लागिएको छ । गणनाको लागि निजामती कर्मचारीलाई मात्र समावेश गरिएको छ ।

नुवाकोटलगायतको जिल्लामा पहिलो चरणअन्तर्गत मङ्सिर १० गते भएको निर्वाचनपश्चात् मतपत्रसहितको मतपेटिका तीन घेराको सुरक्षा व्यवस्थापन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । जिल्लामा रहेको १ सय २९ मतदान स्थलमा कायम गरिएको २ सय ६० मतदान केन्द्रका मतपत्रसहितको मतपेटिकालाई सम्बन्धित प्रतिनिधिसभा सदस्यको क्षेत्रअन्तर्गतको निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको छ भने गणना पनि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तीन स्थानमा गर्न लागिएको छ ।

नुवाकोटमा २ सय ६० मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य प्रत्यक्षतर्फको फरक–फरक मतपेटिका र समानुपातिकको एकै मतपेटिका गरी ७ सय ८० मतपेटिका तीन घेराको सुरक्षा घेरामा भण्डारण गरिएको छ भने उम्मेदवारका प्रतिनिधिहरूले पनि मतपेटिका कुर्दै आइरहेका छन् ।

मङ्सिर १० गते भएको निर्वाचनमा नुवाकोटमा दुई लाख आठ हजार १ सय ९१ जना मतदातामध्ये एक लाख ३९ हजार ७ सय ६१ मतदाताले भोट दिएका छन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समयम मतगणनामा खटिएका कर्मचारीबाहेक दलका प्रतिनिधिले मतपत्र छुन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

यसअघिको निर्वाचनको समयमा मतपत्र नष्ट गर्ने गरेको पाइएकाले आयोगले यसपटक मतगणनास्थलमा कर्मचारी र दलका प्रतिनिधिबीच निश्चित दूरी बनाउन तारबार लगाउने र टेबुललगायत सामान राखेर दलका प्रतिनिधिले मतपत्र छुन नसक्ने व्यवस्था गर्न सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले जानकारी दिए ।

उम्मेदवार, निर्वाचन प्रतिनिधि अथवा मतगणना प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी अथवा मतगणनास्थलमा प्रवेश पाउने कुनै व्यक्तिलाई मतगणनास्थलमा प्रवेश गर्न दिनुअघि अनिवार्य रूपमा सुरक्षा जाँच गरेर मात्र प्रवेश दिने व्यवस्था गर्न आयोगले मुख्य निर्वाचन, अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मतगणनासम्बन्धी समाचार सङ्कलन, सम्प्रेषणका लागि मतगणनाको दृश्य खिच्न चाहने सञ्चारकर्मीलाई मतगणना कार्यको व्यवस्थापन र सुरक्षा व्यवस्था कायम गर्न बाधा नपर्ने गरी मतगणनास्थलको निश्चित दूरीबाट मतगणनाको दृश्य खिच्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
मतगणना गर्नेबाहेक व्यक्तिले मतपत्र छुन नपाउने गरी उच्च सुरक्षा प्रबन्ध मिलाइएको छ ।

सुरक्षाको दृष्टिकोण र आवश्यकताअनुसार मतगणनास्थलमा सीसीटीभीको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ । मतगणनाका क्रममा मतान्तर बढ्दै जाँदा गणना नै रोकिने हो कि भन्ने आशङ्का रहे पनि सकेसम्म समन्वय गरेर अघि बढ्ने र गणनामा सबै दलका प्रतिनिधि नभए पनि आयोगले गणना अघि बढाउन सक्ने पनि जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top