भदौ १८, नुवाकोट । भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएका बेला जिल्ला प्रशासन कार्यालय नुवाकोटले पूर्वस्वीकृति नलिई ड्रोन उडाउन सख्त मनाही गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार भदौ १७ गते एक अत्यन्त जरुरी सूचना जारी गर्दै बिनाअनुमति ड्रोन उडाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
गत भदौ १० गते रसुवागढी नाका भई नेपाल प्रवेश गरेको भोटेकोशी नदीको भीषण बाढीले रसुवा र नुवाकोट लगायतका आसपासका जिल्लाहरुमा ठूलो धनजनको क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना लगायतका सुरक्षा निकाय तथा निजी क्षेत्रको समन्वयमा हेलिकप्टरमार्फत उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
अहिलेको संवेदनशील अवस्थामा आकाशमा निरन्तर हेलिकप्टरहरु उडान भइरहेकाले पूर्वस्वीकृति बिना ड्रोन उडान गर्दा हवाई सुरक्षामा गम्भीर जोखिम निम्तिने प्रशासनको ठहर छ।
मानवरहित हवाई उपकरण ड्रोन उडान सम्बन्धी कार्यविधि, २०७५ कार्यान्वयनमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईंले कार्यालयबाट स्वीकृति नलिई कसैलाई पनि ड्रोन उडान नगर्न र नगराउन आग्रह गरिएको छ। यदि कसैले सूचनाको बेवास्ता गरी गैरकानुनी रुपमा ड्रोन उडाएको पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने प्रशासनले जनाएको छ।