१२ वैशाख, नुवाकोट । म्यागङ गाउँपालिकामा आयोजित चौथो बागमती प्रदेश अन्तरपालिकास्तरीय म्यागङ गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास गाउँपालिकाले हात पारेको छ।
म्यागङ-५, सामरीस्थित ऐतिहासिक जालपादेवी मन्दिरको प्राङ्गणमा सञ्चालित प्रतियोगिताको फाईनलमा खनियाबासले निकै नै रोमाञ्चक र कडा प्रतिस्पर्धाका बीच जीत सुनिश्चित गरेको हो। दर्शकहरूको उत्साहजनक माहोलमा भएको खेलले खेलप्रेमीहरूलाई अन्तिम समयसम्म रोमाञ्चित तुल्याएको थियो।
धादिङ जिल्लाका दुई छिमेकी पालिकाबीचको कडा प्रतिस्पर्धा, निकै रोमाञ्चक र उत्कण्ठापूर्ण बनेको फाइनल भिडन्तमा सिद्धलेक गाउँपालिकालाई ३-२ को प्रतिस्पर्धात्मक सेटमा पाखा लगाउँदै खनियाबासले ट्रफी आफ्नो पोल्टामा पारेको हो।
खेलको सुरुवातदेखि नै दुवै टोलीले उच्च मनोबलका साथ उत्कृष्ट खेल कौशल प्रदर्शन गरेका थिए। पहिलो सेट १९-२५ ले गुमाएको खनियाबासले दोस्रो र तेस्रो सेटमा निकै सुधारिएको प्रदर्शन गर्दै क्रमशः २५-१७ र २५-१४ ले आफ्नो पक्षमा पारेको थियो। तर, चौथो सेटमा सिद्धलेकले पुनः पुनरागमन गर्दै २३-२५ ले जितेपछि खेल पाँचौँ तथा निर्णायक सेटमा धकेलिएको थियो। अन्तिम तथा निर्णायक सेटमा खनियाबासका खेलाडीहरूले निकै संयमित भएर उत्कृष्ट स्पाइक र बलियो डिफेन्स प्रस्तुत गरे। नतिजास्वरूप १५-९ को स्कोरसहित खनियाबासले खेल जितेर च्याम्पियन बन्न सफल भयो।
प्रतियोगितामा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा, जिल्ला समन्यव प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, गाउँपालिका अध्यक्ष आशा तामाङ, उपाध्यक्ष, सीता तामाङलगायतले विजेताहरुहरुलाई पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख ३४ हजार ३३३ रुपैयाँ, २ लाख २३ हजार ३३३ रुपैयाँ र १ लाख १२ हजार २२२ रुपैयाँ नगदसहित तक्मा, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् । सान्त्वना स्थान हासिल गर्ने पालिकालाई ५६ हजार ६६६ रुपैयाँ प्रदान गरेका छन् ।
साथै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने व्यक्तिगत विधाका खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको थियो । जसमा उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, ब्लकर र प्रशिक्षकहरूलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरिएको थियो । उत्कृष्ट खेलाडीहरुले विधागततर्फ ५ हजार ६६६ रुपैयाँ नगदसहित तक्मा र प्रमाणपत्र प्राप्त गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष आशा तामाङले प्रतियोगिताहरूले स्थानीयस्तरमा लुकेका प्रतिभाहरूलाई राष्ट्रियस्तरसम्म पुग्न मद्दत गर्ने र खेलकुदको माध्यमबाट विभिन्न पालिकाहरूबीचको भाइचारा र समन्वयलाई अझ प्रगाढ बनाउने विश्वास लिइएको बताए । ऐतिहासिक महत्व बोकेको जालपादेवी मन्दिरको काखमा आयोजित यस प्रतियोगिताले खेलकुद र पर्यटनलाई समेत जोड्ने प्रयास गरेको सहभागीहरूले बताए।
प्रत्यक्ष प्रसारणको भिडिओ
प्रतिक्रिया