९ माघ, नुवाकोट । न्युनतम मापदण्ड सेवा मूल्याङ्कनअनुसार त्रिशूली अस्पतालमा सेवा प्रवाह सुधार भएको देखिएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा मूल्याङ्कन समितिका सदस्य तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रामचन्द्र सापकोटाले अस्पतालले मूल्याङ्कनमा ८६ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिए । यसअघि अस्पतालले मूल्याङ्कनमा ८१ प्रतिशत प्राप्त गरेको थियो ।
बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका १३ वटै जिल्लाका सरकारी अस्पतालको सुशासन तथा व्यवस्थापन, चिकित्सकीय सेवा र फोहरमैला लगायतका वस्तुहरूको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गर्दछ ।
सोहि अनुगमन तथा मूल्याङ्कनअनुसार अस्पतालले न्युनतम मापदण्ड सेवा मूल्याङ्कन अन्तर्गत आपतकालिन सेवामा ८८.७३ प्रतिशत, बहिरंग सेवामा ८५.७१ प्रतिशत र आईसीयू सेवामा ८४.८४ प्रतिशत उपलब्धि हासिल गरेको छ।
यसैगरी, अस्पतालले शासन प्रणालीमा ९६ प्रतिशत, सुशासन तथा व्यवस्थापन सूचकमा अस्पतालले ९२ प्रतिशत, संगठनात्मक व्यवस्थापन, वित्तीय व्यवस्थापन र मेडिकल रेकर्ड व्यवस्थापनमा शत प्रतिशत अंक हासिल गरेको छ।
अस्पतालले सामाजिक परीक्षणमा ७७ प्रतिशत अङ्क प्राप्त हुन सफल भएको छ।
कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, जनस्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख उत्तम खनाल, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यहरु, चिकित्सक तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो।
उक्त मूल्याङ्कनले अस्पतालको सेवा सुधारमा थप सहयोग पुग्ने विश्वास लिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए ।




















प्रतिक्रिया