२०८१, १२ बैशाख बुधबार

नारी दिवसः विदुरमा रौनक, सात महिला सम्मानित (फोटो फिचर)

सुनील श्रेष्ठ     फाल्गुन २५ २०७८ १४:२९

international women days
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाको आयोजनामा आधा दर्जनभन्दा बढी गैर सरकारी संघसंस्थाहरुको समन्वयमा ११२औं अन्तर्राष्ट्रिय नारी दिवस धुमधामका साथ मनाईएको छ ।

“सामाजिक न्याय र लैङ्गिक समानता, दीगो विकासको सुनिश्चितता” भन्ने मूल नाराकासाथ नुवाकोटलगायत देशभर मार्च ८ अर्थात् नारी दिवस मनाईएको हो ।

कार्यक्रम महिला मानव अधिकारका लागि महिला र समन्वयको जिल्ला सञ्जाल नुवाकोट, महिला मानव अधिकारका लागि महिला र एकल महिला, छोरी संस्था, शक्ति समूह, उद्यमशील तथा सीप विकास अपाङ्ग संघ, सङ्कल्प नुवाकोट, जिल्ला लघु उद्यमी संस्था, सुआहारा लगायतको संयुक्त समन्वयमा भएको थियो ।

सदरमुकाम विदुरचोकदेखि विदुर नगरपालिकाको कार्यालयसम्म गरिएको र्यालीमा सिर्खाली महिला पञ्चेबाजा समूहका १७ जना महिलाहरुले मौलिक पञ्चेबाजा बेजोड प्रस्तुत गरेका थिए ।

र्यालीलाई व्यवस्थापन गर्न महिला मानव अधिकारका लागि महिला र समन्वयको जिल्ला सञ्जालकी अध्यक्ष अञ्जली पाण्डे सहजीकरणमा लागेकी थिईन् ।

र्यालीमा महिला अधिकार सम्बन्धित “अन्तर्राष्ट्रिय महिला दिवस सफल पारौ”, “महिला हिसां अन्त्य गर”, “हामी महिला एक हौं”, “महिलाको घरेलु श्रमको पनि मुल्यांकन गरौँ” लगायतका विभिन्न नारा लगाएका थिए ।

र्यालीमा महिलाको हक, अधिकारको साथै पिडाबोध गीतहरु पनि गाएका थिए ।

“चरी रुखैमा नारीलाई साथ दिनु पर्दा दु:खमा
हो… नारीलाई साथ दिनु पर्दा दु:खमा”

“चरी रुखैमा नारीलाई साथ दिनु सुखदु:खमा
हो… नारीलाई साथ दिनु पर्दा सुखदु:खमा”

जानी नजानी स्वरमा स्वर मिसाई र्यालीमा सहभागी अन्य महिलाहरुले गीत गाउँदै कार्यक्रमस्थलतर्फ बढेका थिए ।

“महिला सम्मानको आधार र सीपयुक्त हात र स्वरोजगार” लगायत अन्तर्राष्ट्रिय नारासहित बालबालिका र महिलाहरुले प्लेकार्ड समेत प्रदर्शन गरेका थिए । साथै केहि संख्यामा पुरुषहरु पनि र्यालीमा सहभागी भएका थिए ।

कार्यक्रमलाई विदुर नगरपालिका वडा नम्बर १ का जनप्रतिनिधि रुपा थापा शारीरिक अपाङ्गता भएकी थापा आफ्नो उचाईभन्दा ठुलो रोष्टम भएकोले रोष्टमभन्दा केहि परबाटै कार्यक्रम सञ्चालन गरेकी थिईन् । जसले गर्दा उनीलाई असहज भएको थियो । कार्यक्रममा समानताको हकमा विदुर नगरपालिका चुकेको देखिएको थियो ।

हिंसारहित समाजको सिर्जना गर्नु आजको अपरिहार्य- उपप्रमुख दाहाल

विदुर नगरपालिको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रतिभावान महिलाहरुले कविता र गीतहरु प्रस्तुत गरेका थिए ।

कवियत्री सुमित्रा सुमी कविता वाचन गर्दै

कार्यक्रममा कवियत्री सुमित्रा सुमीले मन्दाक्रान्ता छन्दमा “नारी” शिर्षक कविता वाचन गरेकी थिईन् ।

“गौरी, गंगा हिमाशिखरकी शैलजा स्वच्छ नारी ।
राधा, सीता प्रणय नमुना शान्त हौँ साम्य हौँ नारी ।”

कार्यक्रममा सिर्खाली महिला पञ्चेबाजा समूहले आफ्नै लय र शब्द महिला दिवसबारे गीत प्रस्तुत गरेका थिए ।

“नारी दिवसमा अवसर पाएका छौं, नारी दिवस मनाउन आएका छौँ ।
चरी रुखमा नारीलाई साथ दिनु सुखदु:खमा
हो… नारीलाई साथ दिनु पर्दा सुखदु:खमा”

“सिर्खाली हाम्रो घर, दियो हाम्लाई नगरले अवसर
चरी रुखमा नारीलाई साथ दिनु सुखदु:खमा
नारीलाई साथ दिनु पर्दा सुखदु:खमा
हो… नारीलाई साथ दिनु पर्दा सुखदु:खमा”

पञ्चेबाजा समूहले कार्यक्रमका प्रमुख अतिथि सांसद नारायणप्रसाद खतिवडा, विशेष अतिथि सांसद केशवराज पाण्डे, विदुर नगरपालिकाका मेयर संजु पण्डित, उपमेयर गीताकुमारी दाहाल लगायतलाई पञ्चेबाजाको आफ्नै शैलीमा छमछमी नचाए ।

कार्यक्रममा विदुर नगरपालिकाले सिर्खाली महिला पञ्चेबाजा समूह र महिला तथा बालबालिका शाखाबाट लक्षित गरिएको तालिमबाट उद्यमी बनेका छ जना महिलाहरु प्रोत्साहन स्वरूप सम्मान गरिएको थियो ।


वृद्धा भत्ताले पुगेन!

कार्यक्रमको छेउमै बसेकी नलगाउँ घर भएकी ७३ वर्षीया भीमादेवी कोईराला भने घामको रापको प्रवाह नगरी टाउकोमा कपडा राखी रमाईलो हेर्दै थिई थिईन् ।

“१५ वर्ष भो! श्रीमान बितेको, एक्लै भाको, छोरी पनि विहे गरेर गएको धेरै भयो”, उनीले भनिन् “सरकारले दिएको वृद्धा भत्ता बढे पनि यसले खान लाउन गारो छ “।

नजिकै बसेकी पिपलटार घर भएकी डल्ली कुमाल भने शान्त भइ कार्यक्रम हेर्दै थिईन् ।

दिनले नेटो काटेकाले खाजा दिन्छ कि दिदैनन् भन्दै सोधिन् ।

“दिन्छ”

“फ्रुटी र खाजा दिन्छ ।”

यति भन्दा मख्खै! उनी ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top