१७ चैत, नुवाकोट । दोस्रो पशुपतिको नामले प्रख्यात प्रसिद्ध धार्मिक गन्तव्य दुप्चेश्वर मन्दिर परिसरमा नयाँ वर्ष २०८३ को अवसर पारेर खेलकुद र पर्यटन प्रवर्द्धनलाई जोड दिने विशेष कार्यक्रम आयोजना हुने भएको छ।
नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजनामा आगामी बैशाख १ गते धाम परिसरमै रिङ्ग रेस्लिङ प्रतियोगिता आयोजना गरिने तय भएको हो।
धार्मिक आस्थासँगै साहसिक तथा मनोरञ्जनात्मक खेलकुद गतिविधिलाई एकै मञ्चमा ल्याउने उद्देश्यले प्रतियोगिता हुन लागेको जनाएको छ । आयोजकका अनुसार यस्तो कार्यक्रमले धार्मिक पर्यटनलाई थप गतिशील बनाउने विश्वास लिइएको छ।
प्रतियोगितामा देशका विभिन्न क्षेत्रका एक दर्जनभन्दा बढी रेस्लरहरूको सहभागिता रहनेछ। सहभागी खेलाडीहरूमा नुवाकोटे टाइगर, डेभिड, साइन, चट्टान, आकृति, तानु, सुजल, एक्स हिरो, सि.जे. वर्ल्ड, ठागु, युबिएल स्टोन, किङ रोबर्ट र म्याक्स म्यानलगायत रहेका छन्, जसले दर्शकलाई रोमाञ्चक प्रतिस्पर्धा दिने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार यस्ता नवप्रवर्द्धनात्मक कार्यक्रमले दुप्चेश्वरधामलाई धार्मिक मात्र नभई खेलकुद पर्यटनको नयाँ केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुग्ने नेपाल रिङ्ग रेस्लिङ संघका महासचिव कमल लामाले बताए ।
नयाँ वर्षको अवसरमा हुने यस कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढाउने अपेक्षा गरिएको छ।