|| १ ||
मायालु हात
कोमल मीठो स्पर्श
मन नै चङ्गा !
|| २ ||
आँखा चिम्लँदै
आफ्नो मान्छे सम्झेथेँ
रोयो सपना !
|| ३ ||
कसिलो डोरी
बेसरी तन्काउँदा
शिथिल आस्था !
|| ४ ||
च्याप्प समाई
अँगालोमा कसेको
आत्तियो मन!
|| ५ ||
राखिदिउँला
सिउँदोमा सिन्दूर
सम्झेर आफ्नै !
|| ६ ||
लगनगाँठो
कसिएर बाँधेको
च्वाटै चुँडियो !
|| ७ ||
प्रेमको निम्तो
खुसीले भेट्न खोज्दा
छाया परेछ !
|| ८ ||
बैँसको जोश
जोगाउन मुस्किल
अन्धो बनेर !
|| ९ ||
समात्न खोजेँ
थिचिएर उफ्रिँदा
व्यर्थै प्रयास !
|| १० ||
आँखाले हेर्दा
नचिनेको मायालु
मात्तियो मन !
|| ११ ||
ओठको लाली
हेर्दामा लठ्ठिहाल्ने
लागेछ शत्रु !
|| १२ ||
मीठो बोलीमा
नजिक पर्दापर्दै
पारेछ खोक्रो !
लेखक नुवाकोट साहित्य प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष हुन् ।

प्रतिक्रिया