असोज १२, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीले नुवाकोट जिल्लाको पर्यटकीय तथा व्यावसायिक क्षेत्रमा क्षति पुगेको छ।
नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घको भोटेकोशी बाढीको क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदन अनुसार बाढीका कारण जिल्लाका विभिन्न भागमा रहेका ६० भन्दा बढी होटल तथा रेस्टुरेन्टहरूमा प्रत्यक्ष र गम्भीर क्षति पुगेको छ। यस प्राकृतिक विपत्तिमा परि हालसम्म २५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् । केही व्यक्ति अझै बेपत्ता रहेको सङ्घले जनाएको छ। सबैभन्दा विदुर नगरपालिका-१० का होटलमा मानवीय क्षति भएको उल्लेख छ।
विदुर नगरपालिकाका त्रिशूली नदी तटीय क्षेत्रमा रहेका साना तथा ठूला होटल व्यवसायहरू बाढीको प्रत्यक्ष चपेटामा परेको नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका संस्थापक अध्यक्ष तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिए । बाढीले होटलका भौतिक संरचना, कोठा, भान्छाका उपकरण तथा पाहुना राख्ने क्षमतामा ठूलो असर पुर्याएको छ। बाढीले गर्दा केही व्यक्तिहरू अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको उनले बताए ।
नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घका महासचिव रविन्द्र चालिसेका अनुसार भौतिक संरचना र आर्थिक नोक्सानीको हिसाबले बाढीले करोडौँ रुपैयाँको क्षति पुर्याएको छ। विदुर नगरपालिकाका क्षेत्रमा संचालित साना-ठूला खाजाघरदेखि सुविधासम्पन्न रिसोर्टसम्म सबै प्रभावित भएको उनले बताए ।
“नुवाकोट तथा रसुवाका टिमुरे, स्याफ्रुबेंसी, मैलुङ, बेत्रावती, सोले, त्रिशूली बजार, ढुंगे र देवीघाट बजारलगायत नदीतटीय क्षेत्रमा बाढीको प्रभाव परेको छ“, उनले भने “केही स्थानहरू बाढीपहिरोका कारण क्षतिग्रस्त भएतापनि अधिकांश स्थानहरू सुरक्षित छन् । त्यसैले गलत समाचार, अपूर्ण भिडियो तथा हतोत्साहित बनाउने सूचनाका कारण नुवाकोट भ्रमण गर्ने योजना रद्द नगर्नुहोस्। बाढीपहिरोबाट प्रभावित क्षेत्रको वास्तविक अवस्था अवलोकन गर्न आउनुहोस्, नुवाकोट घुम्नुहोस् र यहाँको पर्यटन तथा स्थानीय व्यवसायलाई साथ दिनुहोस्।”
आगन्तुक पाहुनाहरूको सुरक्षित बसोबास, खानपान तथा आवश्यक सहयोगका लागि सम्पूर्ण नुवाकोटवासी तथा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।
बाढीले होटलका कोठाहरूमा माटो र बगर भरेको छ भने फर्निचर, विद्युतीय उपकरण तथा खाद्यान्न सामग्रीहरू बगाएर नष्ट पारेको सङ्घका सचिव सुशील श्रेष्ठले जानकारी दिए । जसका कारण होटल व्यवसायीहरू सडकमा पुग्ने अवस्था सिर्जना भएको उनले बताए ।
बाढी प्रभावित क्षेत्रमा हाल उद्धार, राहत तथा पुनरुत्थानका कामहरू अघि बढाइए तापनि व्यवसायीहरूले सरकारसँग उचित क्षतिपूर्ति, राहत प्याकेज र व्यवसाय पुनःसञ्चालनका लागि तत्काल ऋण तथा सहायताको माग गरिएको सङ्घका सदस्य पवन नेपालले बताए ।