sujim advert

कल्याणपुर देउराली किसान विद्रोहका गुमनाम योद्धा : चिमो तामाङ

    ७ वर्ष अगाडि

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

Chimo Tamang Nuwakot Farmer Leader
bidur tax consultancy services in nuwakot

नारायण नेपाल / तत्कालिन पश्चिम नेपाल एक नम्बर खनायोवास गाउँमा एउटा ठूलो आँधी चल्यो । किसान विद्रोहको लहर उठ्यो । राज्यको दमनको निशाना सोझा गाउँले जनतातिर सोझियो । खनायोवास विस्तारै शान्त हुँदै गयो ।

त्यही भावभूमि र प्रेरणामा नुवाकोटको कल्याणपुरमा किसान विद्रोहको अर्को भिल्को उठ्यो । विद्रोही र राज्यका सुरक्षा फौज बीच लडाई चल्यो । धेरै स्थानीय जनहरु बिस्थापित भए । देशमा निरंकुशताको उदय भयो । घटना विस्तारै विस्मृतिमा हराउँदै गए ।

सत्ता र शक्तिको रवाफ, प्रभावमा परेकाहरुको स्तुति गान र आत्मवृतान्तहरु निकै लेखिएका छन् । इतिहास वर्तमानको जननी हो र त्यसको शिक्षा भविष्यको मार्गदर्शक बन्न सक्छ । यस्तै आर्दशबाट अभिप्रेरित मेरो लेखन यात्रा निरन्तर जारी छ ।

पुलिस आएपछि बन्दुक खोसाखोस भयो, धेरै मानिसहरु घाइते भएका थिए ।

‘आम्मै राजा छैन भन्ने कसले चलाएको देश ?’

‘गरिब मास्ने धनी गरीब समान बनाउने लडाई थियो त्यो लडाइ ।’

माम्ले खुसक्क सोधिन्– ‘तिमीहरु आएको कुरा अरुलाई भनौं कि नभौं ।’

माओवादीका जिल्ला सेक्रेटरी कमरेड मिना, पारसलाल र म त्यस्तै एउटा गर्भीलो इतिहास बोकेकी गुमनाम योद्धाको खोजिमा नुवाकोट जिल्ला साविक देउराली गाविसको गोगने गाउँतिर २०७३ फागुनमा लाग्यौं । तामाङ समुदायको बाहुल्यता भएको गाउँ भाषिक हिसाबले मलाई अलि असहज थियो । कमरेड मिना र पारस सरको सहजिकरणले कल्याणपुर किसान विद्रोहका घाइते योद्धासँगको भेट सहज बन्यो ।

यो लेखनको खेस्रा देउराली गोगने यात्राबाट पर्के लगतै कोरेको थिएँ । तर, खै केले हो साफ गरेर प्रकाशनको लागि पठाउने कार्य भने अल्झिरह्यो । प्रकाशन हुन सकेन । सैलुङअनलाइनका मित्र इन्द्रजीको अनुरोध पछि लेखनलाई अन्तिम रुप दिनका लागि योद्ध चिमो तामाङको हाल बुझ्न फोन गरेँ । माम् (बज्यै) २०७४ असारमा वितीसकेछन् । साह्रै दुःख लाग्यो । मन भारी भयो । पुनः भेट्ने मेरो चाहन अधुरो रह्यो । यही लेख मार्फत् हार्दिक स्रद्धाण्जली !

देउराली गाउँ विद्रोहीहरुको आस्थाको केन्द्र थियो । सामाजिक उत्पीडन र विभेदको विरुद बन्दुक बोक्ने प्रेरणा विरबहादुर बाईवाहरुलाई त्यही समाजले दिएको थियो । त्यही समाजले उनीहरुलाई जनयुद्धको समरयात्रामा सपरिवार होम्ने आर्दश सिकाए । प्रविण, टेकमान र विजय जस्ता साहासीक छापामारहरु समरयात्रामा उच्च बलिदानका लागि समर्पित भए । त्यही वस्तिभित्रका गुमनाम योद्धासँगको भालाकुसारीका लागि मनहरु आतुर थिए । हामी त्यसैका लागि देउराली गोगने पुग्यौं ।

कल्याणपुर किसान विद्रोहका घाइते योद्धा चिमो तामाङको घर बर्बे पुग्दा उनी घरधन्दामा व्यस्त थिए । ‘ल्हास्सो माम् !’ पारसजीले तामाङ भाषामा अभिवादन गरे । हामी खाटमा बस्यौं । हामीलाई देखेर अचम्मित माम् जिज्ञासु देखिइन् । ‘हामी किसान विद्रोहको बारेमा सोधिखोजि गर्न आएका हौं’ पारसजीले हामी पुग्नको कारण तामाङ भाषामै बताएपछि बल्ल माम् कुरा खोल्न राजी भईन् ।

वि.सं. १९८८ सालमा नुवाकोट तुप्चेमा जन्मिएकी चिमो तामाङको १४ वर्षकै उमेरमा मनकामना गाविसमा विवाह भएको रहेछ । पहिलो वैवाहीक सम्बन्ध बिग्रीए पछि पुन देउरालीका गङजेन तामाङसँग दोस्रो विवाह गरेको कुराकानीकै क्रममा थाहा भयो । ‘अर्काको श्रीमती ल्याएको भन्दै २० रुपैया जारी समेत तिरेका थिए तिम्रो बाजेले’, मुस्कानसहित माम्ले तामाङ लवजमै भनिन् ।

२०१७ सालमा खनायोवास विद्रोहको आगो विस्तारै निभ्दै थियो । उता खनायोवास शान्त हुँदै थियो यता नुवाकोटको कल्याणपुर रिपगाउँ असान्त भयो । फेरी देशभर सनसनी मच्चियो । ३५ नाल राइफलसहित विद्रोह दबाउन ठूलै संख्यामा राज्यको तर्फबाट प्रहरी परिचालन गरियो । सम्झाउने बुझाउने कुराको कुनै अर्थ थिएन । प्रहरीको केही लागेन । किसान अगुवा धर्मसिंह तामाङको नेतृत्वमा विद्रोहीले पुलिसको हतियार समेत खोसे । प्रहरीको गोली प्रहारबाट औले तामाङसहित विद्रोही नेताहरु घटना स्थलमा मारियो । ठूलो संख्यामा भेला भएका किसान विद्रोहीहरुले प्रहरीलाई घेरा हाले र लखेटे । स्थितिलाई प्रहरीले नियन्त्रण लिन नसकेपछि सेना परिचालन भयो । किसानहरुले खोसेको बन्दूक सेनाले गोगनेको जंगलमा फेला पारे ।

उतिबेला प्रहरीले हानेको गोलीको खत पिठ्यूँमा देखाउँदै चिमो माम्ले भनिन्, ‘कल्याण्पुरको ओझा साहुहरुको घर कब्जा गर्न जाँदा खेतको बीचमा गोली लागेको हो मलाई । हामी धेरै थियौं । पुलिस आएपछि बन्दुक खोसाखोस भयो, धेरै मानिसहरु घाइते भएका थिए । हाम्रो नेता कांग्रेसका रत्नवीर तामाङ थिए । पहिल्यैदेखि नै ओझाहरुले चर्को ब्याज लिने गरीबहरुमाथि अन्याय, अत्याचार गर्ने गरेका थिए । त्यही कुराको विरोध गरेर सबैलाई समान हुन्छ भन्दै आन्दोलनमा लागेको थियौं ।’ उनको कुराले मलाई कुनै बेला गाउँमा पञ्चहरुले गाउने गीतको झल्को दियो ‘०१७ सालमा खनेको भडखारो÷निकाल कांग्रेस गाग्री र खडकरो’ । ०१७ सालको किसान विद्रोहीले कब्जा गरेका सामन्तहरु दरबार र पञ्चायत सर्मथक थिए । पञ्चायत स्थापना पश्चात विद्रोही सर्मथक कांगे्रसको कार्यकर्ताहरुलाई होच्याउन यो गीत गाएका रहेछन् । नेपाली कांग्रेसका नेता विपी कोइरालालाई लागेको ७ वटा मुद्धा मध्ये एउटा मुद्दा थियो देउराली कल्याणपुरको मुद्दा ।

‘त्यो दिनको आन्दोलन सकेपछि पुलिसहरुले घरघरै छापा मारी पक्रिन थाले । घरमा बस्न सक्ने कुरै थिएन । हाम्रो गाउँ सबै रित्तियो ।’ डाँडापरेको जंगल देखाउँदै उनले भनिन्, ‘१४ दिनसम्म त्यो जंगलमा बस्यौं । २८ दिनपछि काङ्दीमा वार्ता भएर सहिछाप गरेर मात्र हामीलाई बस्न दियो घरमा । बाजे त कहाँ बस्न पाउनु नि घरमा । एक वर्षपछि उहाँलाई पुलिसले समातेर लग्यो । ३ वर्ष काठमाडौं जेलमा हाल्यो । एक सय रुपैयाँ धरौटी राखेर निकालेर ल्याएको हो उतिबेला ।’ लामो सुस्केरा सँगै उनले थनिन्, ‘कांग्रेसले सदस्य दिएको थियो । पञ्चायत आएपछि के भयो थाहा छैन ।’

हाम्रो देशमा राजा छ कि छैन थाहा छ ? मेरो प्रश्नमा उनी अकमकिइन् र भनिन्, ‘मुवा पङवा आरे, आरे पङवा मुवा (छ भनौ भने छैन होला, छैन भनौ भने छ होला) । हो माम् आज देशमा राजा छैनन् । हामीले उत्तर दियौं । ‘आम्मै राजा छैन भन्ने कसले चलाएको देश ?’ अचम्म मान्दै मामले प्रति प्रश्न गरिन्, ‘भोट हालेर राजा चुन्नु पर्छ ।’ अहिले त जम्मै कालो नै पो छ त राजा बस्ने ठाउँमा । हाम्रो उतरले माम छक्क परिन् ।

कल्याणपुर विद्रोह तमाङ र बाहुनहरुको लडाइ हो ? भन्ने जिज्ञासामा मामले भनिन्– ‘गरिब मास्ने धनी गरीब समान बनाउने लडाई थियो त्यो लडाइ ।’ निराश हुँदै उनले भनिन्, ‘अब २०१७ सालमा झै हिड्ने लड्ने मान्छे छैनन् ।’

चिमोका श्रीमान् गङदेनको मृत्यु भईसकेको धेरै समय भएछ । जीवन र जवानीको जोसलाई आन्दोलनको आगोमा उरालेका उनीहरुलाई जिन्दगीमा एकपटक मात्र २०७१ सालमा प्रजातन्त्र दिवसको दिन दोसल्ला ओढाएर सम्झिएछ काङ्ग्रेसले । गर्भीलो इतिहास र शरीरमा गोलीको छर्रा बोकेर बाँचेकी चिमो तामाङ हामी उनलाई भेट गर्न जाँदा ८३ वर्षकी थिइन् । धनी र गरीब सबै समान भएको देख्ने उनको सपना अधुरै थिए र थिए उनी देश, समाज, राजनीति सबै सबैबाट गुमनाम । उनी खनयोवासको हुरीले सँगै कल्याणपुरमा ल्याएको किसान विद्रोहको एक घाइते योद्धा इतिहासको जिउँदो साक्षी थिए ।

लामो भलाकुसारीपछि हामी विदाइको तरखरमा थियौं । माम्ले खुसक्क सोधिन्– ‘तिमीहरु आएको कुरा अरुलाई भनौं कि नभौं ।’ गोपनियता अनि राजनीतिक विषयको संवेदनशिलता । उतिबेला पञ्चायतकाल झैं ठानेर होला उनले यस्तो प्रश्न गरेको । उनको कुराले हामी चकित भयौं । निःसन्देश जीवन यात्रामा एउटा साहस र अठोट लिएर बाचिरहेकी छिन् । ऐतिहासिक वीरताको गाथा बोकेर गुमनाम थिइन् चिमो तामाङ । मुजा परेका मुहारमा फुलिरहेको थियो उनको लेकाली फुलहरुको विम्व । झल्किरहेको थियो आस्थाका अमरगाथाहरु ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top