कात्तिक १२, नुवाकोट । भोटेकोशी-त्रिशूली नदीमा लेदोसहित आएको बाढीका कारण पुगेको ठूलो क्षतिपछि बीमा दाबी फर्स्योटको प्रक्रिया अघि बढे पनि पीडितहरूले पाउनुपर्ने भुक्तानीको गति भने निकै सुस्त देखिएको छ।
नेपाल बीमा प्राधिकरणको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट ठूलो परिमाणमा बीमा दाबी परेको जनाएको छ। कुल दुई हजार ४९१ बीमितहरूबाट २० अर्ब ९० करोड ४९ लाख ४१ हजार रुपैयाँ बराबरको प्रारम्भिक तथा अनुमानित दाबी परेकोमा हालसम्म आठ अर्ब २१ करोड ३९ लाख रुपैयाँ मात्र भुक्तानी वा अग्रिम भुक्तानी हुन सकेको तथ्याङ्क छ।
विभिन्न बीमालेखमध्ये इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमा, सम्पत्ति बीमा र मोटर बीमामा सबैभन्दा बढी रकमको दाबी परेको छ। इन्जिनियरिङतर्फ ४४ अर्बभन्दा बढी र सम्पत्ति बीमातर्फ ९५ अर्बभन्दा बढीको प्रारम्भिक दाबी परेकोमा भुक्तानीको ठूलो हिस्सा अझै प्रक्रियामै रहेको छ।
भौतिक तथा आर्थिक रूपमा ठूलो क्षति व्यहोरेका बीमितहरूलाई राहत पुऱ्याउने उद्देश्यले सरकारले आवश्यक निर्णय गरे पनि यसको व्यावहारिक कार्यान्वयनमा भने सुरुदेखि नै ढिलाइ भएको छ। क्षति फर्स्योटलाई सहज बनाउन आवश्यक पर्ने ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ प्राधिकरणले असोजको पहिलो साता मात्रै स्वीकृत गरेको थियो। कार्यविधि बनाउन भएको समय, त्यसलगत्तै परेको बडादशैँको लामो बिदा र बाढीग्रस्त क्षेत्रमा पुगेर सर्भेयरहरूले स्थलगत मूल्याङ्कन गरी प्रतिवेदन तयार पार्न समय लागेकाले भुक्तानी प्रक्रिया केही ढिलो हुन पुगेको स्पष्टीकरण बीमा प्राधिकरणले दिएको छ।
बीमा प्राधिकरणले जारी गरेको नयाँ कार्यविधिमा बीमितलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले सर्भेयरको प्रारम्भिक प्रतिवेदन र प्राप्त कागजातका आधारमा अनुमानित दायित्वको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिनुपर्ने व्यवस्था मिलाइएको छ।
यसैगरी, बाढीबाट पूर्ण रूपमा क्षति पुगेका सवारीसाधनको हकमा भने प्रचलित बजार मूल्यको आधा रकम पेश्कीका रूपमा उपलब्ध गराउने र बाँकी रकम आवश्यक प्रमाणहरू सङ्कलन भएको सात दिनभित्रै चुक्ता गरिसक्नुपर्ने नियम तय गरिएको छ।