-बटुकराम भण्डारी
घाँस काट्ने हँसिया धार नलाए त्यसले राम्रोसँग काट्दैन । खेतवारी खन्ने कोदालो, कोदालीलाई हरेक मौसममा पाइन हाल्नुपर्छ । बन्दुक चलाउनेले हरेक हप्ता आफ्ना हतियारलाई तन्दुरुस्त राख्न तेल लगाएर मोल्नुपर्छ । यदि यस्तो गरिएन भने ती हतियारहरूले आवश्यकता परेका वेलामा काम दिंदैन । काम नलाग्ने हुँदैछ जान्छन । भौतिक बस्तु जो एक पटक बनाए पछि यसको टिकाउ अवधि लामो हुन्छ भन्ने मान्यता राखिन्छ । मनवीय पक्ष ज्यादै संवेदनसील हुन्छ । मानवीय भौतिक पक्षको अवस्था विस्तारै परिवर्तन हुने क्रममले कार्यक्षमतामा सिथिलता आउने कुरा त छँदैछ, सँगसँगै मनोगत विचार, सोच, नयाँ विषयवस्तुलाई अपनाउने क्षमता आदि विषयमा पनि वाह्य वातावरण, बंशानुगत प्रभाव, दैनिक आहार विहार आदिले प्रभाव पारिरहेको हुन्छ । जसको कारण लामो समयका लागि जम्मा भएर रहेको विभिन्न सूचना, ज्ञान, सीप अवधारणा जे जति छन सवै विस्तारै मस्तिष्कबाट क्षयिकरण हुँदै गैरहेको हुन्छ । यसरी ज्ञानको क्षयिकरण रोक्न सम्वद्ध जनशक्तिलाई साँद लगाउनु, पाइन हाल्नु, मालिस गर्नु, उजेल्याउनु अत्यन्त जरुरी हुन्छ ।
हरेक नयाँ पुस्ता नयाँ पुस्तक हुन्, तिनलाई पढ्ने लिपिका बान्कि बनौट तरीका फरक हुन्छन । पुरानै बेद पढेको ढाँचाले त्यसलाई पढ्न सकिंदैन । यसका लागि नयाँ सीप, नयाँ अवधारण, नयाँ ज्ञान र नयाँ जाँगरको आवश्यकता पर्दछ । शिक्षक जसले वालवालिकालाई पढाउने गर्दा वालवालिकाले शिक्षकलाई पढ्छन भने शिक्षकले पनि वालवालिकालाई पढ्नुपर्ने हुन्छ यदि उसले वालवालिकालाई पढाउने हो भने । वालवालिकालाई पढाउन शिक्षक स्वयं धार लगाएको हतियार जस्तै, मालिस गरिएको बन्दुक जस्तै योग्य र तालिमप्राप्त हुनु जरुरी छ, अन्यथा झारो टार्ने काम मात्र हुन्छ । त्यसैले नयाँ शैक्षिक सत्र सुरु हुनेवेलामा शिक्षकहरूले तालिम लिनु अत्यावश्यक मानिन्छ । विश्वका हरेक मुलुकमा शैक्षिक सत्रको सुरुमा शिक्षकहरुलाई एकहप्ता सम्मको शैक्षणिक कार्यशालामा राखिन्छ । कार्यशालामा नयाँ विषयवस्तु, वार्षिक कार्यनिर्धारण, शैक्षणिक उद्देश्य निर्धारण र कार्यविधिका वारेमा छलफल तथा दिशानिर्देश गर्ने गरिन्छ । शिक्षकहरु परिमार्जित भएर शिक्षण व्रिmयाकलापमा संलग्न हुन्छन । जसले उनीहरुको तिखारीएको शारीरिक र मानोगत बलले वालवालिको सिकाइ गतिविधिमा पनि तीव्रता ल्याउँछ । नेपालमा पनि केही बर्ष पहिले यस्तो परम्पराको थालनी नभएको होइन तर अहिले यस परम्परालाई नियमितता दिन सकिएको छैन ।
केही सँघसँस्थाले शिक्षक तालिमको आवश्यकतालाई महशुस गरी शिक्षक तालिमलाई प्राथमिकतामा राखेको पाइन्छ । नेपालमा २०५६/५८ देखि नेपालको शिक्षा विकास तथा थप गुणस्तर कायम गर्न स्थापना भएको सँस्था रुम टु रिडले कार्यक्रम लागुभएका विद्यालयका प्रारम्भिक तहका नेपालीभाषा शिक्षकहरुलाई पुनर्ताजकी तालिम तथा नयाँ शिक्षकहरुलाई भाषा पढाइको पाँच तत्वमा आधारित तालिम प्रदान गरिरहेको छ । गत बैसाखमा मात्र १०८ जना शिक्षकले तालिम लिइसकेका छन भने अझै ३० जना कक्षा शिक्षकका लागि यसै जेष्ठ महिनामा पुनर्ताजकी तालिम दिने लक्ष कार्यक्रम रहेको छ ।
अन्तराष्ट्रिय स्तरमा भाषा शिक्षणमा आएको ह्रास तथा पाठ्यव्रmमले निर्दिष्ट गरेको उद्देश्य पूरा गर्न नसक्ने विद्यार्थीहरु पनि उदार कक्षोन्नतीका नाममा कक्षा चढाउँदै लैजाने प्रवृत्तीले वालवालिकाको सिकाइस्तर ज्यादै न्यून रहेकोले माथिल्लो कक्षामा पुगेपछि विद्यालय छाड्ने, तथा नियमीत विद्यालय नआउने प्रवृत्तीमा बृद्धि भएको छ । शिक्षक तालिमले विद्यार्थीहरुको तह अनुसारको सिकाइमा पूर्णता आउने र दिगो सिकाइ हुने हँदा वालवालिकाले पढाइको वीचैमा विद्यालय छाड्ने तथा माथिल्लो तहमा पुग्दा पढाइमा झनै वढी चासो बढ्ने देखिन्छ । तल्लो कक्षामा भाषाका उपयुक्त सीपहरु सीकेर आएका विद्यार्थीहरु माथिल्लो कक्षामा प्रवेश गर्दा झनै सक्षम हुँदै गएको हजारौं अनुसन्धानहरूले प्रमाणित गरेको छ । त्यसैलाई आधार मानेर नेपालको शैक्षिक रुपान्तरणमा अग्रणी कार्य गर्दै आएको रुम टु रिड नामक सँस्थाले नुवाकोटमा वालावालिकाको साक्षरता सीप विकासका लागि ग्रामीण विकास तथा शसक्तिकरण केन्द्र (रुडेक) लाई आफ्नो साझेदारी सँस्था बनाइ कार्य गरिरहेको छ । रुम टु रिड नामक सँस्थाले नुवाकोट जिल्लामा मात्र ६० वटा विद्यालयमा वालमैत्री पुस्तकालय स्थापना गरिसकेको छ भने यसै शैक्षिक सत्रमा पुन १८ विद्यालयमा प्राथमिक तहका वालवालिकालाई लक्षित गरी पुस्तकालय स्थापना गर्ने लक्ष राखेको छ ।
कक्षा कोठामा वालवालिकाले पढ्ने सीप सिक्दछन भने पुस्तकालका वालमैत्री पुस्तकहरुवाट उनीहरुमा पढ्ने वानीको विकास हुन्छ जसको परिणाम स्वरुप वालवालिकाहरु भविष्यमा स्वतन्त्र पाठक बन्दछन । यसै लक्षका लागि रुम टु रिडले कार्य गरिरहेको छ ।

प्रतिक्रिया