+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेश अन्तरपालिकास्तरीय पुरुष भलिबल वैशाख ७–१२ मा

डबली खबर
३ हप्ता अगाडी

१७ चैत, मानेब्ले, नुवाकोट । म्यागङ गाउँपालिकाले स्थानीयस्तरमा भलिबल खेलाडी उत्पादन तथा खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी वैशाख ७ देखि १२ गतेसम्म बागमती प्रदेश अन्तरपालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

मंगलबार गाउँपालिकाको कार्यपालिकामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आशा तामाङले चौथौँ संस्करणको भलिबल प्रतियोगिता ऐतिहासिक सामरीस्थित जाल्पादेवी मन्दिर परिसरमा सञ्चालन हुने जानकारी दिए। उनले पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानका क्रममा उक्त मन्दिरमा पूजा–आराधना गरी नुवाकोट विजय हासिल गरेको ऐतिहासिक सन्दर्भलै जोड्दै प्रतियोगितालाई निरन्तरता दिइँदै आएको बताए। साथै, २०७२ सालको भूकम्पका बेला पनि प्रतियोगिताकै कारण स्थानीय बासिन्दा घरबाहिर रहेकाले मानवीय क्षति न्यून भएको अनुभवले यसलाई थप महत्व दिएको उनको भनाइ थियो।

उपाध्यक्ष सिता तामाङले प्रतियोगिताको निरन्तरताले खेल संस्कृतिको विकासमा टेवा पुगेको उल्लेख गरिन्। “प्रतियोगिता सञ्चालन हुँदा गाउँपालिकावासी खेल अवलोकनमा केन्द्रित हुने गरेका छन्, जसले सामुदायिक एकता र खेलप्रतिको आकर्षण बढाएको छ,” उनले भनिन्। प्रतियोगितालाई अझ व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

वडा नं. ५ का अध्यक्ष जीतबहादुर तामाङका अनुसार प्रतियोगिताका विजेताले आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख ३४ हजार ३३३ रुपैयाँ, २ लाख २३ हजार ३३३ रुपैयाँ र १ लाख १२ हजार २२२ रुपैयाँ नगदसहित तक्मा, प्रमाणपत्र र शिल्ड प्राप्त गर्नेछन्। सान्त्वना स्थान हासिल गर्ने पालिकालाई ५६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडीहरूलाई विधागततर्फ ५ हजार ६६६ रुपैयाँ नगदसहित तक्मा र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको छ।

गाउँपालिकाले यसअघि पालिकास्तरीय तथा राष्ट्रियस्तरका भलिबल प्रतियोगिता आयोजना गर्दै आएको थियो। आगामी प्रदेशस्तरीय प्रतियोगिताले खेलकुद क्षेत्रको विकाससँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत दयाराम पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ