५ असार, नुवाकोट । विदुर नगरपालिकाले स्थानीय सेवाप्रवाहलाई जनताको घरदैलोमै पुर्याउने उद्देश्यसहित एकीकृत घुम्ती शिविर सुरु गरेको छ ।
विदुर नपा–३ स्थित मैरीटार र १३ को कागुनेमा एक/एक दिन हुने शिविरमा कृषि, स्वास्थ्य र पशु सेवा प्रदान गरिने जनाएको छ ।
बिहीवार मैरीटारमा भएको घुम्ती शिविरको नगरप्रमुख राजन श्रेष्ठले उद्घाटन गर्दै नगरपालिका र वडाबाट भएका सेवाप्रवाहका बारेमा नागरिकसँग प्रत्यक्ष सम्वाद गरी सुझाव र प्रतिक्रिया लिएका थिए । जनउत्तरदायी शासनतर्फको राम्रो संकेत हो।
३ नम्बर वडाका अध्यक्ष बद्री रिमालका अनुसार कृषितर्फ बाली उपचार, कृषि परामर्श सेवा, परामर्श बमाजिम जैविक विषादी वितरण, स्वास्थ्यतर्फ सामान्य परीक्षण, स्वास्थ्य परामर्श सेवा र सामान्य औषधी वितरण र पशुतर्फ थुनेलो, गोबर, गाइभैंसी, बाख्रा, कुखुराहरूका रोगहरू परीक्षण, रेबिज विरूद्धको खोप, सानो (बाख्रा) पशु बन्ध्याकरण र पशु स्वास्थ्य परामर्श सेवा दिईएको छ ।

बुधसिंघाट सहकारि संस्था लिमिटेडको कार्यालय परिसरमा भएको शिविरबाट सयौँ स्थानीयले सेवा लिएको संस्थाका व्यवस्थापक सुर्यबहादुर राईले जानकारी दिए ।
स्थानीयस्तर कृषकलाई प्रत्यक्ष टेवा पुग्ने यस्ता कार्यक्रम आगामी दिनहरुमा स्थानीय समयअनुसार गरिनुपर्ने सहकारी संस्थाका कोषाध्यक्ष दीपक ठकुरीले बताए ।
स्थानीय नागरिक लाभान्वित हुने शिविर भोलि असार ६ गते शुक्रबार वडा नं १३ कागुनेस्थित सुन्दरादेवी मन्दिर परिसरमा सञ्चालन हुनेछ। सो एकीकृत घुम्ती शिविरमा सम्पूर्ण वडाबासीलाई तोकिएको स्थानमा आएर सेवा लिनुहुन वडा कार्यालयले अनुरोध गरेको छ ।



















प्रतिक्रिया