२६ मङ्सिर, नुवाकोट । बिहानीको कुहिरोलाई छिचोल्दै घाम लाग्ने तरखरमा थियो। नुवाकोटको विदुर नगरपालिका–९, बागटारको सडकमा डोको, थुन्चे र बोरा बोकेर किसानहरूको हुल हतार–हतार नयाँ खुल्न लागेको कृषि हाटबजारतर्फ उक्लँदै थियो। बिहानको साढे सात बज्दै गर्दा, सवारी साधनबाट स्थानीय उत्पादन तथा कृषि उपज झिक्ने र मानिसहरूको चहलपहल बढ्न थालेको थियो।
आजदेखि नुवाकोटको विदुर नगरपालिका–९ बागटारमा पहिलोपटक सञ्चालनमा आएको यो हाटबजारले आज केवल किनबेच मात्र होइन, गाउँको जीवनशैलीमै एउटा नयाँ ऊर्जा भरेको स्थानीय बताउँछन् ।
व्यवस्थित बजार पाएतापनि ताजा, सस्तो र सहज थिएन । किसान र उपभोक्ताहरूका लागि यो विशेष थियो। प्राय: जिल्ला बाहिरका तरकारी उपभोग गर्दै आईरहेका उपभोक्ता र अर्गानिक सिस्नु र कुभिण्डो समेत ल्याएका किसानसम्म, सबैका आँखामा छुट्टै चमक देखिन्थ्यो।

“अब हामीले उत्पादन बेच्न टाढा बजार धाउनुपर्दैन,” कुभिण्डो हिरो नामले परिचित लिखु गाउँपालिकाका रामचन्द्र अगस्ती मुस्कुराउँदै भने, “हाम्रै ठाउँमा बजार बसेपछि राहत हुने विश्वासमा छ। नुवाकोटका सबै स्थानीय तहले आआफ्नो क्षेत्रमा हाटबजार स्थापना गरे आर्थिकपाटो सुध्रिनुको साथै जीवन उकासिने छ ।”
विदुर नपा-९ को वडा कार्यालय परिसरमा विदुर नगरपालिकाको १० लाख रुपैयाँ र लायन्स सेवा केन्द्रको ५ लाख रुपैयाँको संयुक्त साझेदारीमा निर्माण भएको हाटबजारको व्यवस्थापन हाटबजार व्यवस्थापन समितिले हेर्ने वडा सदस्य राजकुमार श्रेष्ठले बताए ।
हाटबजारको शुभारम्भलाई रौनकता दिन बजारदेखि पिपलटार हुँदै कोलेनी, सानो किम्ताङ भएर स्थानीय बजार परिक्रमा गर्दै पुन: त्यही हाटबजारमा आएर उद्घाटन समारोह चल्यो ।
औपचारिक रुपमा हाटबजारको उद्घाटन गर्दै विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले कृषि उत्पादन बजारसम्म पुर्याउने चुनौती अन्त्य गर्न यो प्रयास महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरे। नगरप्रमुख शब्दहरू हाटबजारको गुञ्जनमा मिसिँदै थिए—“किसानको पसिनाले जन्मिएको उत्पादन अब उपभोक्तासम्म सजिलै पुग्नेछ। हाटबजारलाई सबैले सदुपयोग गरौँ।”

अबदेखि प्रत्येक शुक्रबार बिहान यो बजार नियमित चल्ने हाटबजार व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण रिजालले बताए । बजारको पंक्तिमा ताजा तरकारी, मौसमी फलफूल, अन्न र घरैपिच्छेका बगैँचामा उत्पादित सामग्री क्रमबद्ध रूपमा राखिएको थियो। उपभोक्ताहरू उत्साहित थिए—एकै ठाउँमा सस्तो, ताजा र स्थानीय सामग्री पाइने भएपछि।
उनले भने “जिल्लास्थित सरकारी कर्मचारी घर जाँदा वा हामी नै कहिँकतै जादाँ कोसेलीस्वरुप कृषि उपज सामग्री किन्ने थलो बन्ने छ – हाटबजार!”
उद्घाटन कार्यक्रममा म्यागङ गाउँपालिकाका अध्यक्ष आशाबहादुर तामाङ, उपाध्यक्ष सिता तामाङ, विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी र विभिन्न वडाध्यक्षहरूलगायतले हाटबजारले किसान र उपभोक्ताबीचको दूरी घटाइ आर्थिक गतिविधिमा नयाँ गति ल्याउने धारणा राखेका थिए ।
स्थानीय रामराजा भण्डारीले “अब वडा स्वास्थ्य, शिक्षा, खेलकुद हुँदै हाटबजारले कृषितर्फ समुन्नत लम्केको छ,” भन्दै खुसी व्यक्त गरे। बजारको चहलपहल बढ्दै जाँदा, स्थानीयहरू यो हाटबजार केवल व्यापार केन्द्र नभई समुदायको भविष्यमा नयाँ सम्भावनाको ढोका भएको उनी बताउँछन्।
बजार चहलपहलले भरिँदै जाँदा वातावरणमा आशा र उत्साह घुलमिल भइरहेको थियो। स्थानीयहरू भन्छन्—यो हाटबजार केवल व्यापार केन्द्र होइन, समुदायको भविष्यमा नयाँ सम्भावनाको ढोका हो।
हाटबजारमा विदुर नगरपालिकाले किसानको लागि ८० प्रतिशत अनुदानमा बीउबिजन र औषधि उपलब्ध गराएको थियो ।
यस्तै, हाटबजारमा पशु विज्ञद्वारा परामर्श तथा सेवा प्रदान गरिएको थियो ।





















प्रतिक्रिया