जेठ ३, नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको बट्टार बसपार्क क्षेत्र यतिबेला अस्तव्यस्त र कुरुप बनेको छ।
सार्वजनिक सडकमै जथाभाबी कवाडी सामान, निर्माण सामग्री थुपारेर र सडकमै पानी छोडेर आवतजावतमा अवरोध पुर्याइँदा समेत सम्बन्धित निकायले कुनै चासो देखाएका छैनन्।
पटकपटकको कार्यान्वयपछि सञ्चालनमा आएको बसपार्क क्षेत्रको सडक किनारमै ठूला-ठूला कवाडीका सामान, पुराना मेसिनरी र तारका जालीहरू असरल्ल छाडिएका छन्। यसले गर्दा उक्त मार्ग भएर हिँड्ने पैदलयात्री र सवारी साधनहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

स्थानीयका अनुसार सोही क्षेत्रमा प्रहरीको उपस्थिति भए पनि मौन दर्शक बनेका छन्। उता सडक र सार्वजनिक क्षेत्रका अवरोध हटाउने मुख्य जिम्मेवारी पाएको विदुर नगरपालिकाको नगर प्रहरी समेत ‘कानमा तेल हालेर’ बसेको स्थानीयको आरोप छ।
बसपार्क जस्तो संवेदनशील र व्यस्त क्षेत्रमा महिनौँदेखि कवाडी सामान थुप्रिँदा समेत व्यवस्थापन नहुनुले नगरपालिकाको फितलो प्रशासन र गैरजिम्मेवारीपन छताछुल्ल पारेको छ। स्थानीयले तत्काल उक्त कवाडी सामग्री हटाई सडक खुला गर्न र अटेरी गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

प्रतिक्रिया