चैत २२, नुवाकोट । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकको स्वास्थ्य सेवालाई थप पारदर्शी, नागरिकमुखी र प्रविधिमैत्री बनाउने उद्देश्यले एक शक्तिशाली उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरिने भएको छ ।
सरकारी अस्पतालहरूको सेवा प्रवाहमा व्यापक सुधार ल्याउन समितिले विभिन्न चारवटा मुख्य क्षेत्रमा काम गर्ने कार्यादेश पाएको छ। जसअन्तर्गत आगामी १५ दिनभित्रै ‘फ्री हेल्थ पोर्टल’ निर्माण गरी लागू गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । यो पोर्टलले आम नागरिकलाई स्वास्थ्य सेवासम्बन्धी जानकारी पाउन सहज बनाउने अपेक्षा गरिएको छ।
यसैगरी, बिरामीको उपचार इतिहास र स्वास्थ्य अवस्थाको पूर्ण विवरण सुरक्षित राख्न डिजिटल अभिलेख प्रणाली विकास गरिने भएको छ। आगामी तीन महिनाभित्र एकीकृत र अन्तरआबद्ध स्वास्थ्य सूचना प्रणाली निर्माण गरी बिरामीको ‘रेफरल’ र फलोअपलाई व्यवस्थित गरिनेछ । विशेषगरी सरकारी अस्पतालबाट अनावश्यक रूपमा निजी अस्पतालमा बिरामी रिफर गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न स्पष्ट ‘रेफर प्रोटोकल’ समेत सोही प्रणालीमा समावेश गरिने मन्त्रालयले जनाएको छ ।
अस्पतालहरूको आन्तरिक व्यवस्थापन र औषधि आपूर्तिमा पारदर्शिता ल्याउन समेत नयाँ व्यवस्था गरिएको छ। अबको १५ दिनभित्र अस्पतालका फार्मेसीहरूमा औषधिको मौज्दात र मूल्य स्पष्ट देखिने डिजिटल प्रणाली सञ्चालनमा आउनेछ । यसको नियमित अनुगमन समेत गरिने कार्यादेशमा उल्लेख छ। साथै, स्वास्थ्यकर्मीहरूको उपस्थिति र नियमितता सुनिश्चित गर्न सरकारी अस्पतालहरूमा अनिवार्य रूपमा ‘जीओएमएस’ प्रणाली लागू गरिने भएको छ ।
प्रतिक्रिया