मङ्सिर ३ , नुवाकोट । तिलगङ्गा आँखा प्रतिष्ठान गौशाला काठमाडौं, तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोट र नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाको संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थानमा एकदिने बृहत् मोतियाबिन्दु छनौट शिविर सञ्चालन हुने भएको छ।
स्थानीय निकायहरूको संयोजकत्वमा आयोजना हुने उक्त शिविरमा आँखाका समस्या भएका बिरामीहरूलाई निःशुल्क परीक्षण गराई आवश्यक सेवा लिन आग्रह गरिएको छ।
शिविर आगामी मङ्सिर १४ गतेदेखि १८ गतेसम्म पाँच स्थानमा एक-एक दिनका लागि सञ्चालन हुनेछ।
मङ्सिर १४ गते सोमबार दुप्चेश्वर गाउँपालिका–७ शिखरबेसी स्वास्थ्य चौकीमा, १५ गते मंगलबार दुप्चेश्वर–४ पुरगाउँ सामुदायिक स्वास्थ्य इकाईमा, १६ गते बुधबार सूर्यगढी गाउँपालिका–५ गणेशस्थान माविमा, १७ गते बिहीबार सूर्यगढी–२ कुवापानीस्थित मंगलादेवी आविमा र १८ गते शुक्रबार शिवपुरी गाउँपालिका–१ शिवालय आविमा शिविर बस्ने कार्यक्रम तय भएको नेपाल रेडक्रस सोसाईटी नुवाकोटका मन्त्री उद्धव शर्मा रिजालले जानकारी दिए ।
शिविरमा निःशुल्क आँखा परीक्षण गरिनेछ भने आवश्यक परेका बिरामीहरूलाई निःशुल्क औषधी वितरण गरिने जनाएको छ।
त्यस्तै, आवश्यक परेकाहरूलाई सहुलियत दरमा चस्मा पनि उपलब्ध गराइनेछ। शिविरमा छनौट भएका मोतियाबिन्दुका बिरामीहरूलाई मङ्सिर २२ र २३ गते तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटमा तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टरद्वारा अपरेशन गरिनेछ। शल्यक्रिया ‘एसआईसीएस’ विधिबाट निःशुल्क र उकरणबाट सहुलियत दरमा गरिने व्यवस्था मिलाइएको केन्द्रका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिए ।