+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दुप्चेश्वरमा मात्र १० नयाँ फर्म दर्ता

दुप्चेश्वरमा मात्र १० नयाँ फर्म दर्ता
डबली खबर
२ हप्ता अगाडी

१६ चैत, दुप्चेश्वर । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पछिल्लो समय स्थानीय उद्यमशीलता र व्यावसायिक कृषिप्रति नागरिकको आकर्षण कम देखिएको छ।

चालु आर्थिक वर्ष २०८२/८३ को फागुनमहिनामा पालिकाभित्र जम्मा १० वटा नयाँ व्यवसाय तथा कृषि फार्महरू दर्ता भएका छन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीका अनुसार यस महिना ७ वटा व्यापारिक व्यवसाय र ३ वटा कृषि तथा पशुपालन फार्म विधिवत् रूपमा दर्ता भएका हुन्। स्थानीयस्तरमै स्वरोजगार बन्ने लहर चलेसँगै दर्ता हुने क्रम बढेतापनि उचित दरमा पालिकामा दर्ता नभएको बताए ।

दर्ता भएकामा किराना पसल, सप्लायर्स, होटल र कृषि तथा पशुपन्छी फर्म रहेका छन् ।

उनका अनुसार पालिकामा व्यवसाय दर्ता कम हुनुको मुख्य कारण पुँजीको सीमा र बैंकिङ प्रक्रियासँग जोडिएको पाइएको छ। ५ लाख रुपैयाँसम्मको न्यून पुँजी भएका साना व्यवसायहरू मात्र स्थानीय तहमा आउने गरेका छन्।

ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि र पशुपालनलाई व्यावसायिक ढाँचामा लैजान स्थानीय युवाहरू अग्रसर देखिएका छन्। तर दर्ता भएका नयाँ फार्महरूको सङ्ख्यादर न्यून देखिएको छ । स्थानीयस्तरमा आर्थिक गतिविधि बढेको दाबी गरिए तापनि पालिकाको अभिलेखमा त्यसको प्रतिविम्ब न्यून देखिनुले नीतिगत कार्यान्वयनमा प्रश्न उब्जाएको छ।

पालिकामा दर्ता प्रक्रियामा रहेको परम्परागत कागजी प्रणाली अर्को ठूलो बाधक बनेको छ। प्रविधिको युगमा पनि फाइल बोकेर कोठा-कोठा धाउनुपर्ने बाध्यताले व्यवसायीहरू हतोत्साहित हुने गरेका छन्। डिजिटलको समयमा स्थानीय तहमा अझै पनि हस्तलिखित ढड्डा र कागजी कागजातको भर पर्नुपर्ने अवस्थाले सेवाग्राहीलाई झन्झटिलो महसुस गराएको एक सेवाग्राहीले बताए ।

संघीय सरकारले उद्योग दर्ताका लागि आवश्यक एकीकृत सफ्टवेयर प्रणाली उपलब्ध नगराउँदा स्थानीय तह प्राविधिक रूपमा पछि परेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । पालिकामा छुट्टै सफ्टवेयर नहुँदा तथ्याङ्क व्यवस्थापन र दर्ताको सुविधा उपलब्ध गराउन नसकिएको कर्मचारीहरूको गुनासो छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ