नुवाकोट – किस्पाङ गाउँपालिकाले वडा नम्बर ५ शान्तिबजारमा विशेष कार्यक्रम आयोजना गरेर धान दिवस मनाएको छ ।
‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ किस्पाङमा २१ औ राष्ट्रिय धान दिवस मनाईएको गाउँपालिका प्रशासकीय प्रमुख केदारप्रसाद अधिकारीले जानकारी दिए । समग्र गाउँपालिकाको विकासका लागि कृषि क्षेत्रमा पालिकाले प्राथामिकता दिएको गाउँपालिकाका प्रशासकीय प्रमुख अधिकारीले बताए ।
चालू आर्थिकवर्षमा लघु उद्यम कार्यक्रमबाट नयाँ उद्यमीको लागि सञ्चालन भएको महिला पञ्चेबाजा समूहबाट पञ्चेबाजासहित रोपाई कार्यक्रम गरिएको गाउँपालिकाका कृषि प्राविधिक ज्ञानेन्द्र गिरीले बताए ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय कृषकलगायत पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीले दहि चिउरा खाँदै, एक अर्कामा हिलो छ्याप्दै धान दिवस मनाएका थिए भने महिला पञ्चेबाजा समूहले साङ्गेतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँदै आएका छन् । सरकारले विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निणर्य गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया