२०७८, १ बैशाख बुधबार
Bidur Tax Consultancy Service

एमाले-माओवादी एकताः “बोल्ड” होला कि “न्यूड” ?

डबली खबर     आश्विन २० २०७४ २०:४५


Trishuli Web Design Services in Nuwakot

देश ‘अनेकता’मा ‘एकता’को विष्मयकारी रंगमन्चमा छ । नवरात्रीका रातहरुमा पटांगिनीमा के के पाक्यो ‘गिद्दे एकादशी’मा देशमा प्रलयकारी समाचार प्रवाह भयो । चुनावी तालमेलको मञ्चबाट ध्रुवीकरण, केन्द्रीकरण र एकता अभियानको विष्मयकारी घोषणा आउँदै गर्दा दर्शक तिहारको छेकोमा पाक्न लागेको सेलरोटी सम्झिएर झैं बुरुकबुरुक गर्दै थिए । यो तापले विपरीत ध्रुवमाथि जबरजस्त चाप उत्पन्न र प्रवाह गरिसकेको छ । बहसले सीमापार गरिसकेको तरंग उठ्न मात्र बाँकि छ ।

अतः दुबैको लिखत नै एउटै आशयको भइसकेपछि कार्यगत एकता हुनु पनि अचम्म होइन । झन् एकीकरण नै भए उत्तम । तालमेल, एकता वा एकीकरण कर्कलाको पानी वा हाइड्रोजन भरिएको गुब्बारा भइदिएन भने समाजवादी गठबन्धनको उत्कृष्ठ प्रयास चाँहि हुन्छ । यद्यपि, राजनीतिलाइ जुंगा र चित्तले बढी “गाइडेट” गर्ने हाम्रो अभ्यासमा एउटै हाच्छिउँ नै तासको घर खण्डहर बनाउन पर्याप्त हुन्छ । र, दन्तहर्ष कम भइदियो वा कलुषित जीब्रो बढी उत्ताउलो भएन भने यो हावाले गति पाउँछ । नत्र नियतिमा अगति ल्याउन घरभित्रैका बिभीषण र लंकाका रावण त छँदैछन् ।आधा दशकअघि सहकर्मी सुनिल कोइरालाले माउन्टेन टेलिभिजनको प्रत्यक्ष टेलिफोन संवादमा हेटौंडा कुम्भमेलाको सन्देशबारे  सोध्नुभएको थियो । साइबर कोठामा हतारमा टाउकोमा हेडफोन राखेर मैले दिएको जवाफ थियोः “नीति विचार र कार्यक्रमलाइ अनेक बुँदा र फुँदामा जोडिए पनि वामपन्थी उग्रताबाट संसदीय समाजवादी सन्तुलनमा बिचरण गर्नु महत्वपूर्ण पक्ष हो । अस्त्र र संघर्षको घर्षण र टकरावलाइ आर्थिक नीति र कार्यक्रमको लेपन गर्दा सिद्धान्ततः माओवादी र एमालेबीच तात्विक अन्तर नखोज्दा हुन्छ । पदावली जे दिए पनि एउटा धारमा चल्तीमा रहेको जबज नै तत्कालको लागि महाधिवेशनले तय गरेको प्रस्थानबिन्दु हो।”

विचारको जग एउटै भएपछि घर बलियो हुने एउटै सुत्र बाँकि रहन्छः हामी चाइनिज ईंट्टा प्रयोग गर्छौ कि दक्षिणको अनि पार्टीका डकर्मीहरुले घरको खाका अनुसार तार, जाली बाँधेर विचारको काँटी ठोक्न सक्छन् कि सक्दैनन् । उपाध्यायको औडाहा, अमरेशको अशान्ति वा देउवाको दुबिधा बजारिया खेति मात्र हुन् । मोदीको मनको बातको अड्कल गरेरै ताली बजाउन शुरु गर्नेहरु पहिलो प्रहरमै देखिनु अनर्थ होइन । लडाइ जितियो भनेर हतियार उँधोमुन्टो लाउन नभ्याउँदै दुश्मनको दुश्चक्रमा परेर हताहत भएका धेरै कमाण्डरको कथाका पाठक हौं हामी । त्यसैले आतशबाजी गर्नुअघि आकाश सफा छ कि छैन पनि हेर्नुपर्छ । नत्र कुहिरो वा बादलमुनी उभिएर आतशबाजी गर्नुको स्वाद आउँदैन ।

खासमा कुरो विचारधाराको हो । जसरी कुनैबेला एमाले विचारधारात्मक गतिहिनताको शिकार भएको थियो त्यही नै अवस्था वा घुम्तीमा अहिलेको माओवादी केन्द्र छ । र, साम्यवादी आदर्शको पसलमा म जति नै “गैर-माओवादी” हुन्छु भनेर समृद्धिको सपना बाँडे पनि नयाँ शक्ति पनि त्यही विचारधारात्मक शून्यताको जालोमा जकडिएको विदितै छ । “म दाहिने पनि होइन र देब्रेमा अडिन पनि सक्दिन” भन्ने अवस्थाबाट गन्तव्यहीन शयर गरिरहनुभन्दा कित्ताकाट भएरै एकता प्रक्रियामा उभिनु बाबुराम भट्टराइको लागि पनि सही हुन्छ । किनकि, भोलिको दिनमा घनश्याम भुषालसँग बाबुराम भट्टराइको “ट्यूनिंग” मिल्यो भने “खिचडीको स्थानमा थोक परिकार” आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । यो अवस्थामा नेपालमा साम्यवादी खोल ओडेको दुइवटा विचारधारा जुन आपसमा विपरीत हुन्छ, बाँकि रहन्छ । अतः विचारधारात्मक रुपमा मोहन बैद्यहरुले पनि पार्टी विघटन घरी “कि घरको कि घाटको” बाटो छोट्याउँदा हुन्छ । र, पित्तलको कराहीमा तयार हुन लागेको  हलुवामा बालुवा हालेर ल्यांगल्यांग गरिरहनु भन्दा मातृका यादव, गोपाल किराँतीहरुले पनि “कि यता कि उता”को बाटो तताए हुन्छ ।

कार्यक्रमको मञ्चबाट पुष्पकमल दाहालले ‘एक्काइसौं शताब्दीको समाजवादको मोडेल प्रस्तुत गरेर विश्वलाइ सन्देश दिन खोजेको’ चाहना ब्यक्त गरे । एकता प्रक्रियामा होमिएर उनले आजसम्मका सबै ‘क्रमभंग’लाइ जुवाको खालमा दाऊ राखेका छन् । दाहालको यो गतिशीलता धरापमा पर्दा नेपालको राजनीतिक गतिशीलताको ‘आइकन’ बन्ने उनको एउटा सपना सधैंका लागि सकिन्छ । र, स्वार्थको तरबारमा राखेर एकता प्रक्रियामा बहालवाला एमालेले जालझेल गर्दा त्यसको मूल्यको हिसाब मेरो अनुमानमा सबैले गणितको ‘फर्मुला’भन्दा माथि गएर गरिसकेका छन् ।

देशको जन्मकुण्डलीमा दुइतिहाइ बहूमतको वामपन्थी सरकारको भविश्य देखेको बताउँदै केपी ओलीले ‘स्लिपिंग ट्याब्लेट’को व्यापार फस्टाइसकेको सूचना दिए । ओलीले यो सूचना लगत्तकै ‘राष्ट्रसंघको बडापत्र, असंलग्न आन्दोलन र स्वतन्त्र राष्ट्रको हैसियत’बारे बोल्दा ‘एक शब्द पछाडि नफर्कने’ वाचा बाँधे । अर्थात्, नाकाबन्दीको ‘साइड इफेक्ट’ र ‘ह्यांगओभर’ अझै बाँकि छ । एमालेको राष्ट्रवादको अजेण्डा कस्मेटिक हो वा अर्गानिक अब त्यसको अन्तिम परीक्षण पनि हुँदैछ । किनकि, विज्ञानले अवलम्वन गरेको पदार्थ, गति, चाप र घर्षणको नियमको सुत्र राजनीतिक रंगमञ्चको नयाँ पाठ्यक्रम बनेर आउँदैछ ।

मनको लड्डु घीऊसँग खान पाइन्छ । यो अभियान सफल भएको अवस्थामा नेपाली कांग्रेसले आफ्नो अहिलेको चरित्र र शैलीमा सुधार गर्नैपर्ने हुन्छ । आसन्न चुनावमा तीन प्रतिशतको हलोमा अड्किएर बिलखबन्दमा पर्नसक्ने भयमा रहेकाहरुलाइ पनि यो सन्देश ठूलो छ । यो अवस्थामा राजनीतिक स्थायित्वको परिकल्पना पनि सहज हुन्छ । तर धेरैपटक ‘बोल्ड सिन’को अपेक्षा गर्दा ‘न्यूड एण्ड कभरलेस पिक्चर्स’सँग साक्षत्कार भइसकेकाले सन्देह र संशय चाँहि बीसको उन्नाइस भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz


Top