+
Search

ताजा अपडेट +

पपुलर +

सरसफाइ सचेतनाका लागि नुवाकोटमा विश्व शौचालय दिवसमा प्रभातफेरी

डबली खबर
५ मिनेट अगाडी

मङ्सिर ३, नुवाकोट । विश्व शौचालय दिवसको अवसरमा नुवाकोटमा सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतनामूलक प्रभातफेरी कार्यक्रम भएको छ।

विदुर नगरपालिका र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त आयोजना तथा नुवाकोट वास (खानेपानी, सरसफाइ तथा स्वच्छता) क्लस्टरको सहकार्य र केयर र गेर्खुटार युवा क्लबको समन्वयमा बिहीबार प्रभातफेरी निकालिएको हो।

विदुरचोकबाट सुरु भएको उक्त प्रभातफेरी बट्टार बजारसम्म पुगेर कोणसभामा परिणत भएको थियो।

समुदायमा सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र दिगो स्वच्छताको महत्त्वबारे आम नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रभातफेरीपछिको कोणसभालाई सम्बोधन गर्दै विदुर नगरपालिका वडा नं. ४ का वडाअध्यक्ष निलमबाबु ढुंगेलले सुरक्षित शौचालय र सरसफाइ मानव स्वास्थ्य तथा सभ्य समाजको आधारभूत आवश्यकता रहेको बताए । उनले नगरपालिकालाई पूर्ण सरसफाइयुक्त बनाउने अभियानमा स्थानीय सरकार, सरोकारवाला निकाय र नागरिक समाजको हातेमालो अपरिहार्य रहेकोमा जोड दिए ।

“खानु र लाउनु मात्र ठुलो कुरो होइन, त्यसभन्दा ठुलो हामी सुरक्षित र व्यवस्थित हुनु हो; आफू मात्र होइन, अरूलाई पनि सिकाउनुपर्छ र सहयोग गर्नुपर्छ” वडाअध्यक्ष ढुंगेलले भने।

वडाअध्यक्ष ढुंगेलले पछिल्लो समय अधिकांश घरमा शौचालय बनेसँगै रोगको प्रकोप घटेको र औसत आयुमा सुधार आएको धारणा राखे । सरसफाइप्रतिको चेतना अभिवृद्धि भइसके पनि कमजोर आर्थिक अवस्था तथा घरबासविहीन परिवारहरू अझै शौचालयको पहुँचबाट टाढा रहेको वडाअध्यक्ष ढुंगेलको भनाइ थियो ।

वडाअध्यक्ष ढुंगेललेशौचालय निर्माण गरिदिँदैमा समस्याको दीर्घकालीन समाधान नहुने औँल्याउँदै विपन्न परिवारको आर्थिक स्तर वृद्धि र जीविकोपार्जनमा समेत सघाउनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ