पासाङ्ल्हामु राजमार्ग अन्र्तगतको राम्चे र मुलखर्कमा भत्किएको सडकको कारण रसुवा सदरमुकाम धुञ्चे पुग्न र यता आउनका लागि यात्रुहरुलाई समस्या भएको छ ।
खर्वा सुरु भएसंगै आएको पहिरो र हिलो बाटोका कारण यात्रुहरुलाई सास्ती भएको छ । साना बरावरी साधन देखि चीनबाट आएको सामाग्री ओसार्ने ठूला कन्टेनरको बढ्दो चाँप र भत्किएको सकडकका कारण कतिपय यात्रुहरुको बास पहिरोको बीचमा भइरहेको छ । एक लेनको उक्त सडक खण्डमा दुई तर्फी यातायातलाई आलोपालो गराउनु पर्ने र आर्थिक वर्ष सकिनै लाग्दाको समयमा बढ्दो आवातजावतका कारण सडकमा भिड लागेको छ ।
हिजोआज चार किलोमिटरको उक्त पहिरो छिचोल्नका लागी सवारी साधनहरुलाई कम्तिमा पनि १० घण्टा लाग्दै आएको छ । जसले गर्दा रसुवा जिल्लाको माथिल्लो भागमा रहेको नौं वटा गाउँ विकास समितिका नागरिकहरु प्रभावित भएका छन् । अझ सदरमुकाम धुञ्चेमा काम लिएर जाने तथा राजधानी सहित अन्य जिल्ला जाने यात्रुहरु समस्या पर्दै आएका छन् ।
माथिबाट झरिरहेको पहिरो समयमानै सफा गर्न नसकिएको कारण पहिरोमा ट्राफिकको चाँप बढेको ट्राफिक प्रहरी कार्यालय रसुवाका अर्जुन न्यौपानेले बताउनुभएको छ । उहाँले आफ्नो फेसबुक पेजमा नै लेखेर सडक सुचारु गराउनका लागि सम्वन्धीत अन्य सरोकारवाला निकायले देखाएको उदासिनता र बाटो सफा गर्ने साधनको अभावले यात्रुहरुले झेल्नु परेको सास्तीका विषयमा टिप्पणी गर्नुभएको छ ।
पहिरो क्षेत्रमा मोटरसाईकल जर्वजस्ती छिराउन सकिने र ठूलो जोखिम रहेको यात्रुहरुले बताएका छन् । बिहान मुलखर्कको पहिरोमा पुगेका यात्रुहरु साँझ मात्रै पहिरो पार गर्न सक्ने अवस्था अहिले रहेको छ । पहिरो भन्दा बारी र पारी पोल्ट्रि गर्नका लागि यातायातका साधन नभएका कारण हतारोमा रहेका यात्रुहरु पैदल हिड्नु पर्ने अथवा भाडाका साधन मगाएर हिड्नु पर्ने अवस्था रहेको बताइएको छ ।
झण्डै चार किलोमिटर सडकमा लाम लागेर अड्कीएका सवारी साधनहरु पहिरोको समेत जोखिममा रहेको बताइएको छ । माथीबाट बग्ने क्रम चलिरहेकोले यातायातका साधन त्यहाँ राखिराख्नु पनि जोखिम भएको चालकहरुले बताएका छन् ।
प्रतिक्रिया