२९ वैशाख, नुवाकोट । नेपाली पर्यटन क्षेत्रका नेतृत्वकर्ता तथा दूरदर्शी व्यवसायी सुमन पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन जगतको सर्वोच्च सम्मान प्राप्त गरेका छन् ।
प्रशान्त क्षेत्र पर्यटन संघ (पाटा) इन्टरनेसनलले पाण्डेलाई दक्षिण कोरियामा हालै सम्पन्न भव्य वार्षिक साधारण सभाका अवसरमा पाण्डेलाई संस्थाको सबैभन्दा मर्यादित पद ‘आजीवन सदस्य’ बाट सम्मानित गरेको हो ।
पाटाको सात दशक लामो गौरवशाली इतिहासमा आजीवन सदस्यता पाउनुलाई असाधारण उपलब्धिको रूपमा हेरिन्छ । यो सम्मान पाटामा दशकौँसम्म निस्वार्थ सेवा गर्ने र विश्व पर्यटनको मानचित्रमा अतुलनिय छाप छोड्न सफल विशिष्ट व्यक्तित्वहरूलाई मात्र प्रदान गर्ने गरिन्छ ।
यो सम्मान प्राप्त गरेसँगै पाण्डे अब पाटाको उच्चतम सल्लाहकार परिषद्को सदस्य समेत बनेका छन् । संस्थाको नीति निर्माण र विश्वव्यापी रणनीति तय गर्न अब उनको भूमिका थप निर्णायक हुनेछ । विशेषगरी पर्यटन क्षेत्रमा असाधारण योगदान पुर्याउने र लामो समयसम्म नेतृत्वदायी तहमा रहेर संस्थालाई मार्गनिर्देशन गर्ने व्यक्तिहरूका लागि मात्र यो सम्मानको ढोका खुल्ने गर्दछ । पाण्डे विगत ६ वर्षदेखि पाटा अन्तर्राष्ट्रियको केन्द्रीय तहमा रहेर पुर्याएको सक्रिय योगदान र उनको कार्यक्षमताको उचित कदर गर्दै संस्थाले यो गरिमामय पदवी दिएको हो ।
पाण्डे पाटासँगको व्यावसायिक यात्रा सन् २०१३ बाट थप उचाइमा पुगेको देखिन्छ । उनले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२ औँ अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै नेपाली पर्यटनलाई विश्व बजारमा नयाँ उचाइमा पुर्याएका थिए ।
पाण्डेले सन् २०२० देखि २०२४ सम्म लगातार दुई कार्यकाल पाटा अन्तर्राष्ट्रियको सचिव, कोषाध्यक्ष जस्तो जिम्मेवार पद सम्हाल्दै संस्थाको आर्थिक र प्रशासनिक सुदृढीकरणमा महतवपूर्ण भूमिका खेलेका छन् । अन्तर्राष्ट्रिय पर्यटनको नीति निर्माणमा उनको दख्खल र सक्रियताकै कारण उनी हाल (सन् २०२४–२०२६) का लागि पाटा अन्तर्राष्ट्रिय हेडक्वार्टरको उपाध्यक्ष पदमा निर्वाचित भई कार्यरत रहेका छन् ।
दक्षिण कोरियामा प्राप्त यो सम्मान पाण्डेको व्यक्तिगत सफलता मात्र नभई, समग्र नेपाली पर्यटन व्यवसायीहरूको क्षमता र विश्वस्तरमा उनीहरूको नेतृत्वदायी भूमिकाको अन्तर्राष्ट्रिय प्रमाणीकरण पनि हो । यस उपलब्धिले आगामी दिनमा विश्व पर्यटन बजारमा नेपालको पहुँच र प्रभावलाई थप बलियो बनाउने विश्वास पर्यटन वृत्तमा गरिएको छ । नेपालबाट यसअघि यस अवार्डबाट स्व. प्रभाकर शम्शेर राणा, स्व. बसन्त मिश्र र आरआर पाण्डे सम्मानित भएका थिए ।
पर्यटनका साथै पाण्डे राजनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं। २ बाट उम्मेदवार बनेका थिए भने हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्यटन तथा संस्कृति विभाग प्रमुखको रूपमा नीतिगत सुधारका कार्यमा समेत संलग्न छन् ।

प्रतिक्रिया