– श्रीराम श्रेष्ठ
आठौँ नवौँ शताब्दीतिर परसियन कविताले संसारलाई प्रभाव पारेको थियो । पछि आएर बाह्रौँ शताब्दीतिर भारतीय परम्परामा साथ दिने कविताको मुहानले नयाँ रूप लियो । धार्मिक मान्यतालाई भन्दा साहित्यिक प्रभुत्वलाई प्रधान्यता दिएर हिन्दू र मुस्लिम दुवैलाई भारतीयहरूले महत्व दिए । परसियन कवि तथा इरानियन कविहरूको देनले भित्र्याएको साहित्यले भारतमा आइपुग्दा राम्रो मलजल पाउन थाल्यो । परसियन, अफगानी तथा इरानियनको प्रभावशाही गतिले उर्दूको परम्परा विकसित हुन पुग्यो ।
दसौँ शताब्दीको इरानियन व्यक्तित्वले Abusaid लाई पहिले परसियन कविको रूपमा मर्यादित गर्न पुगे । रहस्यमय विषयवस्तुको आधार शिला तयार पार्न सक्ने क्षमता उनमा थियो । इरानमा एघारौँ शताब्दीको मध्य भागमा उमर खैयामको व्यक्तित्वलाई फिजराल्डले बुझेर नै उनका कवितालाई अनुवाद गर्न पुगें ।
तेह्रौँ शताब्दीतिर खुसरीले एउटा बाटो तयार पार्ने काम गरें । रूमी तेह्रौँ, हाफिर चौधौँ र सादी बाह्रौँ शताब्दीका प्रख्यात कवि थिए । पर्सियन, इरानी,उर्दू, साहित्यको जंगमले भारती साहित्यमा ठूलो भूमिका खेल्ने मौका पायो । फिजराल्डले उमर खैयामको कवितालाई छन्दमा ढालेर एउटा विशेष रूप दिएकोले नै उमर खैयाम विश्व प्रसिद्ध हुन पुगे । फिजराल्डपछि भारतमा विभिन्न खालका कविहरूको देखासिकीको लहर बढी हाल्यो ।
तेह्रौँ शताब्दीका खुसरी भारतका ठूला परसियन कवि थिए । जसले कविताको क्षेत्रमा एउटा नयाँ बाटो देखाई दिए । यसरी सुरु भएको परम्परा विकसित हुँदै गयो । भारतीय परम्परामा ठूला ठूला व्यक्ति जन्मिए । परसियन तथा इरानीहरूको प्रभाव स्वरूप विभिन्न मोडले साहित्यमा नयाँ नयाँ स्वर देखा परे । जे जस्तो अघि बढे पनि एघारौँ शताब्दीका प्रमुख व्यक्तित्व उमर खैयामको कवितालाई उन्नाइसौँ शताब्दीतिर फिजराल्डले अनुवाद गरेर बाहिर निकालेपछि पश्चिमी जगत्मा हल्ला खल्ला मच्चियो । कविताको भिन्दै रूप अहिलेसम्म पनि जिउँदो भएरै रहेको छ । विभिन्न विद्वानहरु भारतमा जन्मिए गजलको रूपमा देखा परे, सायरीको रूपमा देखा परे । नामको रूपमा देखा परे तर सबैको आधार उमर खैयामको रूवाईमाथि गरिएको अनुवाद नै अडेको छ । यस विषयमा भारतीय परम्पराले आफ्नो बौद्धिकताले परसियन, इरानीका साथै उर्दूको विकासका लागि ठूलो भूमिका खेल्न सफल भएको छ ।
उर्दूमा मुख्य रूपले भारतीहरूले लेखे पनि परसीयन तथा इरानीयनको गन्धले छोइ नै रह्यो । गालिब, इकवाल, मीरहरूले एउटा नयाँ जग खने । इकवालले भारतीय शैलीलाई नै प्राथमिकता दिए । एउटा महत्वपूर्ण पक्ष के हो भने इकवालले विभिन्न किसिमको शैली प्रयोग गरे । साथै समयलाई ध्यान दिएर नयाँ नयाँ बाटो अपनाउनु काम पनि गरे ।
साहित्यको माध्यम दिगो हुन पुग्यो र विकासको क्रम अघि बढ्न सफल भयो । परसियन साहित्यको प्रभाव उर्दू साहित्यमा पनि त्यक्तिकै मात्रामा पुगे तापनि आ–आफ्नो किसिमले नयाँ नयाँ विषयवस्तु र शैलीलाई अपनाउन पछि परेनन् । इरानीयनहरूले उमर खैयामको व्यक्तित्वलाई अघि सारेर आफ्नो प्रभुत्व खोज्ने काम पनि पछिल्लो समयमा सुरु गरिरहेका छन् ।
शैली र छन्दको रूप बस्न थाले हिन्दी साहित्यमा नयाँपन देखा पर्न थाल्यो । गजलको रूपमा बाँधिएका कवितालाई गजल भनिन थालियो । स्वास्नी मान्छेसँग कुराकानी भनिने गजल शैलीले एउटा नियमको आधारमा कविता लेखिनुपर्ने भयो ।
फिजराल्डले पनि नियम बनाएर उमर खैयामको कवितालाई रूवाइमा नामकरण गरे । गजलका दुई Couplet जोडेर चार लाइनको कवितामा ढालिदिए । हिन्दी कविहरूले फिजराल्डको रूवाई शैलीलाई बङ्ग्याएर त्यही रूपमा कविता लेख्न थाले । पहिलो र अन्य जुनसुकै Couplet जोड्ने बित्तिकै चार लाइनको कविता बन्न पुग्यो । नियम छैन । जति अक्षरमा लेखे पनि हुने भयो । स्वतन्त्र अभिव्यक्ति भनेर चिच्याउन थाले । तिनैको नक्कल नेपालीहरूले पनि फिजराल्डलाई मूल मानेर भारतीय कविहरूको अनुकरणमा जेजस्तो लेखे पनि हुने तरिका अपनाउन पुगे । एकातिर गजलको रूप फेरियो भने अर्कोतिर मुक्तक भन्दै गजलको बहरशैली अपनाउन थालियो । कहिले उमर खैयामको नाम लिन्छन् । कहिले हिन्दीका नाम चलेको मुक्तककारहरूको नक्कलमा आफ्नो प्रभुत्व जमाउन सफल भइरहेका छन् । गजल मुख्य रूपमा प्रेम र प्रणयलाई गम्भीर रूपमा हेर्छ । गजलमा अरेबिक, परसियन, इरानी, उर्दू हुँदै हिन्दीमा परिणत हुन पुग्यो ।
नेपाली गजलको इतिहास त्यति लामो छैन । संस्कृतको परम्परा र त्यसपछि त्यसैलाई आधार मानेर कविता लेख्ने चलन निस्कियो । संस्कृत साहित्यले नै प्रभाव पारेको थियो ।
छन्दलाई बढी जोड दिइएकोले लयात्मक कविताको रूप लिँदा केही प्रभाव अवश्य हुन पुग्यो । खास गरेर मोतीराम भट्टले चलाएको आन्दोलन हिन्दी परम्परा र भारतमा प्रभावित गजलले स्थान पाएको थियो । उर्दू र हिन्दीका विशेषज्ञ तथा भारतीय कविहरूको सङ्गतले आफ्नो स्थायित्व राख्न सफल भए ।
फिजराल्डको शैली हिन्दी कविहरूको प्रभावमा शृङ्गारिक मुक्तकहरूको साथै गजलसमेत नेपालमा भित्र्याउने काम गरे । उमर खैयामको प्रभाव राम्रोसँग परेको थियो । मोतीरामले आफ्नै किसिमको मण्डली स्थापना गर्नु र जमघट गराएर छन्दबद्ध रूपमा लिएको कवितामा रस घोल्न सक्नु मोतीराम भट्टको विशेषता हो ।
तर आधार उर्दू र हिन्दी नै बनाए मोतीरामले । परसियन प्रभाव परेको हिन्दीका कविहरूसँग मोतीराम भट्टको उठबस थियो । मोती मण्डलीको नेतृत्व लिएका मोतीरामको प्रभाव तिनीहरूमा पर्नु स्वभाविकै हो । मोतिरामले वि.सं.१९३८ देखि चलाएको अभियानलाई नै आधार मानेर काल विभाजन गर्नेहरू पनि छन् । माध्यामिक काललाई दुई भाकमा बाँड्ने पनि छन् । वि.सं. १९३८ देखि वि.सं. १९६० अर्थात् मोतीराम र उनका मण्डलीदेखि (प्रेमामृत वचन) सम्मका कवि तथा नाटककार पहलमानसिंह स्वाँरसम्मको काल ।
वि.सं. १९६१ देखिको अभियान शम्भुप्रसाद ढुङ्गेलका नेतृत्वमा अघि बढेको देखिन्छ । लेखनाथ, चक्रपाणि चालिसे, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ताको संलग्नता देखिन्छ त्यतिखेर । जुन समयलाई शृङ्गारधाराको मध्ययुग मानियो । गजल र छन्द कविताले लेराएका चहलपहल व्यापक देखियो । १९६३ मा निस्केको पहलमान स्वाँरको नाटक प्रसिद्धि पायो । यही कालमा सुक्ति सिन्धु (१९७३) र बालकृष्ण समको नाटक १९८६ ले महत्वपूर्ण भूमिका खेलेको छ । माध्यामिक कालको अन्त्य १९८६ मा गएर टुङ्गिन्छ । १९८६ देखि २००७ सम्मको अवस्था मोतीमण्डलीपछिको गजल मोडलाई अघि बढाउने काम भीमनिधि तिवारीबाट भयो ।
भीमनिधि तिवारीले आठ नौ वर्षको उमेरदेखि गजल लेख्न सुरु गरे । उनको गजलमा सैद्धान्तिक ज्ञान थियो । वि.सं. १९९३ मा एक सय दुई थान गजलहरूको सङ्ग्रहको रूपमा ‘बयासी र बीस गजल मेरी’ निकाले । उनले मोतीराम भट्टको गजल लेखन शैलीलाई पछ्याएको देखिन्छ । यसरी उनले शिथिल हुन लागेको गजललाई मलजल गर्ने काम गरे ।
माध्यामिक कालका अर्का प्रतिभा थिए– उपेन्द्रबहादुर जिगर । उनले गजलका संरचनागत मान्यतालाई राम्ररी निर्वाह गरेका थिए । वि.सं. १९९६ मा ‘एक सय एक गजल’ नामक गजल सङ्ग्रह उनको प्रकाशन भयो ।
नेपालका सबैले त्यही भारतीय परम्पराले सिर्जना गरेको परिवेशलाई नै केन्द्रविन्दु बनाएर गजल लेखे । सबै जनालाई एक रूपमा बाँध्ने काम फिजराल्डले अनुवाद गरेको उमर खैयामको रूवाई नै थियो । रूप बदल्ने र मोड्ने क्रम मात्र भयो । २००७ पछि गजलको रूप फे-यो । उमर खैयामको ख्याती नेपालमा खूब भयो । नेपालीमा धेरैले अनुवाद गर्न पुगेँ । नारायणप्रसाद बासकोटाले अभियान चलाए । शङ्कर लामिछानेको प्रभावमा परेका कविहरूले मुक्तकीय रूपमा उमर खैयाम शैली अपनाए । उमर खैयामको दूइवटा Couplet जोडेर चार लाइनको कविता फिजराल्डले जसरी बनाएका थिए । त्यसैको अनुकरणमा मुक्तक लेखिन थाल्यो । गजलको राम्रोसित विकसित हुन सकेन । नियममा बाँढिनुपर्ने लेखन गाह्रो मान्नेहरूले बिस्तारै छाड्दै गए । गजललाई महत्व दिनेहरूले गजलको विकृत रूप मुक्तकमा मिसाए अर्थात् ‘बहर’ प्रयोग गर्दा फिजराल्डलाई बदनाम गर्न पुगे । स्वतन्त्रताको नाममा जुनसुकै लाइनमा जति अक्षर राख्ने पनि हुने अवस्थामा पु-याए ।
भारतीय लेखनमा पनि विभिन्न मोड आए पनि एउटा सैद्धान्तिक रूपमा अघि बढेका छन् । उमर खैयामको रूवाईबाट प्रभावित भारतीय व्यक्तित्व हरिवंश राय बच्चनले रूवाई शैलीमा आफ्नो पन आफ्नै तरिकाले दिन सफल भएकाले नै उनको अस्तित्वले विश्वसाहित्यमा प्रभाव पार्न सफल भयो । फिजराल्ड शैलीमा पनि उनले लेखे– त्यस्तै भारतीय गजलकारहरूले परम्परागत शैलीमा अलि परिवर्तनले गजलको विकास गरिरहेकोले अझै गजलको महत्व बढी रहेछ । नाम चलेका भारतीय गजलकारले फिजराल्ड शैलीमा पनि गजल लेखेका छन् । फिजराल्डले प्रत्येक लाइनमा १६ अक्षर राख्ने र तेस्रो लाइनको अगाडि अलिकति ठाउँ छाडेर कविता लेख्ने नियम बनाएका छन् ।
वि.सं.२००७ पछि वच्चन काठमाडौँमा आए । प्रभावशाली व्यक्तित्वको प्रदर्शन गर्न सफल भए । अध्ययन नभएकाहरूले बुझ्न समय लाग्यो । शङ्कर लामिछाने र अन्य विद्वान्हरूले नयाँ गोरेटो खन्ने काम गरे । त्यसमा नारायणप्रसाद बासकोटाको पनि सहकार्य थियो । भीमदर्शन रोका र शङ्कर लामिछानेले बढी मात्रामा अघि बढेकाले यो विकसित हुन पुग्यो । त्यसबेला वच्चनको प्रभावले मुक्तक लेख्ने र प्रकाशित गर्ने अभियान नै चलेको थियो ।
अठारौँ शताब्दीका गालीन, उन्नाइसौँ शताब्दीका इकवाल, अठारौँ शताब्दीका गुलाम अलि, तेह्रौँ शताब्दीको रूमी, चौधौँ शताब्दीको लक्षिकजस्ता व्यक्तिहरूले साहित्यलाई माथि उठाउने काम गरेका हुन् । यिनैको आधारमा नयाँ नयाँ शैली, सिद्धान्त तय हुन पुगेको हो ।
आधारशीला तयार पार्ने काममा यिनीहरूको ठूलो योगदान छ । बिर्सन नसकिने व्यक्तित्वको रूपमा रहेका यिनीहरूको कविता, गजल, मुक्तक आदिलाई विभिन्न नाममा नयाँपन दिएर लेखन प्रकृयालाई विश्वसम्म पु-याउने काम भइरहेछ ।
गजल नेपालको भूमिमा जन्मेको होइन । हुन त हाइकु, ताङ्का, सेदोका, मण्डा, मुक्तक, सिजो जस्ता पनि अन्य देशबाट हाम्रो देशमा आयतीत नै हो । तर पनि यी सबै विधालाई सम्मान गरिसक्यौँ । त्यसो त नेपाली साहित्यमा गजल विधाले महत्वपूर्ण स्थान ओगट्न सफल भइसकेको छ । मोतीराम भट्टको युग वि.सं. १९४० लाई मान्ने हो भने नेपाली गजलले १३४ वर्ष पार गरिसकेको छ ।
बट्टार, नुवाकोट

प्रतिक्रिया