+
Search

ताजा अपडेट +

पपुलर +

१६ जनाले लिए ढाका बुनाई तालिम, परम्परागत सीपलाई आधुनिकीकरण गर्ने लक्ष्य

Dhaka Weaving Training Completed Aims to Modernize Traditional Skills
डबली खबर
२ महिना अगाडी

२३ चैत, नुवाकोट । उद्योग तथा वाणिज्य कार्यालयको आयोजनामा सञ्चालित दुई महिने ‘एडभान्स डिजाइन’ ढाका बुनाई तालिम १६ जना महिला उद्यमीले लिएका छन् ।

गत माघ १९ गतेदेखि सुरु भई चैत २२ गतेसम्म चलेको उक्त सीप विकास कार्यक्रमले स्थानीयस्तरमा रहेका बुनाई कलालाई व्यावसायिक रूपान्तरण गर्ने उद्देश्य राखेको थियो। तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आधुनिक बजारको माग अनुरूपका बुट्टा र डिजाइनहरूका बारेमा सघन प्रयोगात्मक अभ्यास गराइएको कार्यालयका प्रमुख सिताराम घिमिरेले जानकारी दिए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलले स्थानीय जनशक्तिलाई स्वरोजगार बनाउन यस्ता प्राविधिक तालिमको भूमिका अपरिहार्य रहेको बताए । वडाध्यक्ष ढुङ्गेलले परम्परागत ढाका बुनाईलाई नयाँ पुस्तासँग जोड्दै यसलाई विलासी र गुणस्तरीय ब्रान्डको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख घिमिरेले प्राप्त गरेको सीपलाई कोठामा मात्र सीमित नराखी उत्पादन र आयआर्जनसँग जोड्न सहभागीहरूलाई आग्रह गरे । कार्यालयले आगामी दिनमा पनि यस्ता प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने र उत्पादित सामग्रीको बजारीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

तालिममा विदुर नगरपालिका, तारकेश्वर, म्यागङ, लिखु गाउँपालिकालगायतका उद्यमीहरुले सहभागिता जनाएको कार्यालयका सूचना अधिकारी मेखमाया घलेले जानकारी दिईन् । दुई महिनासम्म सञ्चालित यस एडभान्स तालिममा सहभागीहरूलाई ढाकाका कपडामा आधुनिक र आकर्षक बुट्टाहरू भर्ने प्रविधि, रङ संयोजन र फिनिसिङका विविध पक्षहरू सिकाइएको थियो।

तालिमले विशेष गरी महिला तथा युवाहरूलाई आफ्नै घरमा बसेर व्यवसाय सुरु गर्न सक्ने आत्मविश्वास प्रदान गरेको सहभागी प्रशिक्षार्थीहरूले अनुभव सुनाएका छन्।

समारोहमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूले तयार पारेका ढाकाका नमूनाहरूको अवलोकन गरिएको थियो।

स्थानीय कच्चा पदार्थको प्रयोग र मौलिक कलाको संरक्षण गर्दै आर्थिक समृद्धिको बाटो पहिल्याउन यो तालिम कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ