+
Search

ताजा अपडेट +

पपुलर +

वडावासीहरूलाई ६ सय थान इन्डक्सन चुलो हस्तान्तरण

600 induction cookers handed over to ward residents
डबली खबर
२ मिनेट अगाडी

साउन ११, नुवाकोट।  स्वदेशी उत्पादन र स्वच्छ ऊर्जाको उपभोगलाई प्रवर्द्धन गर्दै आयातित एलपी ग्यासमाथिको परनिर्भरता घटाउने उद्देश्यले स्थानीयस्तरमा अनुदानमा इन्डक्सन चुलो वितरण कार्यक्रमले तीव्रता पाएको छ।

विदुर नगरपालिका-२ को कार्यालयद्वारा अनुदानमा प्रदान गरिएको इन्डक्सन चुलो वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपक कायस्थलेआफ्नै देशमा उत्पादित बिजुलीको प्रयोग बढाउँदा एकातिर सर्वसाधारणको भान्सा खर्च घट्छ भने अर्कोतिर ग्यास खरिदका नाममा बर्सेनि बाहिरिने ठूलो धनराशी देशभित्रै जोगिन्छ। यसै कुरालाई मध्यनजर गर्दै नागरिकलाई बिजुलीबाटै खाना पकाउने बानी बसाल्न र आर्थिक रूपमा सबल बनाउन जोड दिएको छ । ग्यासको लगातार बढ्दो मूल्य र वैदेशिक निर्भरतालाई तोड्न ७० प्रतिशत अनुदान सहयोगमा यो इन्डक्सन चुलो वितरण गरिने कार्य सुरु गरेको उनले बताए ।

गत आर्थिक वर्षमा ५ सय थान चुलो बाँडिएकोमा यस पटक त्यसलाई बढाएर ६ सय थान इन्डक्सन चुलो वडावासीहरूलाई हस्तान्तरण गर्ने काम भइरहेको वडा अध्यक्ष कायस्थले जानकारी दिए ।

पहिलो र दोस्रो चरणमा चुलो पाउनबाट छुटेका इच्छुक घरधुरीहरूलाई पनि निराश नहुन आग्रह गर्दै वडा कार्यालयले नागरिकताको प्रतिलिपि र सम्पर्क नम्बरसहितको विवरण सङ्कलन गरी आगामी चरणमा समेट्ने वडा अध्यक्ष कायस्थले प्रतिबद्धता जनाएको छ। यो सहुलियतपूर्ण कार्यक्रमले गर्दा गाउँ-घरमा विद्युतीय चुलोप्रतिको आकर्षण र उत्साह निकै बढेको पाइएको छ।

वडा अध्यक्ष कायस्थले स्वदेशी बिजुलीको प्रयोगलाई अझ व्यापक र सर्वसुलभ बनाउनका लागि विद्युत महसुलमा लाग्दै आएको करबारे पुनर्विचार गर्न सरकारसँग जोडदार माग गरिएको छ। आफ्नै मुलुकमा पर्याप्त बिजुली उत्पादन भइरहेको अवस्थामा उल्टै महसुलमा अतिरिक्त कर वा भ्याट थपेर सर्वसाधारणलाई भार पार्नु उचित नहुने भन्दै उक्त कर पूर्ण रूपमा हटाएर बिजुली अझ सस्तो बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। विद्युतीय उपकरणको प्रयोगलाई हरेक भान्सासम्म पुर्‍याएर विदेशी ग्यासलाई पूर्ण रूपमा विस्थापन गर्न सके राष्ट्रिय अर्थतन्त्र बलियो हुने र आम नागरिकको दैनिक जीवनयापन पनि निकै सहज एवं किफायती हुने वडाले विश्वास लिएको वडा अध्यक्ष कायस्थले बताए।

सरकार र स्थानीय उपभोक्ताको संयुक्त सहकार्य तथा साझेदारीमा अघि बढाइएको यस कार्यक्रमअन्तर्गत बजारमा करिब ४ हजार २ सय रुपैयाँसम्म पर्ने गुणस्तरीय इन्डक्सन चुलो उपभोक्तालाई ३० प्रतिशत रकम अर्थात् मात्र १ हजार २४० रुपैयाँमा उपलब्ध गराइएको वडा सदस्य रन्जनकुमार थापा मगरले जानकारी दिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ