साउन ९, विदुर । नुवाकोट स्थायी घर भएका युवा गायक सुनिल थापा मगरको नयाँ गीत ‘सोल्टिनी सेवारो’ सार्वजनिक भएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जाल तथा डिजिटल संगीत प्लेटफर्महरूमा सकारात्मक प्रतिक्रिया बटुल्दै चर्चा कमाउन थालेको छ।
राई–लिम्बू समुदायको सांस्कृतिक परिवेश, प्रेम र आत्मीय सम्बन्धलाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा एनिश एन्जल राईको शब्द तथा संगीत रहेको छ। मायाप्रितीका भावनालाई मौलिक लोकभाकासँग संयोजन गर्दै गायक सुनिल थापा मगरको सुमधुर स्वरमा गीत प्रस्तुत गरिएको छ।
गीतको संगीत संयोजन राजु कार्कीले गरेका छन्। गीतको रेकर्डिङ ड्रिम्स रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले सम्पन्न गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ प्रकाश केसीले गरेका छन्। प्राविधिक पक्ष, ध्वनि गुणस्तर तथा संगीत संयोजनका कारण गीतले संगीतप्रेमीबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
‘सोल्टिनी सेवारो’ प्रेमका भावनामा मात्र सीमित नरही राई–लिम्बू समुदायको मौलिक संस्कृति, रहनसहन र परम्परालाई समेत उजागर गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। शब्द, संगीत र स्वरको सशक्त संयोजनले समकालीन युवा पुस्ताको भावना अभिव्यक्त गर्न सफल भएको संगीतकर्मीहरूको विश्वास छ।
गीतको म्युजिक भिडियो मकवानपुर जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा गायक सुनिल थापा मगर स्वयं मुख्य भूमिकामा देखिएका छन् भने अभिनेत्री रेबिका मगरले उनको साथ दिएकी छन्।
भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका छन्। छायांकन तथा ड्रोन सञ्चालन सन्जोक श्रेष्ठ, निर्माण व्यवस्थापन योगेश राना मगर, मेकअप प्रिया मगर, तथा निर्देशन, सम्पादन (करेक्सन) र कलर ग्रेडिङ एकान्त मगरले गरेका हुन्।
नुवाकोटबाट नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएका गायक सुनिल थापा मगरका लागि ‘सोल्टिनी सेवारो’ अर्को महत्वपूर्ण सांगीतिक कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ। मौलिकता, सांस्कृतिक स्वाद र आधुनिक प्रस्तुतीकरणको समिश्रणले गीतले आगामी दिनमा थप लोकप्रियता हासिल गर्ने संगीतप्रेमीहरूको विश्वास रहेको छ।

प्रतिक्रिया