२९ माघ, नुवाकोट । विदुर नगरपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको एचपीभी खोप अभियानमा ९८ प्रतिशत मात्र प्रगति हासिल गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार लक्ष्यभन्दा दुई प्रतिशत कमले एचपीभी खोप लगाएका छन् ।
विदुर नगरपालिकामा ५५३ जना किशोरीलाई एचपीभी खोप दिईने
कुल ५५३ जनालाई खोप लगाउने लक्ष्य राखिएको अभियानमा ५४२ जना किशोरीहरुले मात्र खोप लगाएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।
तथ्यांकअनुसार वडा नम्बर २ बाट ५ जना, वडा नम्बर ५ बाट ३ जना, वडा नम्बर ७ बाट २ जना, वडा नम्बर ८ बाट ३ जना र वडा नम्बर १२ बाट १ जना किशोरीले एचपीभी खोप लगाएका छैनन् ।
नगरपालिकाका क्षेत्रका ४९ सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थाहरुलाई केन्द्र बनाएर खोप लगाईएको थियो ।
किशोरी अवस्थामै क्यान्सरबाट जोगाउने उद्देश्यले कक्षा ६ मा अध्ययन गर्ने बालबालिका लागि लक्षित गरी अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य शाखाका अनुसार खोप अभियानसँगै पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । किशोरी, अभिभावक र शिक्षकलाई लक्षित गरी क्यान्सरको जोखिम, रोकथाम र उपचार विधिबारे जानकारी दिइएको थियो ।
नेपाल सरकारले सन् २०३० सम्म पाठेघरको मुखको क्यान्सर नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।