कात्तिक १३, विदुर । नेपाली कांग्रेस नुवाकोट नियमित पक्षकाे जिल्ला अधिवेशन स्थगित गरिएको छ।
शुक्रबार पार्टीका संयोजक श्रीराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा अधिवेशन कात्तिक १५ गते तय गरिएको तर जिल्लाअन्तर्गतका केही पालिकाहरूको अधिवेशन विभिन्न कारणले सम्पन्न हुन बाँकी रहेकाले जिल्ला अधिवेशन सम्भव नदेखिएको उल्लेख छ।
पार्टीको विधान, विधि, प्रक्रिया र संगठनात्मक मर्यादालाई आत्मसात गर्दै सबै तहका अधिवेशन व्यवस्थित, निष्पक्ष र सहमतिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले यो निर्णय लिइएको विज्ञप्तिमा भनिएको छ।
बाँकी रहेका पालिकाहरूको अधिवेशन प्रक्रिया पूरा गरी जिल्ला अधिवेशनको नयाँ मिति यथाशीघ्र तय गरिने जानकारी दिइएको छ।
पार्टीको आन्तरिक लोकतन्त्र, एकता र संगठनात्मक सुदृढीकरणका लागि सबैको सहयोग, समझदारी र सकारात्मक भूमिकाको अपेक्षा गरिएको संयोजक श्रेष्ठले बताए ।