२०८०, १६ चैत्र शुक्रबार

एकता र साझेदारी निरन्तर – रमेश श्रेष्ठ

डबली खबर     बैशाख २० २०७७ १२:४३

ramesh shrestha panchakanya cooperative sahakari nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

रमेश श्रेष्ठ नुवाकोटका लागि परिचित नाम हो । नुवाकोट उद्योग वाणिज्य संघमा लामो समय महासचिव रहेर काम गरेका श्रेष्ठ पञ्चकन्या वचत तथा ऋण सहकारी संस्थाका संस्थापकसमेत हुन् । धेरै साझेदारी व्यापार व्यवसाय असफल भइरहेको सन्दर्भमा श्रेष्ठको समूहमा भने अहिलेसम्म कुनै खटपट देखिएको छैन । श्रेष्ठको सफलता, कोरोना संक्रमणपछिको नुवाकोटको सन्दर्भमा उनको विचारः

विश्वास र समझदारीको यात्रा जारी

सानोमा मैले भैरुम माध्यमिक विद्यालयबाट कक्षा सातसम्मको त्यसपछि त्रिभुवन त्रिशूलीबाट २०४६ सालमा एसएलसी पास गरेँ । पिपल्स कलेजबाट त्यतिबेला आइकम पढ्दापढ्दै बालाजु यन्त्रशाला बाट मेकालिकल तर्फबाट सव ओभरसियर पास गरेँ । त्यही बेला कतारका एक जना व्यवसायी रहेछन् । उनी इजिप्टका रहेछन् । कतारमा काम गरेर बस्ने रहेछन् । उनलाई मेकानिकल काम गर्ने मान्छे चाहिएको हुँदो रहेछ । म पनि जुनियर टेक्निकल ओभरसियर पास गरेका र खासै काम नभइरहेको अवस्थामा मैले थाहा पाएँ । त्यतिबेला म बालाजु चक्रपथ नेर डेरा गरी बस्ने गर्दथ्येँ । त्यतिबेला भाइहरु पनि मसँगै पढ्दै थिए । तीन जना नेपाली चाहिएको रहेछ । नजिकै वर्कशव थियो । तीन जना चाहिएकोमा चार पाँच जना कामदार जम्मा भए । वर्कशपमा प्रयोगात्मक परीक्षा भयो । हामी तीन जना सफल भयौँ । २०५१ सालतिरको कुरा हो । म कतार गएँ । अनि केही महिनापछि म फर्किएर आएँ । कम्पनीले दुईतर्फी टिकट दिएर पठाएको थियो । म नेपाल फकिएपछि साथीभाइले मेरा बुबाममीलाई यही केही गरौँ भन्ने कुरा गरेपछि मलाई कतार जान दिइएन । त्यसबेला हामी युवा नै युवा साथीहरु थियौँ । समाजमा नाम कहलिएका अग्रहहरु पनि हामीलाई विश्वास गर्नुहुन्थ्यो । हामीले केही गर्छौ भन्ने आत्मविश्वास उहाँहरुमा थियो । हामी त्यतिबेला युवा जोश जाँगरमा थियौँ । के गर्ने त त्यतिबेला समाजमा केही नयाँ काम गर्ने र समाजसेवामा सबै मिलेर काम गर्नुपर्‍यो भनेर २०५५ सालमा लायन्स क्लव अफ त्रिशूली भनेर २० जना साथी मिलेर गठन गर्‍यौँ ।

समाजसेवाको लागि लायन्स क्लव थियो । व्यवसाय पनि गरौँ, त्यो पनि सेवा मूलक भन्ने कुरा भयो । तत्कालीन अवस्थामा समाजलाई सहज रुपमा के दिन सकिन्छ र समाजलाई कसरी आर्थिक उपार्जनतर्फ जोड्न सकिन्छ भनेर सहकारी नियमावली– २०४९ जारी भएको थियो । सहकारी गठन गर्नको लागि अलिकति सहज बनाइदिएको थियो । त्यसैले हामीले पञ्चकन्या सहकारी गठन गर्‍यौँ । नुवाकोट जिल्लामा बाहिर काउन्टर राखेर सदस्यलाई घरघरमा सेवा दिने काम गर्‍यौँ । जिल्लामा हामीले पहिलो पटक यसरी सेवा प्रदान गरेका थियौँ । अहिले पनि सहकारी जिल्लामै उत्कृष्ठ सहकारीको रुपमा स्थापित छ । त्यसपछि विभिन्न व्यवसाय गर्ने क्रममा हामीले त्रिशूली केवल टिभि प्रालिको स्थापना ग¥यौँ । पञ्चकन्या स्टार एकेडेमीको रुपमा स्कुल पनि स्थापना गरेका छौँ । पञ्चकन्या पोलिक्लिनिकको स्थापना गर्‍यौँ । अहिले सामुदायिक अस्पतालको रुपमा सञ्चालन भइरहेको छ ।

२०५१/०५२ सालदेखि हामीहरुको सहकार्यता जारी रहेको छ । यसवीचमा धेरै उतावचढावहरु पनि भोगेका छौँ । जनयुद्धको समयको त्रास, विभिन्न चरणका आन्दोलन, भुकम्पसहित अहिले कारोनाको संक्रमणको जोखिम हामीले भोगिरहेका छौं । कुनै पनि व्यवसाय सुरु गर्न त्यति गाह्रो हुँदैन । तर, यसलाई निरन्तरता दिन भने निकै चुनौतीपूर्ण काम हो । हामी जति साथीहरु व्यवसायमा आवद्ध छौँ, सबै जना व्यवसायप्रति लागि पर्ने साथीहरु छौँ । हामीले गरेका कामहरु जति गरेका छौँ । साझेदारीमा गरिएका कामहरु असफल भइरहेका धेरै उदाहरणहरु छन् । तर, हामी यस कुरामा भाग्यमानी छौँ । हामीवीचको एकता र साझेदारी निरन्तर अघि बढिरहेको छ ।

वाणिज्य संघमा १२ वर्ष

मैले नुवाकोट उद्योग वाणिज्य संघमा १२ वर्षसम्म त्यहाँको पदाधिकारी भएर काम गर्ने अवसर पाएँ । रमाइलो थियो त्यतिबेला । नेतृत्वदायी संस्थाको रुपमा संघलाई हामीले अघि बढाएका थियौँ । अहिले पनि यसरी नै अघि बढाउन सकिन्छ । कतिपय बेलामा समय अनुसार नेतृत्वले चाहेका र आँटेका कामहरु पूरा नहुन सक्छन्, संघले नेतृत्वदायी भूमिका प्रदान गर्न सक्छ । हामीले पनि कतिपय कुराहरु गर्न सकेनौँ होला । संघमा नेतृत्व गर्दा पनि सन्तुष्टी असन्तुष्टी दुवै मिश्रित खालका अनुभव छन् ।

उद्योग र विकास निर्माण सुरु गरौँ

कोरोनाको संक्रमणलाई रोक्नको लागि सरकारले रोग देखिने वित्तिकै जुन किसिमको सजकता अपनाएको छ । यसमा मेरो भन्नु केही छैन । अहिलेसम्म २१ दिन क्वारेनटाइनमा बसेपछि रोगको संक्रमण भएको नभएको पत्ता लाग्छ । तर, नेपालमा ३७, ३८ दिन भइसक्यो, लकडाउन भएको । संक्रमण देखिएका जिल्लालाई शिल गरेर सुरक्षाका उपायहरु अपनाउँदै अरु जिल्ला खुलाउनुपर्छ भन्ने मेरो मान्यता हो । यति लामो समयसम्म स्थानीय, प्रदेश र संघीय सरकारले कस्तो योजना बनाएको हो भन्ने कुनै योजना छैन । कम्तिमा यस्तो परिस्थितिमा यसो गर्ने भनेर एउटा प्लान त बनाउनु प¥यो नी । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण हुन २१ दिनसम्म लाग्छ भनेर पछिल्लो प्रमाणित गरेको छ । २१ दिनपछि अव कसरी अघि बढ्न सक्छौं भनेर योजना बनाउन सकिन्छ भन्ने मेरो धारणा हो । नुवाकोटकै सन्दर्भमा कुरा गर्नुपर्दा नुवाकोटमा कुनै रोग देखिएको छैन । यस्तो अवस्थामा नुवाकोट जिल्लामा अरुलाई प्रवेश निषेध गरेर व्यापार व्यवसाय, कामधन्धा, विकास निर्माणको कामहरु सुरु गर्नुपर्छ । अव २५ गतेसम्म लकडाउन भनिएको छ । त्यसपछि कुन जिल्लाको अवस्था कस्तो हो भनेर जोखिम, कम जोखिम जिल्ला छुट्याएर जिल्ला खुल्ला गर्दै जानुपर्छ भन्ने मेरो धारणा हो । भारतलाई मात्र हामीले हेरेर हुँदैन । भारतको र हाम्रो अवस्था एउटै नहुन सक्छ । त्यसैले भारतीय सीमा पूर्ण रुपमा बन्द गरी हामीले क्षेत्रगत रुपमा लकडाउन खुकुलो बनाउँदै जानुपर्छ ।

जिल्ला अस्पताल त्रिशूली अहिले सुविधा सम्पन्न भवनमा सेवा दिन थालेको छ । प्रदेश र संघीय सांसदहरुले अस्पतालको लागि आवश्यक सामग्री पनि हस्तान्तरण गरेको सुनेको छु । कोरोना भाइरसको कारण अस्पताललाई सुधार गर्ने सुवर्ण अवसर पनि हामीलाई प्राप्त भएको छ । यो बेलामा अस्पतालको ल्यावलाई स्तरोन्नती गरी आइसियुसम्मको सेवा दिन सक्ने गरी हामीले विकास गर्नको लागि सबै सरोकारवालाको ध्यान जानु आवश्यक छ भन्ने मलाई लाग्छ ।

-व्यवस्थापक पञ्चकन्या वचत तथा ऋण सहकारी संस्था लि.

(श्रेष्ठसँग कुराकानीमा आधारित )

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top