१ माघ, नुवाकोट । विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले पृथ्वीनारायण शाहको समाधिस्थलमा माल्यार्पण गरेका छन् ।
मङ्गलबार (आज) नगरप्रमुख श्रेष्ठले देवीघाटको जालपादेवी मन्दिर नजिक रहेको शाहको समाधिस्थलमा माल्यार्पण गरेका हुन् ।
नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता शाहको २५१ औँ स्मृति दिवसको सन्दर्भमा समाधिस्थल पुगेर नगरप्रमुख श्रेष्ठले माल्यार्पण गरेका हुन् ।
नगरप्रमुख श्रेष्ठले शाहको समाधिस्थललाई व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा नगरले डिपिआर समेतको योजना बनाउन निर्णय गरिसकेको बताए । पृथ्वी जयन्ती र स्मृति दिवस मनाउन एकीकृत कार्यक्रम नगरले यस वर्षदेखि सुरु गरिसकेको हुनाले यसलाई निरन्तता दिने बताए । पृथ्वी जयन्ती एवम् स्मृति दिवसको व्यस्थापनले समग्र जिल्लाको ऐतिहासिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने बताए ।
कार्यक्रममा ५ नम्बर वडाका अध्यक्ष लिलानाथ न्यौपाने, आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका अध्यक्ष शिवकुमार चित्रकार, पृथ्वी जयन्तीका अभियन्ता रामकृष्ण भट्ट, स्थानीय लगायतले सम्मान फुल अर्पण गरेका थिए ।
यसअघि विदुर नगरपालिकाले ३०३औं पृथ्वी जयन्तिको अवसरमा देवीघाटदेखि भैरवीमन्दिरसम्म बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको उपस्थितिमा विविध झाँकीसहित प्रभातफेरी गरेको थियो ।
प्रतिक्रिया