+
Search

ताजा अपडेट +

पपुलर +

अमेरिकाको डालस सेरोफेरो

shreeram shrestha us
श्रीराम श्रेष्ठ
१ साल अगाडी

अमेरिका बसाइ नयाँ स्थानको नयाँ अनुुभवसँगै बितिरहेको छ । यहाँ आएदेखि घुम्नुु नै पहिलो काम भएको छ । छोरीज्वाइँलाई फुर्सद हुनेबित्तिकै नयाँ स्थान घुम्न जाने साइत जुरिहाल्छ । त्यसमाथि यहाँ आएपछि नयाँ किसिमका सम्बन्धहरू पनि विकास भइरहेका छन् । ती सम्बन्धहरूले पनि विभिन्न स्थान घुम्न सघाइरहेका छन् । यस वरपरका पार्क, सपिङ् सेन्टर, हिस्टोरिकल प्लेस, ब्रिच तथा थिएटरहरू भ्रमणका गन्तव्य बनिरहेका छन् । टेक्सासको उत्तरमा रहेको डालस इतिहास र संस्कृतिका दृष्टिले निकै प्रसिद्ध छ । उपनिवेशवादीहरूले १८ औँ शताब्दीमा टेक्सास क्षेत्रलाई नयाँ स्पेनको भाइसरोभल्टीको दावी गरेका थिए । स्पेनीहरूले टेक्सासको तटलाई नक्साङ्कन गरेका थिए । सन् १८१० मा मेक्सिको र स्पेनको बिच विद्रोह भयो । त्यस विद्रोहपश्चात् मेक्सिको टेक्सास क्षेत्रलाई कब्जा गर्न सफल भयो । पछि फ्रान्सले पनि यस क्षेत्रको दाबी गरेको थियो । सन् १८१९ मा संयुक्त राज्य अमेरिका र स्पेनबिच एडम्स ओनीस सन्धि भएको थियो । त्यस क्षेत्रमा सन् १८२१ सम्म स्पेनीहरूले शासन गरे । जब मेक्सिकोले स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्यो त्यसपछि त्यो क्षेत्र मेक्सिकोका कोहुइला राज्यका हिस्सा मानियो । सन् १८३२ र ३३ मा टेक्सासकमा दुईवटा निर्वाचन भयो । त्यतिखेर नै स्थानीयले टेक्सास छुट्टै राज्य बनाउनका लागि माग गरेका थिए । सन् १८४१ मा यस क्षेत्रलाई डालस नामक स्थायी बस्तीका रूपमा विकास गरियो । सन् १८४० को दशकमा मेक्सिको र अमेरिकाबिच द्वन्द्व चलेको थियो । त्यो द्वन्द्वपछि संयुक्त राज्य अमेरिकाद्वारा सन् १८४५ मा टेक्सासलाई आफ्नो कब्जामा लिई आफ्नो मुलुकमा गाभिएको घोषणा गरिएको थियो ।

डालसलाई दक्षिणी संयुक्त राज्य अमेरिकाको ठुलो महानगरीय क्षेत्रको मुख्य केन्द्र र ठुलो अन्तरदेशीय महानगरी क्षेत्र पनि हो । फोर्ट वर्थपछिको सबैभन्दा ठुलो जनसङ्ख्या डालसमा रहेको छ । कोलिन, डेन्टल, काउफम्यान र रकवाल काउन्टीहरूमा फैलिएको डालस प्रमुख रेलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलको एक बलियो औद्योगिक क्षेत्र, वित्तीय केन्द्र र प्रमुख अन्तरदेशीय बन्दरगाहको रूपमा विकास भएको छ । उत्तर र पूर्वी टेक्सासको डालस प्रारम्भिक दिनमा कपास, गाईवस्तु र तेल उत्पादनमा चर्चित थियो भने भौतिक विकासका क्रममा प्रमुख रेलमार्गहरूको निर्माण यस क्षेत्रको महत्त्वपूर्ण उपलब्धि बनेको थियो । हालमा डालसमा उद्योग कलकारखाना, वित्तीय संघसंस्था, ठुुला कम्पनीहरू, कलेज तथा विश्वविद्यालयहरू छन् । त्यहाँस्थित अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकाकै व्यस्त विमानस्थलमध्येमा पर्ने गर्दछ ।

डालसमा डेली प्लाजामा छैंठो तला सङ्ग्रालयदेखि प्रकृति र विज्ञानको आधुनिक सङ्ग्रालयका साथै विभिन्न सांस्कृतिक सम्पदाहरूको दृश्यावलोकन गर्न सकिन्छ । डेली प्लाजा डालसको महत्त्वपूर्ण स्थान हो । ३० मिटर अग्लो भवन सात तलाको छ । भवनमा प्रयोग गरिएका झ्यालहरू पुरातात्विक छन् । यस भवनको भूमि सारा होर्टन ककरेल भन्ने एक नागरिकले दान गरेका रहेछन् । यस प्लाजाको नाम जर्ज ब्यानरम्यान केली नामबाट राखिएको हो । उनी नागरिकद्वारा रुचाइएका एक नेता थिए । यस क्षेत्रको पुनः उत्थानका लागि उनले सशक्त अभियान चलाएका थिए । अमेरिकाका पैँतिसौँ राष्ट्रपति जोन एफ केनेडीको हत्यापछि भवनको छैटौँ तलामा स्नाइपरको पर्च र राइफल भेटिएको थियो । सङ्ग्रहालय सोमवार र मङ्गलवार बन्द रहने छ भने अन्य वार बिहान १०ः०० बजेबाट खुल्ला रहने छ । सङ्ग्रहालय अवलोकन गर्न टिकट अग्रीम बुकिङ गर्नुपर्ने हुन्छ । टिकटको शुल्क वयस्कलाई २२, वरिष्ठलाई २० र युवालाई १८ यू.एस डलर लाग्छ । सङ्ग्रहालय जान लिफ्टका साथै भ¥याङको पनि व्यवस्था छ । सङ्ग्रहालयका प्रवेशद्वारमा सेनिराएजर राखिएको छ । आगन्तुक सबैले हातमा सेनेराएजर प्रयोग गर्नुपर्ने हुन्छ । प्रत्येक २/२ घण्टाको अवधिमा सरसफाइ गरिन्छ । ऐतिहासिक फोटो, भिडियोका साथै विभिन्न संस्वृmति झल्कने फोटो तथा मूर्तिहरू त्यहाँ हेर्न पाइन्छ । त्यहाँ फोटो खिच्नका लागि स्वीकृत लिनुपर्ने रहेछ । छैठांै तलाको प्रदर्शनी कक्षमा आगन्तुकहरू घण्टौँ समय लगाउँछन् । डालस काउन्टी ऐतिहासिक फाउन्डेसनद्वारा सङ्ग्रहालय सञ्चालनमा आएको छ । यो संस्था गैरनाफामूलक संस्था रहेछ । स्वेच्छाले यहाँ जिन्सी र नगद पनि सहयोग गर्न सकिँदो हरेछ । सन् १९६३ मा प्लाजाको छैटौँ तलामा तत्कालीन राष्ट्रपति केनेडीमाथि गोली प्रहार भएको थियो र उनको त्यहीँ निधन भएको थियो । केनेडीको सम्मानमा त्यहाँ स्मारकसमेत बनाइएको छ । डालसको काउन्टी प्रशासन रहेको यस भवनको मर्मत कार्य गर्न काउन्टीले सात लाख डलर खर्च गरिसकेको रहेछ ।

डालसको डाउन टाउन क्षेत्र पनि हेर्न लायक छ । यहाँ मेट्रो गाडी, रेल गाडी सञ्चालन ह‘ुदै आइरहेको छ । नेपालको ठमेलजस्तै यहाँ व्यापारिक केन्द्र छ । ठुुल्ठुुला अर्थात् ५०/५५ तलाका व्यवसायिक भवनहरू छन् । सड़क छेउछाउमा होटेल, रेस्टुरेन्टका साथै बाटोको वरिपरि कपडा पसलहरू छन् । पार्किङ क्षेत्रलाई व्यवस्थित गर्न भुँइतलादेखि दशौँ तलासम्म सःशुल्क पार्किङ् क्षेत्र बनाएका छन् । विदाका समयमा युवापुस्ताको जमघट यहाँ बाक्लै हुने गर्दछ । त्यस बेला फुड फेस्टिबलजस्तै खानेकुराहरू सडकमा खरिद बिक्री गरिन्छन् । पश्चिमेली गीतसङ्गीतका ठुलाठुुला आवाज यत्रतत्र घन्किरहेका हुन्छन् । नाचगान पनि हुने गर्दछ । चाडपर्वहरूमा प्रत्यक्ष साङ्गीतिक कार्यक्रम पनि हुने रहेछ । तसर्थ डालसको डाउन टाउन क्षेत्र व्यापारिक र मनोरञ्जन थलोको रूपमा चिनिन्छ ।

एटी एन्ड टी स्टेडियम डालसको अलिङ्गनमा रहेको छ । यो अलिङ्गन सहरको स्वामित्वमा छ । अमेरिकामा फिफा २०२६ मा विश्वकप फुटबल आयोजनाका लागि बनाइएको ११ वटा स्टेडियममध्ये यो एक हो । सन् २००९ मा निर्माण कार्य सम्पन्न भएको स्टोडियमको नाम राख्ने क्रममा धेरै चर्चा, परिचर्चा भए । उक्त स्टेडियमलाई प्रशंसकहरूले विभिन्न उपनाम दिए । जस्तै ः जेरी वल्र्ड, डेथ स्टार, काउवाय कैथेड्रल, जोरसिक पार्क आदि । तर अन्ततः अहिलेकै नाम छनोट भयो । ९१ मिटर अग्लो स्टेडियम सबैभन्दा ठुलो गुम्बज संरचनामा बनेको छ । यो काउवायजको घर मात्र होइन मनोरञ्जन र खेलकुदका लागि पनि प्रयोग हुन्छ । यहाँ विशेष गरी फुटबल, साङ्गीतिक कन्सर्ट, बास्केटबल आदि कार्यक्रम हुने गर्दछ । खेल मैदान उत्तर–दक्षिण दिशातर्फ फर्काई बनाएइको छ । जसले गर्दा सूूर्यको प्रकाश खेलाडीको आँखामा सिधै पर्दैन । ८० हजार दर्शकहरू अट्न सक्ने स्टेडियममा २ वटा ठुुला भिडियो बोर्ड राखिएको छ । विशाल खेल मैदानमा छत राख्न र झिक्नमिल्ने व्यवस्था गरिएको छ । छत राख्न र झिक्न १० मिनेटको समय लाग्ने रहेछ । यसको डिजाइन इन्जिनियरिङ फर्म वाल्टर पी मूरले गरेका हुन् भने फुटबल मैदान भने हेलास कन्स्ट्रक्सनले गरेका रहेछन् । विभिन्न खेल तथा कार्यक्रम हुँदा टिकटको व्यवस्था गरिएको हुुन्छ । यो स्टेडियम बनाउन एक दशमलव १५ विलियम डलर खर्च भएको रहेछ । सन् २०२६ मा हुने फिफा विश्वकप खेलमध्ये ११ खेल अर्थात् समूूह चरणका ५ राउन्ड अफ ३२ का दुई खेल, राउन्ड अफ १६ खेल र एक सेमिफाइनल खेल यसै स्टेडियममा हुनेछ ।

डाउन टाउनभित्र कुले भार्डमा अवस्थित रियुनियम टावर डालसको प्रतीकका रूपमा रहेको छ । यस भेगको मुटुमा रहेको टावरले सहरकै सुुन्दरता बढाएको छ । गोलाकारमा निर्माण भएका टावरको उचाइ एक सय ७१ मिटरको छ । उन्नाइसौँ शताब्दीको कम्युन ला रियनियनको नाममा स्थापित यो टावर आर्किटेक्चलर फर्म बेल्टन बेकेट एन्ड एसोसिट्सद्वारा डिजाइन गरिएको हो । टावरमा जानका लागि लिफ्टको व्यवस्था गरिएको छ । दुई सय ५० वटाभन्दा बढी रङ्गीन बत्तीहरू राखिएको टावरमा भ्रमण गर्नका लागि टिकट काट्न पर्ने रहेछ । टिकटको दर ठुुलालाई २४ र सानालाई १४ युुएस डलर लिँदो रहेछ । यस टावरलाई “द बल” भनेर पनि चिनिन्छ । टावरको माथिल्लो भागबाट डेली प्लाजाका अलवा सहरका सबै जसो ठाउँहरू स्पष्ट देखिन्छ । सूर्यास्त भएपछि रातको समयमा टावरमा चम्किरहेको बत्तीको आकर्षणले भ्रमणकर्ताहरूको मन खिच्दछ ।

अमेरिकाको पुरानो सामुदायिक थिएटरको रूपमा टेक्सासको ओकक्लिपमा रहेको थिएटरलाई लिइन्छ । स्थानीय एक विलक्षण अरबपति होवर्ड ह्याजिलद्वारा २१ अप्रिल १९३१ मा यो थिएटर खोलिएको हो । ली हार्व ओसवाल्डलाई डालस प्रहरी अधिकृत जेड़ी टिपिट र राष्ट्रपति जोन एफ केनेडीको हत्या गरिएको ठाउँमा स्थापना गरिएको मानिने रहेछ । सन् १९६३ मा यो थिएटरले ऐतिहासिक महत्त्व पायो । प्रिमियम अडियो भिजुअल टेक्नोलोजी प्रयोग गरेर खोलिएको थिएटर भव्य दुई तलाको छ । सन् २०२२ मा यसको पुनर्निर्माण पुनःस्थापना गरिएको रहेछ । प्राकृतिक ध्वनिलाई प्राथमिकतामा राखेर निर्माण गरिएको यस थिएटरको भित्री भाग वायुमण्डलीय शैलीमा व्यवस्थापन गरिएको छ । जसरी पृथ्वीमा दिन र रात हुन्छ त्यसै अनुरूपको दृश्य मिलाउन मिल्ने बनाइएको छ । तल्लो तलामा छ सय ७० र बलकुनीमा एक सय ६५ सिट रहेको थिएटर सबै दिन खुल्ला रहन्छ । यहाँ चलचित्र, साना नाटक, प्रहसनजस्ता अनेक कार्यक्रमका साथै हास्य कलाकारका प्रर्दशनी, अनि प्रत्यक्ष साङ्गीतिक कार्यक्रम पनि हुने गर्दछ । यस थिएटरमा लियोन रसेल, मारेन मेरिसा, ज्याक इन्ग्राम, ल्यारी जो टेलर, कुडर ग्रा, रस्टी वेयर, एली याङ्ग ब्यान्ड, टमी अल्भरसन, ¥यान्डी रोजर्स ब्यान्ड, तेजस ब्रदर्श र ग्यारी पी नन जस्ता लाइभ एल्बमको रेकर्ड पनि गरिएको रहेछ ।

टेक्सासमा बसोवास गर्ने नेपालीहरूको सङ्ख्या धेरै नै छ । यहाँ नेपालीहरूको सङ्ख्या एक लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेपालको राजदूतावास वांसिङटन डि.सीमा रहेको छ । पासपोर्ट नवीकरण, गैरआवासीय नेपाली कार्ड, भिसा सेवा, ट्राभल डकुमेन्ट बनाउनका लागि त्यहाँ जानुपर्ने हुन्छ । त्यहाँसम्म यात्रा गर्न कठिनाइ र आर्थिक बोझसमेत पर्न जान्छ । डालसमा काउन्सुलर कार्यालय स्थापना गर्न यहाँका नेपाली नागरिकले नेपाल सरकारलाई अनुरोध गर्दै आइरहेको कुरा यहाँ आएपछि बुझियो । यदि यहाँ काउन्सुलर कार्यालयको स्थापना गरेको खण्डमा टेक्सासका साथै अन्य राज्यमा बसोवास गर्ने नेपाली नागरिकले पनि सहज रूपमा सुविधा पाउने कुरामा टेक्सासमा ८ वर्ष अघिदेखि बसोबास गर्दै आउनुभएका काठमाडौँ निवासी राहुल रिजालको भनाइ छ ।

सन् १९९२ मा डालसमा स्थापना भएको वल्र्ड एक्येरियम (चिडिया घर) निकै प्रसिद्ध छ । एउटै ढुङ्गामा बनाइएको चिडिया घरको विशालता तारिफ योग्य छ । तीन तहमा बनेको चिडिया घर चाख लाग्दो पनि छ । चालिस फिट लामो गिलास इन टनेलबाट बनाइएको उक्त चिडिया घरमा घुमघाम गर्दा जङ्गल र नदीमा सफर गरेको भान हुन्छ । हाइब्रिड चिडिया घरमा वन्यजन्तु र वनस्पतिहरूको संयोजनले आनन्दित तुल्याउँछ त्यहाँ पुग्नेहरूलाई । पशुपक्षी र वनस्पतिप्रेमीहरूका लागि अवलोकन गर्न उपयुुक्त गन्तव्यका रूपमा यसलाई लिने गरेको पाइन्छ । पहिलो तहमा छेपारो, सर्प, चमेरो, स्टिग्रे र समुद्री जीवहरू छन् । दोस्रो तलामा स्कालेटे मकाउ, विभिन्न प्रजातिका हामिङ वर्ग र पेलिकनहरू छन् । कक्स अफ द रक जस्ता नयॉ चरा पनि छन् । विश्वबाटै लोपोन्मुख आयुरामी जीव पनि यहाँ रहेको छ । नियोट्रोपिक चिलहरू, मुफोनिया, ट्यानेजर, हामिडवर्ड, स्टङ्ग्रे, पिरान्हा, इलेक्ट्रिक इलपोइजन डार्ट, भ्यागुता, गोही, वन बिरालो, माछा, छेपारो, सर्प आदि प्रत्यक्ष हेर्न सकिन्छ । तेस्रो तलामा विशाल पोखरीमा सामुुद्रिक जीवहरू राखिएको छ । पोखरीका बिचमा सुरुङ् बनाइएको छ । विभिन्न प्रजातिका माछाहरू पौडिरहेको दृश्य मनमोहक लाग्छ । चिडिया घरभित्रै शौचालय, रेन्टुरेन्ट र विभिन्न पसल पनि राखिएको छ । हामी लामो समयसम्म त्यस चिडिया घरमा घुम्यौँ तर समय गएको पत्तै भएन ।

फोर्ट वर्थ क्षेत्रको उत्तरी सीमानामा रहेको ग्रेपवाइन लेक समय बिताउन र आनन्द लिनका लागि उत्कृष्ट गन्तव्यमध्येको एउटा स्थल हो । डालसमा रहेको लेकमध्ये यो ठुलो र आनन्दायी छ । सन् १९४५ मा युुएस काङ्ग्रेसले नदी र बन्दरगाह ऐन अनुमोदन गरेको रहेछ । सन् १९४८ मा यो लेक निर्माण गर्न शुरू गरिएको थियोे । डेन्टल व्रिmकमा अवस्थित ट्रिनिटी नदीको एल्म फोर्कको सहायक नदीबाट बनेको यो लेक मानव निर्मित हो । यो परियोजना ट्यारान्ट र डेन्टन काउन्टीहरू दुवैमा फैलिएको छ । सन् १९५२ मा परियोजना सम्पन्न भएको हो । समुद्री सतहबाट पाँच सय ६० फिट उचाइमा रहेको यो लेक घुमाउरो प्रकृतिको छ । बाँध ४२ मिटर, २८ फिट मोटो, ९७ किलोमिटर किनार र १२ हजार आठ सय ५० फिटमा फैलिएको लेकको पानी ग्रेपवाइन, डालस र काउन्टी आदि सहरहरूमा लगिएको छ । संयुक्त राज्य सरकारको स्वामित्वमा रहेको यो लेकको बाढी नियन्त्रण र पानी संरक्षणको जिम्मा सेनाका इन्जिनियरहरूको फोर्ट वर्थद्वारा सञ्चालित छन् । नेपालको फेवा तालमा जस्तै इलेक्ट्रिक डुङ्गााहरू सयौँको सङ्ख््यामा लेकको किनारामा राखिएको छ । भाडामा पाइने ती डुङ्गामा चालकसहित पाँच जना अट्ने ठाउँ छ । नौ माइलसम्म डुङ्गाद्वारा सफर गर्न सकिन्छ । लेकमा विभिन्न प्रजातिका माछाहरू पाइन्छन् । माछाको प्रकार अनुसारले सःशुल्क माछा मार्न पनि पाइन्छ । लेकको वरिपरि धेरै पार्कहरू छन् । पार्कहरू स्थानीय समुदाय र इन्जिनियरहरूको नियन्त्रणमा हुने रहेछ । लेकसँगै रहेको पार्कहरूमध्ये सिटी अफ ग्रेपमिनले, लेकभ्यू, ओक ग्रोभ र बुड्स पार्क आदि नाम चलेका हुन् । यी सार्वजनिक पार्कहरू पनि सःशुल्कमा सञ्चालित छन् । लेकको छेउछाउमा पिकनिक स्थलहरू पनि छन् । पारिवारिक र साथीभाइ जमघट हुनका लागि यसलाई निकै मानिसले गन्तव्य बनाउँदा रहेछन् । त्यस्तै लेकमा समुद्र तटहरू पनि छन् । सूर्यास्तका बेला मनोरञ्जनका अनेक गतिविधि निकै आकर्षक लाग्छन् नयाँ जाने पर्यटकहरूका लागि ।

ग्रान्ड प्रेरी सहर डालस, टारेन्ट र एलिस काउन्टीहरूमा रहेको छ । फोर्ट वर्थ मेट्रोप्लेक्सको मध्य सहरमा रहेको ग्रान्ड प्रेरी सन् १९४९ मा सहरको रूपमा विकासित भएको हो । यो सहर जनसङ्ख्याको हिसाबले टेक्सास राज्यको पन्ध्रौं स्थानमा रहेको छ । यो सहर पूर्वमा डालस, दक्षिणमा देवदार हिल र मिडलोथियन, दक्षिणमा म्यानफिल्ड, पश्चिममा फोर्ट वर्थ र उत्तरमा इरभिङको सीमानासम्म फैलिएको छ । ग्रान्ड प्रेरीको आफ्नै इतिहास छ । सन् १८६३ मा अलेकज्यान्डर म्याकेर डैचम्यानद्वारा यस ठाउँको नामकरण भएको हो । त्यस बेला डैचम्यानले गाईगोरुको व्यापार गर्दथे । गृहयुद्ध हुनुअगावै उनी सपरिवार वर्ड भिलमा बसाइँ सरेक थिए । अमेरिकामा पहिला हुलाक कार्यालय डैचम्यान नामाकरण गरी खोलिएको थियो । यसरी ग्रान्ड पे्ररीको रक्षा र उड्यान उद्योगसँग लामो इतिहास जोडिएको छ ।

सुविधा युक्त पाँचतारे होटेलदेखि अनेकौ रेस्टुरेन्ट रहेको यस भूमिमा स्थायी र अस्थायी बसोबास गर्नेहरूको भ्रमण दिनप्रति दिन बढ्दो छ । ती जमातमा हामी पनि मिसिएका छौँ । एक साँझ होटेल होस्टनको नजिकै रहेको नाइट लाइफ कार्यक्रममा हामी पनि गएका थियौँ । ठुलो पोखरीको बिचमा लाइट जडान गरेका पाइपहरू राखिएका छन् । पोखरीको वरिपरि रेस्टुरेन्टहरू छन् । पोखरी डिलमै मान्छेहरू पलेटी कसेर बसेका छन् । ठुुल्ठुुला स्पिकरमा अङ्ग्रेजी गीत बजाइएको छ । गीतको धुनसँगै पोखरीको बिच भागमा रहेको पाइपबाट पानीको फोहरामा रङ्गीचङ्गी बत्ती बलिएको छ । चारैतिरबाट फोक्सिङ लाइट बलिरहेको छ । विभिन्न आकारमा रङ्गीन पानीहरूको दृश्य पनि निकै मनमोहक देखिन्छ । सयौँ सङ्ख्यामा भेला भएका मान्छेहरू नाचेर, गाएर, थपडी बजाएर मनोरञ्जन लिइरहेका छन् । रातको साढ़े १० बजे उक्त मनोरम कार्यक्रम सकियो । मनोरञ्जनका हिसाबले नाइट लाइफ कार्यक्रमले भरमग्दुर आनन्दित तुल्यायो । ग्रान्ड प्रेरीबाट युलेससम्म सवारी साधनमा सवारी गर्दा बाटोमा देखिएको किरा सरी गाडीको भिडभाड तर कहीँ कतै जाम नभएको दृश्यले नेपालको वर्तमान गन्जागोल बाटो आँखामा ऐना बनी तेर्सिरहेको छ अहिले पनि ।

लेखकको बारेमा

श्रीराम श्रेष्ठ

ट्रेन्डिङ