२७ जेठ, नुवाकोट । बेलकोटगढी नगरपालिकाले नुवाकोट जिल्लालाई मसला उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। नगरपालिकामा अकबरे खुर्सानीको व्यावसायिक खेती तीव्र रूपमा विस्तार गरिएको छ। नगरका सबै १३ वटै वडामा विस्तार गरिएको अभियानबाट किसानहरूले लाखौं रुपैयाँ आम्दानी गर्ने अपेक्षा लिईएको छ।
नगरपालिकाले किसानहरूको आर्थिक उन्नति तथा स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्ने उद्देश्यले एक लाख १२ हजार अकबरे खुर्सानीका बिरुवा ७५ प्रतिशत अनुदानमा वितरण गर्न थालेको थियो । नगरपालिकाले छनोट गरिएका कृषि संघ, समूह र सहकारी संस्थाहरुलाई बिरुवा प्रदान गर्न गत चैत महिनादेखि वितरण प्रक्रिया अघि बढाएको थियो ।
बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङ र उपप्रमुख शिवप्रसाद दाहालले किसानलाई अकबरे खुर्सानीका बिरुवा हस्तान्तरण गर्दै कार्यक्रमको सुरु गरेका थिए । नगरपालिकाले चालु आर्थिक वर्षको कार्तिक ६ गते सार्वजनिक गरेको सूचनाका आधारमा माग गरिएका बिरुवा अनुदानमा वितरण गरेको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख गुरुङले नगरपालिकाको अकबरे खुर्सानीलाई राष्ट्रियस्तरमा चिनाउन नगरपालिकाले विशेष पहल गरिरहेको बताए । उनले किसानलाई उत्पादनमा वृद्धि गर्न आह्वान गर्दै यस कार्यक्रमले किसानको आर्थिक उपार्जनलाई मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
उपप्रमुख दाहालले माग गरिएका किसानहरूलाई प्राथमिकता दिइएको र छुट भएका तथा थप इच्छुक किसानहरूलाई आगामी योजनामा समेटिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरपालिकाको प्राविधिक सहयोग तथा तालिममार्फत् किसानलाई खेतीका लागि आवश्यक ज्ञान तथा सीप हस्तान्तरण गरिरहेको छ। आधुनिक प्रविधि अपनाउँदै मल्चिङ प्रणाली प्रयोग गरेर खेती गरिएकोले उत्पादन वृद्धि र लागत घट्ने अपेक्षा गरिएको छ।
नगदे मसला खेतीका रूपमा अकबरे खुर्सानी यहाँ निकै लोकप्रिय बन्दै गएको कृषि प्राविधिक सुन्दर श्रेष्ठ बताउँछन् । केही कृषकले १५ रोपनीसम्म जमीनमा यो बाली लगाएको उनले जानकारी दिए । अकबरे खुर्सानीको माग बजारमा अत्याधिक रहेको र गुणस्तरका आधारमा राम्रो मूल्य पाइने भएकाले किसानहरू लाखौं आम्दानी गर्न सक्षम हुने अपेक्षा गरिएको उनले बताए ।
अहिले अकबरे खुर्सानीका बोटहरू उत्पादन दिन थालिसकेका छन् । उत्पादन चरणमा पुगेका यस खेतीले कृषकहरूलाई आत्मनिर्भर बनाउने तथा गाउँमै रोजगारी सिर्जना गर्ने ठुलो सम्भावना देखिएको छ। यसरी विस्तार गरिएको अकबरे खुर्सानी खेतीले नुवाकोटलाई मसला उत्पादनमा आत्मनिर्भर बनाउन सक्ने आशा गरिएको छ।

प्रतिक्रिया