असोज ११, नुवाकोट । नेपालमा आधुनिक परियत्ति शिक्षाको ऐतिहासिक जग बसालेको नुवाकोटको विदुर नगरपालिका-१ त्रिशूलीस्थित ऐतिहासिक सुगतपुर विहार गत भदौ १० गतेको विनाशकारी बाढीका कारण पूर्ण रूपमा बगरमा परिणत भएको छ । बाढीले सिङ्गो बौद्ध समुदाय र नेपालको शैक्षिक इतिहासमै ठूलो बज्रपात पुर्याएको छ।
भोटेकोशी-त्रिशूली नदीको भयानक बहावले वर्षौँ पुरानो सांस्कृतिक विरासत, अमूल्य ऐतिहासिक दस्तावेज तथा पुरातात्विक महत्त्वका सम्पूर्ण संरचनाहरूलाई क्षणभरमै कटान गरी नामेट पारिदिएको छ।
वि.सं. २०१९ मा भिक्षु बुद्धघोष महास्थविरको वर्षावासका क्रममा स्थानीय उपासक-उपासिकाहरूलाई बौद्ध धर्मको शिक्षा दिन सुरु गरिएको यो भूमि नेपाल बौद्ध परियत्ति शिक्षाको जननीका रूपमा स्थापित थियो। धर्मरत्नको विशेष प्रस्ताव र भिक्षु बुद्धघोषको दूरदर्शिताबाट विकसित भएको पाठ्यक्रमसहितको परियत्ति शिक्षाको इतिहास यस विहारको भौतिक विनाशसँगै आज गहिरो शोकमा डुबेको छ।
प्राकृतिक विपत्तिले इँटा र माटोले बनेको भौतिक संरचनालाई बगाएर बगर बनाए पनि यस विहारले रोपेको ज्ञान र चेतनाको बिउ भने आज हरेक बौद्धमार्गीको मन र मस्तिष्कमा विशाल वृक्ष बनेर फैलिसकेको छ। भौतिक संरचनाहरू ढल्न वा मिट्न सक्छन्, तर सुगतपुर विहारबाट प्रस्फुटित भएको बुद्धको दर्शन, सदाचार र नैतिक शिक्षा मानिसहरूको जीवनपद्धति र संस्कार बनेर सदैव जीवित रहनेछ।
इतिहासको विभिन्न कालखण्डमा थुप्रै भिक्षुहरूले यस विहारमा बसेर ज्ञान बाँड्नुभएको थियो, जसमध्ये अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थविरको योगदान र आत्मीय सम्बन्ध झनै मार्मिक र विशिष्ट रहेको छ। सुगतपुर विहार भिक्षु मैत्री महास्थविरको कर्मथलो मात्र नभई उहाँको जन्मस्थान र बाल्यकालको साधना थलो पनि भएकाले यस भूमि र परियत्ति शिक्षासँग उहाँको गहिरो भावनात्मक एवं चित्तको नाता जोडिएको छ।
विहारको प्रत्येक कुना र माटोसँग स्थानीयवासी एवं बौद्ध धर्मावलम्बीहरूको आत्मीयता र भावनाको बलियो कडी जोडिएकाले यस विनाशपछि पनि मानिसहरूको आस्था अझ प्रगाढ बनेको छ। यही आत्मिक शक्तिलाई ऊर्जामा बदल्दै भन्ते मैत्रीले यस ऐतिहासिक र आत्मीय धरोहरलाई बगरबाट पुनः ब्यूँताउनका लागि एउटा दृढ अठोट र संकल्प लिनुभएको छ।
आफ्नो इतिहास र धर्म कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण समाजको साझा दायित्व भएकाले यस संकटको घडीमा सम्पूर्ण परियत्ति शिक्षा ग्रहण गर्नुहुने उपासक-उपासिका तथा बौद्धमार्गीहरूलाई ऐक्यबद्ध भई हृदयदेखि नै सहयोग गर्न हार्दिक आह्वान गरिन्छ।
प्राकृतिक विपत्तिले भौतिक स्वरूप खोसे पनि हाम्रो अटल आस्था र भन्तेको संकल्पमा हातेमालो गर्दै सुगतपुर विहारलाई पुनर्जीवन दिनु आज हामी सबैको परम कर्तव्य बनेको छ।