मेरा प्यारा पिडब्लुआईडी
लाखौंलाख शुभकामना
आज जेठ २२ देखि तिमी १८ वर्ष पुरा गरेर लक्का जवान भयौ । मलाई थाहा छ तिमी यो पत्र पढ्न सक्दैनौ र पढेर सुनाए पनि बुझ्न सक्दैनौ । तिमी जस्ता मानिसहरुका लागि प्रकृतिले गरेको यो अन्यायको समाधानको उपाय हाल सम्म फेला परेको छैन ।
सदरमुकामको जिल्ला अस्पतालमा सम्म पनि स्पिच थेरापी छैन । स्थानीय निकायको अथाह बजेट सर्वदलीय भागवण्डामा जान्छ । तिमी जस्ताको लागि उपयोगी हुने अत्यावश्यक कुराहरु उनीहरुको प्राथमिकतामा छैन ।

उमेर अनुसारका व्यबहार तिमीबाट हुन सकेन । तिमीले दोहोरो कुरा गर्न सकेनौ सहकर्मीहरु जति कुरा बुझ्न सकेनौ पढ्न सिक्न सकेनौ । तिमीबाट अस्वभाविक र अप्रिय कृयाकलापहरु हुन थाले । रुपमा तिमी राम्रो छौ शारीरिक रुपमा तिमी सबल छौ । तिमी घरको आगन अगाडी आउँथ्यौ । सडककमा बस र गाडी जे देखे पनि ससाना ढुङ्गाले हान्थ्यौ अनि वित्तातोड भागेर घर भित्र लुक्न पुग्थ्यौ । हामी अलमल्लमा पर्दथ्यौ । ढुङ्गा हान्नु तिमीमा चेतनाको कमी भएर होला तर बेतोड सँग दौडेर भाग्नु हान्नु हुन्न भन्ने चेतना पनि रहेछ होला । तिमी एकान्तमा विना अर्थका कुराहरु बोलि रहन्थ्यौ । तिमी सबैका हाँसी मजाकका पात्र हुन्थ्यौ । नवुझ्नेहरु तिमीलाई जिस्काउँदा आनन्द लिन्थे ।
तिमी अलि ठूलो भए पछि सुधार आउँछ कि भनेर मामा घरमा छाड्यौ तर तिमीलाई त्यो स्विकार्य भएन तिमीले विद्रोह गर्यौ । तिम्रो वालमन मष्तिस्कमा आघात परेछ । बाबुआमासँग मायाँममतामा बस्न पाउने तिम्रो अधिकार हामीले छिनेको कारण तिम्रो स्थिति झन प्रतिकुल बनेछ । करिब ५ महिना पछि हामीले तिमीलाई घरमा ल्यायौं साथमा राख्यौं । त्यस पछि हरेक पल्ट मामाघर जाँदा बाबुआमाले छाड्ने भयले हामीलाई पछ्याईरहे पछि हामीले तिम्रा ५ महिनाका कष्टकर दिनहरु अनुभुति गर्यौं ।

तिमीलाई के भएको हो हामीलाई थाहा हुन सकेन । साथीभाइहरु गुहारें केही समाधान आएन । त्यति बेला देविदेवताको भाकल गरि मन्दिरमा पनि गयौं । हामी तिमीलाई कुनै रोग लागेको होला भन्ने निष्कर्षमा पुग्यौं । धेरै उपचार पछि स्पिच थेरापि गर्नु पर्ने भयो । केही समय तिमीलाई तिम्रो ममीले स्पिचथेरापीको लागि टिचिङ अस्पतालमा नियमित रुपले लाने गरिन । स्पिच थेरापीले तिम्रो बोलीमा सुधार आयो । तिमी दोहोरोकुरा गर्न थाल्यौ । हामी जिल्ला सदरमुकाम विदुरमा वस्छौं । धेरै दुरदराजका अभिभावकहरुले स्पिचथेरापीको महत्व बुझेका छैनन् । सदरमुकामको जिल्ला अस्पतालमा सम्म पनि स्पिच थेरापी छैन । स्थानीय निकायको अथाह बजेट सर्वदलीय भागवण्डामा जान्छ । तिमी जस्ताको लागि उपयोगी हुने अत्यावश्यक कुराहरु उनीहरुको प्राथमिकतामा छैन । तिम्रो अरु कुराहरुमा पनि सुधार हुन्छ कि भनि हामी भौतारियौं । धेरै चहारे पछि अन्तमा सानै देखि नाम सुनेको डाक्टर सम्म पुग्यौं । उहाँबाट यस्तो मान्छेको नेपाल र भारतमा उपचार हुन नसक्ने कुरा थाहा भए पश्चात हामीले तिम्रो उपचारको अध्याय नै समाप्त पार्यौं । उहाँले केही काम गर्छ भनेर औषधी दिनुभयो । त्यो औषधी खुवाउदा शारिरीक रुपमा तिमी कमजोर भएको महशुस भए पछि हामीले त्यो औषधी पनि बन्द गर्यौं । पेशाले म शिक्षक भए पनि तिमीलाई रोग लागेको होईन औषधी उपचार गरेर समाधान हुँदैन भन्ने बुझ्न मलाई करिव १० वर्ष लाग्यो । दुरदराजमा हुने तथा शिक्षाको मौकाबाट बञ्चित हाम्रा अभिभावकहरुलाई यो कुरा बुझ्न कति समय लाग्ला अनुमान गर ।
बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई सिक्न कठिनाई हुने र स्मरओण शत्ति कम हुने कारणले तिमीले अरु सरह पढ्न सकेनौ । कक्षा १ को रिजल्टमा तिमी फेल भयौ तर कक्षा २ मा पढ्न तिमीले अड्डी कस्यौ । अहिलेको शिक्षा पद्धतिमा पढ्न नसक्ने अपाङ्गता भएका विद्यार्थीहरुलाई कसरी प्रोत्साहन दिने भन्ने सोचको अभाव तथा विद्यार्थीको मनोभावना आत्मसाथ गर्न नसक्ने शिक्षकबाट तिम्रो समस्याको सम्बोधन हुन सकेन । मैले तिमीलाई सरकारी विद्यालयको कक्षा २ मात भर्ना गरें तर हालको शिक्षा पद्धतिले तिमी जस्ताको समस्या सम्बोधन गर्न सकेको छैन । तिमी जस्ताको क्षमता विश्लेषण गरेर उपयोगी व्यवहारिक शिक्षा दिने गरिएको छैन । सबैका लागि शिक्षा भनेर नारा लगाए पनि तिमी जस्तालाई कसरी प्रभावकारी शिक्षा दिन सकिन्छ भनेर राज्यले सोचेको छैन । तिमी जस्तालाई फेल बनाउन मात्रै उसले जानेको छ । हामीलाई थाहा छ तिमीलाई विद्यालयमा सहपाठीहरुले जिस्काउँछन् खिसिट्यूरी गर्छन् । करीब १००० जनाको माझमा तिमी छौ । शिक्षकलाई धेरै विद्यार्थीहरुको माझमा एकाध हुने तिमी जस्ताको समस्या सँग चासो राख्ने फुर्सद हुँदैन हालको विद्यालय शिक्षा तिम्रो हकमा उपयोगी नभए पनि तिम्रो सामाजिकिकरणमा यसले सहयोग पुर्याएको छ । तिमीलाई धेरैले चिन्ने बुझ्ने मौका मिलेको छ । मेरो बुझाईमा उनीहरुले विस्तारै विस्तारै तिमीलाई जिस्काउन छाडेका छन् । तिमीजस्तालाई सकारात्मक वेयवहार गर्नु पर्छ भन्ने शिक्षा धेरथोर पाएका छन् ।
मैले शुरुमा बुझेको अपाङ्गता भनेको शारीरिक रुपमा कुनै अङ्ग नहुनु वा भए पनि अरु सामान्य मानिस सरहको नहुनु थियो । हाल पनि सामान्य मान्छेको कुरा छाडौ अधिकांश नीति निर्माण तहमा रहेका अधिकारीहरु र स्थानीय सरकारले समेत बुझेको अपाङ्गता यहिँ हो । अहिले पनि तिमीलाई झट्ट हेर्नेले अपाङ्गता भएको भनेर विश्वास गर्दैनन् । मलाई कौतुहल थियो शारीरिक रुपमा सक्षम पनि छौ सुन्दर पनि छौ त्यसैले अपाङ्गता भनिदैन होला तर के भनिन्छ होला । पछि बुझ्दा बौद्धिक विकास नभएको कारणले उमेर र वातावरण सापेक्ष काम गर्न कठिनाई हुने व्यक्तिलाई बौद्धिक अपाङ्गता भनिने रहेछ । तिम्रै कारणले म पनि अपाङ्गता अभियानमा जोडिएँ किनभने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता सुविधा र प्रतिनीधित्वको अधिकार अभिभावकको हुन्छ भन्ने कानूनी व्यवस्था छ । अरु शारीरिक अपाङ्गता भएका, आँखा देख्न नसक्नेहरु र श्रवण शक्ति नहुनेहरु आफ्नो कुरा राख्न सक्षम हुने तर बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु नहुने कारणले अभिभावकलाई त्यो अधिकार हुने मान्यता रहेछ । हामीले २०६२ सालमा पुर्णलाल श्रेष्ठ सरको अध्यक्षतामा सुस्थ मनस्थिती अभिभावक संघ नुवाकोट नाम सामाजिक संस्था गठन गर्यौं । हाम्रो संस्था समेत देश भरका संस्थाहरुको सहभागितामा राष्ट्रिय स्तरमा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ समेत गठन भएको छ ।

समान उमेरका साथीसंग तिम्रो चेतनाको स्तर नमिल्ने कारणले खेल्न र कुरा गर्ने साथी पाउन पनि तिमीलाई कठिनाइ हुन्छ । भाइ बहिनीका उमेरका बच्चा देखि गाउँले छरछिमेकीले जिस्काउँछन् । अपमान जनक शब्द बोल्छन् । तिमीलाई पिडा हुन्छ । कतिपय विद्यालयले त तिमीजस्ता विद्यार्थी भर्ना नै लिंदैनन् । पढ्न नजान्ने भनेर अपमानित पनि गर्छन् । घर परिवार अर्थात आफ्नै बाबुआमाबाट पनि तिमीहरु जस्तालाई हेलाँ गरिन्छ । पढ्न सकेन कमाई गर्न सकेन भनेर शारीरिक हिँसा तथा गाली पनि गरिन्छ । कतिपयले खौर बनाएर थुन्ने साङ्गलाले बाँधेर राख्ने गरेको पनि पाईन्छ । यस्ता प्रकृतिको व्यक्तिलाई माया ममता र अवसर दिनु पर्छ । उनीहरुको समस्यालाई गम्भिरता पुर्वक अभिभावकले ध्यान दिनु पर्छ । उनीहरुको भावनाको सम्मान गर्नु पर्छ भन्ने बुझाई सबैमा आउन सकेको छैन । हामीले नुवाकोटमा २०७१ साल जेठ २२ गते का दिनबाट दिवा हेरचाह केन्द्र हुँदै २०७४ सम्ममा बौद्धिक अपाङ्गताका आवासीय श्रोतकक्षाका रुपमा शिक्षा विकास तथा समन्वय ईकाई मार्फत सामुदायीक विद्यालयलाई जिम्मा लगाउने उद्धेश्यका साथ विदुर-५ वि पी स्मृती प्रा वि मा दिवा केन्द्र सञ्चालनमा ल्यायौं । केही समय त राम्ररी नै सञ्चालन गरियो तर कोही कसैको नजरमा यो कार्य पाप कर्म जस्तै सावित हुन खोज्यो ।२०७२ बैशाख १२ मा भुकम्प पनि गयो तै पनि हामी लडिरह्यौं । खै के भन्ने वि न पा मार्फत जग्गा उपलब्ध गराउन पनि ठूलो भूमिका नै निर्वाह गर्नु पर्यो । जसो तसो उपलब्ध भएको जमिनमा पनि धेरै समस्याका कारण पूनर्स्थापन गर्न सकिरहेको थिएन । यसै मामीलामा तेतिबेला शिक्षा कार्यालयबाट श्री चन्द्र बहादुर खड्का ज्यूले सहयोग गर्ने अपेक्षा सहित फेमिलि टेन्ट प्रदान गर्नु भए पश्चात कपुरको रुख मुनि टेन्ट राखेर फेरी सेवा दिन थाल्यौं । विभिन्न संघ संस्थाहरु आए हेरे अनि गए । तर भुकम्प जानु एक महिना अघि मात्र भोलेन्टियरको रुपमा प्रस्तुत हुन अएकी नर्वे निवनसी निनाले आएर अभिभावकहरुमाझ भेट३ट र आश्वासन संगै रु तीन लाख रुपियाँ सहयोग र ६ घर परिवारलाई जस्ता पाता प्रदान गरिन । तत्पश्चात SERC बालुवाटार र करुणा फाउण्डेशनबाट अध्ययन गरी भवन बनाउने पक्का भयो । र शुरुवात भये । भवन निर्माण शुरु भए पछि माईराईट नेपाल र FUB स्वीडेन मार्फत पनि सहयोग प्राप्त भै भुकम्प प्रतिरोधी भवन निर्माण भयो । तत्पश्चात विदुर नगरपालिकामा बौद्धिक अपाङ्गताका पूर्व प्राथमिक विद्यालय दर्ता पनि गरियो । यसरी तिम्रा आवश्यकताहरु पुरा गर्दै जाने क्रममा फेरी तिम्रा आवश्यकताहरु बढ् जान थाले फेरी कम्पाउण्ड फर्निचर तथा शैक्षिक सामग्री लगायतका वस्तुहरुको आवश्यकतालाई मध्य नजर गरी विभिन्न संघ संस्थाहरुलाई अनुरोध गरी ती समस्याहरुसगंग जुध्दै आउने क्रममा हल्यान्डका केही भोलेन्टियर विद्यार्थीहरु मार्फत २६ थान कुर्सी किचन टेवल ३थान सेतो पाटी तथा १ थान टेवल निर्माणमा SERC बालुवाटारका प्रिन्सिपल कल्पना बस्नेत ज्यूको सहयोगमा प्राप्त भयो । तेस्तै आवासीय सेवाका लागि भनि ३ कोठे भवन जि स स रोटरी क्लब संसद विकास कोष अटिजम केयर नेपाल सोसाइटि बाट रु २८ लाख बराबर सहयोगमा निर्माण गरियो । जसलाई पूर्णता दिन सकिएको थिएन ।
बौद्धिक अपाङ्गता भएकाहरुका लागी एक जना आया को व्यवस्था भनिए पनि एक जनाले २० जना हेर्दा समेत समयमा नै पारिश्रमिक प्राप्त गर्न नसक्दा आयाले पनि अब काम गर्न नसक्ने अवस्थामा पुगिसकेको छ ।
स्थानीय निकायको निर्वाचन पश्चात गाउँगाउँमा सिंहदरबार आयो तिमीहरुका लागि पनि सामुदायीक विद्यालयमा नै अध्ययन गर्न पाउने भयौ । हामी खुशीले यति धेरै गदगद भयौ । साँच्चै तिमीहरु त्यो भवन छाडेर सामुदायीक विद्यालयमा नै जानु पर्ने नै भयो । तिमीहरुका ति भवनको तिम्रा अफिसमा स्थानीय निकायको अफिस बस्यो । तिमीहरुका लागि पून निर्माणाधीन टहरामा अफिस सञ्चालन भयो । फेरी अभिभावक संघ र तत्कालिन शिक्षा अधिकारी श्री चन्द्र बहादुर खड्का ज्यू साथै च्वाडी पब्लिक मा का प्र अ टिका राम खरेलको सहमतिमा १६ जना बालबालिकाहरुका लागि आवासीय छात्रवृत्ति प्रदान गर्ने वातावरण तय भयो । तर विडम्बना अवासीय सेवा त के कुरा दिवा सेवाका लागि समेत भवन को अभाव भयो । पून नगरपालिका बाट कर सहित रु १० लाख दिवा सेवा केन्द्र सञ्चालन का लागि अन्तिम वर्षका लागि माईराईटबाट प्राप्त ३ लाख ४२ हजार विउ पुँजीको रु १ लाख गरि जम्मा रु १४ लाख ७२ हजारमा ४ कोठे भवन निर्माण गरी शिक्षा विकास तथा समन्वय ईकाईबाट सामुदायीक विद्यालय श्री च्वाडि पब्लिक मा वि को समन्वयमा २ कोठे गरी जम्मा ६ कोठे ट्रष्ट भवन त वनायौं तर शौचालय कसरी बनाउने अवतजावतका लागि बाटो यो पनि हामीले वनाउन सकेका छैनौं । अनि फेरी भवनको तल्ते पट्टि बालुवा खानी छ । त्यो हेर्नका लागि तिमीहरु दौडन्छौ । त्यसका लागि कम्पाउण्ड बार लगाउन पनि सकेका छैनौं । झन अहिले तिमीहरुका लागि दक्षा र तालिम प्राप्त शिक्षाकका लागि पारिश्रमिक समेत दिन सकेका छैनौं । सामुदायीक विद्यालयबाट स्थायी शिक्षक त तिमीहरुका लागि ईकाईले पठाएको छ । दक्ष र तालिम प्राप्त शिक्षाकको सट्टामा आएको उसले तिम्रा लागि काम गर्न भन्दा पनि तिम्रा बारेमा बुझ्न समेत चाहेको छैन । उक्त स्थायी शिक्षकले १० देखी ४ वजे सम्म आफ्नो उपस्थिती त देखाउलन नै आफ्नो जागिरको सोजो गर्न तर तिमीहरु विमारी पर्दा २४ सै घण्टा सेवा दिन तैयार शिक्षक दिन सकिएको छैन । तिमीहरुका लागि प्रदान गर्दै आएको छात्रवृत्ति समयमा नै प्राप्त गर्न नसक्दा र राज्यको नीति अनुरुप १० जना बौद्धिक अपाङ्गता भएकाहरुका लागी एक जना आया को व्यवस्था भनिए पनि एक जनाले २० जना हेर्दा समेत समयमा नै पारिश्रमिक प्राप्त गर्न नसक्दा आयाले पनि अब काम गर्न नसक्ने अवस्थामा पुगिसकेको छ ।

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले वैवाहिक जीवन व्यतित गर्न नपाई कुण्ठित हुनु परेको छ । कतिपयको अभिभावकले विवाह गरिदिए पनि घरजम हुन सकेको छैन ।
त्यसैले, वावु PWIDs, यो समाजमा तिमीलाई जीवन जीउन कठिन हुन्छ भन्ने हामीलाई थाहा छ । तिमीमा कुनै स्वार्थ छैन, छलबपट छैन । तिमीहरु परमेश्वरका निर्दोष सन्तान हौ अझ भन्दा तिमी साँच्चै नै जिउँदो परमेश्वर हौ भन्ने मलाई लाग्छ । म तिमी देखि खुशी छु , रहिरहने छु किनकी कामीलाई नजिकबाट माया गर्ने र सेवा गर्ने सन्तान तिमी नै हुनेछौ । घरमा तिम्रो दिदि र भाइहरु भन्दा तिमी आज्ञाकारी छौ । सकेको र जानेको हरेक काम गर्न तिमी हरदम तैयार छौ । तिमीलाई सक्ने काम दिए त्यसमा सहजै लाग्ने तिम्रो स्वभाव छ । तिमी हाम्रो लागि जसरी सेवा गर्न तयार छौ । त्यसरी सेवा गर्ने मान्छे तिम्रो लागि हुँदैनन् कि भन्ने चिन्ता हामीलाई छ । मुख्य समस्या त के हो भने – परिवार र समाजले तिमीहरु जस्ता व्यक्तिहरुको क्षमता पहिचान गर्नुको साटो सामान्य मानिस सरहको व्यवहारको मात्र अपेक्षा गरेको छ ।
खुशीको कुरा तिमीलाई सानोमा देख्नेहरु सबैले तिमीमा आमुल परिवर्तन आएको महशुस गरेका छन् । त्यस केन्द्रमा राख्नाले त्यस्तो मान्छे कसरी यस्तो राम्रो भयो भनेका छन् । तपाईको वावु धेरै सुध्रीयो भनेका छन् । वास्तबमा मैले पनि त्यही महशुस गरेको छु । उमेर संगै तिमीमा अकल्पनीय परिवर्तन आएको छ । हुन त हामीले तिम्रो लागि केही दुख्ख गरेका छैनौं तर पनि परिवारको स्नेह र सोही अनुसारको वातावरण पायो भने बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको व्यवहारमा सुधार ल्याउन सकिन्छ भन्ने आभाष तिमीबाट पाएका छौं । मलाई आशा छ तिम्रो हर्क जन्मदिनमा हामीले सकारात्मक संकेतहरु महशुस गर्न पाईरहनेछौं ।
तिमीले भन्ने गर्छौ – भालेकट कपाल काट्न र कपालको फुर्कोमा हरियो रङ्ग लगाउन मन लागेको छ । तिमी यूवा अवस्थामा प्रवेश गर्दैछौ । हामीलाई तिम्रो यौन चाहना र दाम्पत्य जीवनको चिन्ता शुरु भएको छ । हुन त कसैले विवाह गर्ने भनि सोध्दा बाबासंग वजार जान पाउँदैन नगर्ने भनी तिमीले जवाफ दिएको भन्ने पनि सुनेको छु । धेरै अपाङ्गता भएका व्यक्तिहरुलाई अभिभावकले विवाह नगरि दिने र विवाह गर्न आवश्यक नठान्ने गर्दछन् । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुले वैवाहिक जीवन व्यतित गर्न नपाई कुण्ठित हुनु परेको छ । कतिपयको अभिभावकले विवाह गरिदिए पनि घरजम हुन सकेको छैन । आफ्नो निर्वाह गर्न नसक्नेले परिवारको बोझ कसरी उठाउन सक्ला ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ तर हामीलाई थाहा छ- विवाह गर्ने र परिवार बसाउने तिम्रो मानव अधिकारके हामीले सम्मान गर्नु पर्छ ।
आम मानिसको सोचाई विपरित म खुशी छु । मलाई तिमी बोझ महशुस भएको छैन किनकी तिमी निरञ्तर मेरो सेवामा हाजिर छौ । तिम्रो कारणले राज्यले पर्याप्त ध्यान दिन नसकेको अपाङ्गताको क्षेत्रमा काम गर्ने मौका पाएको छु । जिल्लाका बौद्धिक अपाङ्गता भएका व्उक्तिहरुको हितमा सेवा गर्ने मौका पाएको छु । देशभरका अभिभावहरुसंग चिनजान गर्ने अवसर पाएको छु । आफ्ना ज्ञान सिप पिडा र खुशीहरु बाँड्ने तथा नयाँ कुराहरु सिक्ने अवसर पाएको छु । एउटा फरक सामाजिक अभियानमा आफूलाई समर्पण गर्न पाएको छु । त्यसैले फेरी पनि तिमीलाई लाखौंलाख शुभकामना । शुभकामना।। शुभकामना।।।
उहीं तिम्रो चिन्तनशील सहयात्री
राजिन्द्र

प्रतिक्रिया